कंगनाको आक्रोश



एजेन्सी ।

बलिउड अभिनेत्री कंगना रनावत केही न केही विषयलाई लिएर चर्चामा रहने गर्छिन्। उनको चर्चालाई हेर्दा नाम हो बदनाम हो गुमनाम ना हो भन्ने हिन्दी भनाइ चरितार्थ हुने गर्दछ।

यही भनाइलाई चरितार्थ गर्दै कंगना यतिबेला फेरि पनि चर्चामा छिन्। केही समय अघिदेखि बलिउड अभिनेत्री कंगना रनावत र व्यवसायी निशान्त पिट्टीको तस्वीर भाइरल भइरहेको छ भने बलिउडमा कंगना र निशान्तबीच प्रेम सम्बन्ध रहेको गसिप पनि चलिरहेको छ।

यी खबरको परवाह नगरी बसेकी कंगनाले अब भने आफ्नो व्यक्तिगत जीवनबारे झुटा खबर फैलाएको भन्दै आफ्नो प्रेमसम्बन्ध र आफूबारे चलेको हल्लाबारे मुख खोलेकी छन्।

कंगनाले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्नो र निशान्तबारे लेखिएको खबरको स्क्रिनसट सेयर गर्दै सञ्चार माध्यमहरूलाई आफ्नोबारे झुटो समाचार लेखेर अफवाह नछर्नसमेत आग्रह गरेकी छन्।

‘कुनै पनि महिलालाई हरेक दिन अन्य पुरुषको साथ तस्वीर खिचेकै भरमा नाम जोड्नु गलत कुरा हो’ उनी सञ्चार माध्यमका साथ भड्किएकी छन् ‘निशान्त विवाहित हुन् र आफ्नो जीवनमा निकै खुसी छन्। म पनि अन्य एक व्यक्तिको साथ डेट गरिरहेको छु र समय आएपछि यसबारे बोल्नेछु।’

प्रतिक्रिया दिनुहोस्