‘कांग्रेस सरकारमा झुन्डिरहन आवश्यक छैन’



बुटवल ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले राष्ट्रियसभा निर्वाचनको समयमा कोशी प्रदेशमा भएको भोट क्रसिङले सिंगो देशको राजनीति नै तरंगित भएको बताउँदै त्यो त्रुटिलाई सच्चाउँदै गठबन्धन बलियो बनाउनुपर्नेमा जोड दिनुभएको छ।

रिपोर्टर्स क्लब नेपाल, लुम्बिनी प्रदेशले बुटवलमा गरेको साक्षात्कारमा बोल्दै केन्द्रीय सदस्य डा. संग्रौलाले गठबन्धन इमान्दारीपूर्वक अगाडि नबढे मुलुकमा ठूलो संकट आउने संकेत गर्नुभयो।

गठबन्धन जुन उद्देश्य र भावनाले अगाडि बढेको छ त्यहीअनुरूप व्यवहारमा कार्यान्वयन गर्नसमेत उहाँले दलहरूलाई आग्रह गर्नुभयो।

‘यति बेला गठबन्धनको सरकार रहेको छ। गठबन्धनमा इमान्दारीतापूर्ण काम नगरे संकटको अवस्था आउन सक्नेछ’, उहाँले भन्नुभयो– कोशी प्रदेशमा भएको क्रस भोटले गठबन्धनमा केही अन्यौलता सिर्जना गरेको छ । यसलाई दोहोरिन नदिने गरी काम गर्न जरुरी छ।’

सबै वडामा एकैपटक कांग्रेस, समुदायमा जाऔं जनताका कुरा सुनौं अभियानको शिलशिलामा जिल्ला अभियानमा रहेकी डा. संग्रौलाले देशको राजनीतिक अवस्थालाई सही मार्गमा ल्याउन कांग्रेसको विकल्प नभएको बताउँदै जनतामाझ भएका गुनासो संवोधन गर्न पार्टीले अभियान चलाएको बताउनुभयो।

उहाँले गठबन्धनको सरकारले सोचेअनुसारको काम गर्न नसकेको बताउँदै यो अवस्थामा पनि काम गर्न नसके जनताले छुट नदिने चेतावनी दिनुभयो।

गठबन्धन सरकारको नेतृत्वले काम गर्न नसकी आलोचित बनिरहेको अवस्थामा कांग्रेस सरकारमा झुण्डिरहन आवश्यक नरहेको सुझाव दिनुभयो।

उहाँले पार्टीलाई बलियो बनाउनको लागि अभियान प्रभावकारी रहने बताउँदै अब पार्टी गुट उपगुटभन्दा पनि एक ढिक्का भएर अगाडि नबढे पार्टी कमजोर बन्ने ठोकुवा गर्नुभयो।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनालले कांग्रेसले अहिले सञ्चालन गरेको अभियान समयसापेक्ष रहेको उल्लेख गर्नुभयो। यो अभियान पछि लुम्बिनी प्रदेश समितिले घरघरमा कांग्रेस अभियान लिएर जाने बताउनुभयो।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस प्रदेश सदस्य विष्णु पोख्रेललगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्