मधेश प्रदेश सरकार सञ्चालनमा जसपा/ जनमतबीच लफडा 



वीरगन्ज ।

 मधेश प्रदेशमा सत्ताको सहयात्री दलहरुकै बीचमा लफडा शुरु भएको छ । जनमत पार्टीले मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता लिएसँगै एक प्रकारको अन्योल सिर्जना भएको हो ।

जनमत पार्टीले मधेस सरकारको नेतृत्व जसपाले पहिलो एक वर्ष गर्ने सहमति भएको भन्दै मुख्यमन्त्रीलाई राजीनामाका लागि दबाब बढाइरहेको छ । पूर्व सहमति अनुसार अब मधेस सरकारको नेतृत्व आगामी दुई वर्षका लागि आफूले पाउनुपर्ने जनमत पार्टीको दाबी छ । जसपाले भने त्यसप्रकारको सहमति नभएको जिकिर गर्दै आएपछि समस्या बढ्दै गएको हो ।

 मधेस सरकारको नेतृत्वका लागि जसपा र जनमत पार्टीबिच हानथाप चलिरहेको समयमा सत्ता गठबन्धनकै प्रमुख घटक कांग्रेसले नेतृत्व लिनुपर्नेबारे पार्टीभित्र छलफल सुरु गरिसकेका छन् । नेपाली कांग्रेसका नेता महेन्द्र यादवले काँग्रेसले मधेश प्रदेशको नेतृत्व गर्ने संभावना रहेको जिकिर गरे । मधेस प्रदेश सरकार आलोपालो सञ्चालन हुने सहमति यसअघि नै भइसकेको जिकिर गर्दै यादवले कुन दलले कति वर्ष नेतृत्व गर्ने भन्ने टुङ्गो भने नलगाइएको बताए ।

यादवका अनुसार यस विषयमा मधेस प्रदेशका कांग्रेस नेताहरुले पार्टीका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेका छन् ।नेपाली कांग्रेस मधेस प्रदेश समितिका सभापति कृष्ण यादवले मधेस प्रदेश सरकारको नेतृत्वको विषयमा आफूहरुले पार्टीका सभापति देउवासँग कुराकानी गरेको पुष्टि गरे । बारा–२ मा भएको उपचुनावकै समयमा पनि कांग्रेसले मधेस प्रदेशको नेतृत्व मागेको थियो । जसपाले उपराष्ट्रपतिसहित बारा–२ पनि पाउने भएपछि कांग्रेसले मधेस प्रदेश सरकारको नेतृत्वमा दाबी गरेको र गठबन्धनमा समेत छलफल भएको बताइन्छ ।

बाराको उपचुनाव सकिएको ९ महिना बितिसकेको छ । राष्ट्रियसभाको चुनाव पनि सकिएको छ । जसपाले मधेस सरकारको नेतृत्व लिएको एक वर्षभन्दा बढी भइसक्यो । अब जसपाले सरकारको नेतृत्व छाडेर कांग्रेसलाई दिनुपर्ने कांग्रेसका नेताहरुको दाबी छ ।जसपाका प्रवक्ता मनिष सुमनले मधेस प्रदेश सरकारका लागि आलोपालोमा छलफल नभएको दाबी जिकिर गरे  ।

प्रतिक्रिया दिनुहोस्