काठमाडौं, (नेस) ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय अनुशासन र संस्थागत सुशासन कायम राख्दै खराब कर्जा असुलीलाई प्राथमिकतामा राख्न नेपाल बैंकलाई निर्देशन दिएका छन् । उनले बैंकको स्रोत अनुत्पादक क्षेत्रमा परिचालन नगर्न र लगानीलाई उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्न पनि आग्रह गरेका छन् ।
नेपाल बैंकको ९०औँ वार्षिकोत्सवमा बोल्दै अर्थमन्त्री वाग्लेले बैंकिङ क्षेत्रको दिगोपनका लागि वित्तीय अनुशासन, पारदर्शिता र सुशासन अपरिहार्य रहेको बताए। लामो इतिहास बोकेको नेपाल बैंकले संस्थागत सुशासनलाई थप सुदृढ गर्दै डिजिटल रूपान्तरणमार्फत सेवाप्रवाहलाई सरल, सहज र प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो ।
सरकारले वित्तीय क्षेत्र सुधारका लागि अघि सारेको तीनबुँदे कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उनले बैंकका कामकारबाही पारदर्शी बनाउन, संस्थागत कमजोरी सुधार गर्न र तथ्याङ्क तथा सूचना सुरक्षालाई उच्च प्राथमिकता दिनुपर्ने बताए। बैंकप्रतिको जनविश्वास कायम राख्न जवाफदेहिता र कार्यसम्पादनमा सुधार आवश्यक रहेको उनले उल्लेख गरे।
अर्थमन्त्री वाग्लेले आगामी दिनमा डिजिटल बैंकिङको विस्तार, लघु, साना तथा मझौला उद्यमको वित्तीय पहुँच वृद्धि, हरित अर्थतन्त्रको प्रवद्र्धन र वित्तीय साक्षरता अभिवृद्धिमा बैंकले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले नेपालमा आधुनिक बैंकिङ सेवाको सुरुआत गरेको नेपाल बैंकले बचत संस्कृतिको विकास, वित्तीय स्रोत परिचालन र पुँजी निर्माणमा ऐतिहासिक योगदान पु¥याएको बताए। मुलुकको औद्योगिक तथा व्यापारिक गतिविधिको विकास र विस्तारमा समेत बैंकको महत्वपूर्ण भूमिका रहेको उनले उल्लेख गरे।
पाण्डेयका अनुसार बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड रुपियाँ पुगेको छ। बैंकमा ४ खर्ब १६ अर्ब रुपियाँ निक्षेप रहेको छ भने कर्जा लगानी २ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ। बैंकको निष्क्रिय कर्जा अनुपात ४.१८ प्रतिशत रहेको छ ।
बैंकका ग्राहक संख्या २९ लाख २४ हजार पुगेको छ भने कर्मचारी सङ्ख्या ३ हजार ६०० रहेको छ। बैंकले ७१ जिल्लामा शाखा सञ्जाल विस्तार गरेको छ । हाल २५० वटा एटीएम सञ्चालनमा रहेका छन् भने मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या १० लाख पुगेको पाण्डेयले जानकारी दिए।











प्रतिक्रिया