अध्यक्ष तिमिल्सिना र इजरायलका राजदूतबीच भेटवार्ता

विपिन जोशीलाई सकुशल रिहाई गर्न आग्रह



काठमाडौं ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि इजरायलका राजदुत हनान गोडर गोल्डबर्गरले बिहीबार शिष्टाचार भेटवार्ता गरेका छन् ।

राजदुत गोल्डबर्गरले सिंहदरबार स्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले शान्ति र अहिंसाको मुलमन्त्र बोकेको नेपालले बिश्वभर शान्ति चाहने बताउँदै मध्यपूर्वमा पनि छिटो शान्ति कायम होस भन्ने चाहेको बताएका छन् ।

“शान्तिको पक्षधर मुलुक नेपाल सँधै मध्यपूर्वमा शान्ति, अमनचयन र स्थिरताको पक्षमा रही आएको छ ।” उनको भनाई थियो । हालै इजरालयमा भएको हमासको आक्रमणमा परि अहिले सम्म बेपत्ता पारिएका नेपाली विद्यार्थी विपिन जोशीको सकुशल रिहाईका लागि अझै सार्थक पहल गर्न आग्रह पनि गरेका छन् ।

इजरायलले विभिन्न छात्रवृत्ति, रोजगारी, कृषि तथा सहकारी क्षेत्रमा सहयोग, नेपाली सेनालाई तालिम लगायतका नेपाललाई गरेको सहायताका लागि इजरायल सरकारको प्रशंसा गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाल – इजरायल सम्बन्ध आपसी सहयोग र सहकार्यको माध्यमबाट निरन्तर अघि बढ्ने आशा पनि व्यक्त गरेका छन् ।

नेपालको प्राकृतिक सुन्दरतामा धेरै इजरायलीहरु रमाउने चाहना बताउँदै अध्यक्ष तिमिल्सिनाले कोभिड महामारीको समयमा केही कमि आएकोमा पुनः यो संख्या अझै बढ्ने बताए। इजरायलका राजदुत गोल्डबर्गरले नेपालको माथिल्लो सदनले प्रजातान्त्रिक पद्दति बलियो बनाउन प्रभावकारी भूमिका खेलेकोमा प्रसंशा गरेका छन्  ।

प्रतिक्रिया दिनुहोस्