गोर्खालीको वीरता र संघर्षले भरिएको गोर्खा वारियर



काठमाडौं ।

ऐतिहासिक विषयमा बनाइएको अन्तर्राष्ट्रिय फिल्म गोर्खा वारियर आगामी फागुन ११ गते नेपालमा रिलिज हुने भएको छ।

फिल्म रिलिजको तयारीमा यसको निर्माण समूहले राजधानीमा एक कार्यक्रम आयोजना गरी फिल्मको नेपाली संस्करणको ट्रेलर सार्वजनिक गरेको छ।

चर्चित युवा निर्देशक मिलन चाम्सद्वारा निर्देशित वार फिल्म गोरखालीको वीर गाथामा आधारित छ। यसअघि, फस्ट लुक्स र टिजर सार्वजनिक गरेपछि गोर्खा वारियरप्रति दर्शकको चासो बढेको छ। फिल्मको ट्रेलरले रिलिज समारोहमा प्रशंसा पनि पाएको छ।

दुई मिनेट २२ सेकेन्डको ट्रेलरमा गोर्खा सैनिकले मलाया युद्धका क्रममा भोग्नुपरेका विभिन्न संघर्ष, बहादुरी र पीडा प्रस्तुत गरिएको छ।

फिल्म सन् १९४९ का बेला दोश्रो विश्वयुद्धको क्रममा गोर्खाली सेनाले लडेको मलाया युद्धको कथामा केन्द्रित छ। त्यो समय मलाया युद्ध कति कठिन थियो र सो युद्धमा गोर्खा सैनिकले कति संघर्ष गर्नुपर्‍यो भन्ने सारांश ट्रेलरमा देखाइएको छ।

फिल्मको ट्रेलरमा यसको संक्षिप्त कथा खुलाइएको छ। थोरै भए पनि मलाया युद्धबारे दर्शकलाई जानकारी होस् भनेर ट्रेलरमा यसको केही कथा खुलाईएको निर्देशक चाम्सले कार्यक्रममा प्रकाश पारे।

‘वीर गोर्खाली सैनिकले पहिलो र दोश्रो विश्वयुद्धमा गरेको युद्धको नभनिएका धेरै कथा यसमा छन्। वीरताका ती कथा विस्तारै हराउँदै जाने हुनाले हामीले १९४९ को मलाया युद्धको कथालाई यो फिल्ममा प्रस्तुत गरेका हौँ’ निर्देशक चाम्सले भने।

यही फिल्मबाट डेब्यु गरेका अभिनेता रितेश चाम्सले करिब आठ वर्षको तयारीपश्चात् अभिनेताको रूपमा यो फिल्ममा आएको बताए।

आफू गोर्खा सैनिक भएकाले पनि गोर्खा सैनिकको यथार्थ भूमिकामा काम गर्न सजिलो भएको उनले बताए। चाम्सले अभिनयमा बेलायतबाट डिप्लोमा गरेका छन्।

फिल्ममा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, शिशिर वाङ्देल, कविता आले, रियर राई, विरूप घले, सारा राईलगायतका कलाकारले मुख्य भूमिकामा अभिनय गरेका छ।

निर्देशक मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, शैलेन्द्र खनाल ‘शरद’ को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, हिमाल केसीको द्वन्द्व निर्देशन, सुदीप बरालको डीओपी र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्म लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा सुमन राई र सुस्मिता वाइवाले निर्माण गरेका छन् भने यसको कार्यकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे र सह–निर्मातामा सुरेश राई रहेका छन्।

फिल्म नेपाली, हिन्दी, अंग्रेजी र कोरियन गरी चार भाषामा निर्माण भएको छ। फिल्मको नेपाली संस्करण तयार भइसकेको छ भने हिन्दी, कोरियन र अंग्रेजी संस्करणको निर्माण पनि अन्तिम अवस्थामा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्