दश जनाविरुद्ध विशेष अदालतमा मुद्दा



काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छायानाथ रारा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारुसहित दशजनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

नगरपालिकाको वडा नम्बर ७ र ८ को ताल्चा सल्लेरी सडक स्तरोन्नति गर्ने काममा भ्रष्टाचार गरेको भन्दै आयोगले सो मुद्दा दायर गरेको हो।

स्तरोन्नति कार्यमा बढी मूल्यांकन गराएर २८ लाख ६२ हजार ४५९ रुपियाँ अनियमितता गरेको आयोगको अनुसन्धानले देखाएको छ।

आयोगले सो मुद्दामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सहित सारुसहित इन्जिनियर महेशसिंह कठायत,असिस्टेन्ट सव–इन्जिनियर हस्तबहादुर मल्लविरुद्ध मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरले बताउनुभयो।

आयोगका अनुसार सो कार्यमा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष उनबहादुर शाही, सचिव राधिका रावल र कोषाध्यक्ष बिजुली मल्लको पनि संलग्नता देखिएको आयोगले जनाएको छ।

सडक निर्माण अनुगमन समितिका सदस्य चक्रबहादुर सावत, सदस्य हजरकला कामी, कर्ण रावल र पशुपति शाहीविरूद्ध मुद्दा दायर गरेको आयोगले जनाएको छ।

आयोगले ताल्चा सल्लेरी सडक मानिसबाट अर्डिनरी स्वायल, हार्ड स्वायल, सफ्ट रक, मिडियम रक र हार्ड रक कटिङ गुर्नपर्ने भनी लागत अनुमान स्वीकृत गरी अर्डिनरी स्वायलको मात्र मेसिनबाट खन्ने कार्य गराई हार्ड स्वायल, सफ्ट रक, मिडियम रक र हार्ड रक कटिङसमेत मानिसबाट गराएको भनी बढी रकम भुक्तानी दिएको आयोगका प्रवक्ता घिमिरेले बताउनुभयो।

उनीहरूले २८ लाख ६२ हजार ४५९ रुपियाँको भ्रष्टाचार गरेको आयोगले जनाएको छ। उक्त बिगो कायम गरी कैद र जरिवानाको सजाय मागदाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्