स्पोर्ट्स अवार्ड विजेतालाई युनाइटेड अजोडको ७ लाख बिमा



काठमाडौं । 

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २०औं संस्करणको विजेताहरुलाई नेपालको प्रख्यात बिमा कम्पनी युनाइटेड अजोड इन्स्योरेन्स प्रालिले ७ लाख रुपैंया बराबरको खेलकुद विमा पोलिसी प्रदान गर्ने भएको छ ।

यहि माघ २८ गते होटल याक एण्ड यतिमा आयोजना हुने अवार्ड समारोहमा प्रदान गरिने ९ मध्ये एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड बाहेक आठ विधाका विजेताहरुलाई युनाइटेड अजोडले एक वर्षको लागि सो पोलिसी प्रदान गर्ने भएको हो ।

युनाइटेड अजोड पल्सर स्पोर्ट्स अवार्डको यसवर्षको इन्स्योरेन्स पार्टनरको रुपमा पनि आबद्ध भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र युनाइटेड अजोड इन्स्योरेन्स प्रालिबीच यस सम्वन्धमा सम्झौता भएको छ ।

सम्झौता पत्रमा नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ) का अध्यक्ष दुर्गानाथ सुवेदी र युनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रवण रावलले सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौतापछि सीइओ रावलले नेपालमा भर्खरै शुरु भएको खेलकुद विमा पोलिसीलाई संस्थागत गर्न यो सहकार्यले सहयोग पुग्ने विश्वास लिएको बताए। त्यस्तै, मञ्चका अध्यक्ष सुवेदीले नेपालकै प्रतिष्ठित विमा कम्पनीसँग सर्वोकृष्ट खेलकुद अवार्ड कार्यक्रम जोडिन पाउँदा खेलाडीहरु थप लाभान्वित हुने बताए ।

पल्सर स्पोर्ट्स अवार्ड २०७९ मा वर्षका उत्कृष्ट पुरुष, महिला र युवा तथा प्रशिक्षक विधाको मनोनयन पनि सार्वजनिक हुन बाँकी छ । त्यसबाहेक पारा एथ्लिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट विधाको घोषणा माघ २८ गते कार्यक्रमकै दिन घोषणा हुनेछ ।

अवार्डको पिपल्स च्वाइस विधाको मनोनयन भने सार्वजनिक भइसकेको छ । पिपल्स च्वाइसमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ मनोनयनमा पारे। उनीहरूको भोटिङका लागि प्रचारप्रसार तीव्र भइरहेको छ ।

पिपल्स च्वाइसको एनएसजेएफको आधिकारिक फेसबुक पेज तथा हंशराज हुलासचन्द एन्ड कम्पनीको आधिकारिक फेसबुक पेजबाट प्रचार कार्य जारी छ । यस पटक वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइसका विजेताले जनही बजाज पल्सर मोटरसाइकल पाउनेछन् ।

तीमध्ये दुई वटा एन २५० र तीन वटा एन १६० मोटरसाइकल रहेको छ । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । स्पोर्ट्स अवार्डका अन्य सहयोगीहरुमा ई-सेवा, सूर्य नेपाल प्रालि, होटल याक एन्ड यती, सुबिसु, रोयल सिंगी होटल, प्लाजा ग्रुप अफ होटल, लालपुर्जा नेपाल, आईएसएस, राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटी छन् ।

प्रतिक्रिया दिनुहोस्