निवर्तमान आईजी कार्कीको रिटमा भोलि सर्वोच्चमा सुनुवाइ


काठमाडौं ।

निवर्तमान प्रहरी महानिरीक्षक (आईजी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा बुधबार प्रारम्भिक सुनुवाइ हुने भएको छ ।सरकारले १८ कात्तिकमा कार्कीलाई आईजीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेपछि उनले मन्त्रिपरिषद्को निर्णय गैरकानुनी भएको दाबीसहित सर्वोच्चमा रिट दायर गरेका थिए ।

२० कात्तिकमा दर्ता भएको रिटमाथि यसअघि ३० कात्तिकमा सुनुवाइका लागि मिति तोकिएको थियो । तर छठ पर्वको सार्वजनिक बिदाका कारण सुनुवाइ सरेको थियो ।अदालत खुलेसँगै सर्वोच्च प्रशासनले बुधबारका लागि सुनुवाइको मिति तोकेको हो ।

एकल इजलासमा हुने प्रारम्भिक सुनुवाइबाट रिटको आगामी प्रक्रिया तय हुनेछ ।यसैबीच, सरकारले कार्कीलाई जिम्मेवारीबाट हटाएकै दिन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो ।