प्रधानमन्त्री कप क्रिकेटमा आज एपीएफ र कर्णाली तथा पुलिस र लुम्बिनी भिड्दै



काठमाडौं ।

 प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन्। आज टियु मैदानमा एपीएफ क्लब र कर्णाली प्रदेशबीच खेल हुँदै छ भने मुलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशबीच खेल हुँदै छ।

अहिलेसम्म पीएम कपमा नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ। नेपाल पुलिस क्लबले आफ्नो ७ खेलमा सबै खेल जितेर १४ अङ्कसहित शीर्ष स्थानमा रहेको छ र पुलिसले फाइनलमा आफ्नो स्थान सुनिश्चित गरेको छ।

त्यस्तै, त्रिभुवन आर्मी क्लब ८ खेलमा ६ खेलमा १२ अङ्कसहित दोस्रो स्थानमा उक्लिएको छ र फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ।

त्यसैगरी, बागमती प्रदेशले आफ्ना ९ खेलमा १२ अङ्कनै  हासिल गर्दै तेस्रो स्थानमा छ भने मधेश प्रदेशले पनि आफ्ना ९ खेलमा १२ अङ्कसहित चौथो स्थानमा रहेका छन्।

त्यस्तै एपीएफ क्लब ८ खेलमा १० अङ्कसहित पाँचौँ स्थानमा रहेको छ भने सुदूरपश्चिम प्रदेशले ८ खेलमा ४ जितसहित ८ अङ्क हासिल गरेर छैटौँ स्थानमा रहेको छ।

कर्णाली प्रदेश ८ खेलमा ६ अङ्कसहित सातौँ स्थानमा रहेको छ। त्यसैगरी गण्डकी प्रदेशले ८ खेलमा २ जितसहित ४ अङ्क हासिल गर्दै आठौँ स्थानमा छ भने लुम्बिनी प्रदेशले आफ्ना ८ खेलमा एक जित र ७ हार बेहोरेर नवौँ स्थानमा छ।

त्यस्तै कोशी प्रदेशले खेलेका ९ खेलमा एक जित र ८ बेहोरेर पुछारमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्