फाइनलमा पुग्न चर्च ब्वाइज र आर्मी भिड्दै



काठमाडौं ।

पोखरामा जारी आहा रारा! पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेशका लागि आज चर्च ब्वाइज युनाइटेड र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब भिड्दै छन्।

पोखरा रङ्गशालामा अपराह्न यी दुई टोलीबीच दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा हुने भएको हो। आजको विजेता टोली प्रतियोगिताको फाइनल प्रवेश गर्नेछ।

विजेताले माघ २० गते प्रतियोगिताको उपाधिका लागि थ्रीस्टार क्लबसँग प्रतिस्पर्धा गर्ने आयोजक सहारा क्लब पोखराले जनाएको छ।

विभागीय टोली आर्मीले प्रतियोगिताको प्रिक्वाटरफाइनलको खेलमा राइजिङस्टर एफसी र क्वाटरफाइनलमा डिफेन्डिङ च्याम्पियन सङ्कटा क्लबलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो। यसैगरी चर्च ब्वाइजले क्वाटरफाइनलमा सिधै स्थान पाएको थियो।

क्वाटरफाइनलको खेलमा चर्च ब्वाइजले नेपाल पुलिसलाई हराएर सेमिफाइनल पुगेको टोली हो। थ्रीस्टार क्लब बुधबार सम्पन्न पहिलो सेमिफाइनलको खेलमा जावलाखेल युथ क्लबलाई १–० गोलले पराजित गरी उपाधि नजिक पुगेको हो।

यही माघ ९ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल माघ २० गते हुनेछ। च्याम्पियन टोलीले रु १२ लाख एक हजार नगदसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन्।

उपविजेता टोलीले रु छ लाख एक हजार नगदसहित ट्रफी प्रदान गरिने क्लबले जनाएको छ। यसैगरी विभिन्न पाँच विधामा उत्कृष्ट खेलाडीलाई जनही रु २५ हजारका दरले पुरस्कार पाउनेछन्।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर पाउनेछन्। प्रतियोगितामा एक विदेशीसहित १२ टोलीको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्