म्याग्दीको कालीगण्डकी नदी किनारको देवशिला उद्गमस्थलमा लाखबत्ती बालियो (तस्बिरसहित)



म्याग्दी। 

म्याग्दीको बेनी नगरपालिका–६, स्थित कालीगण्डकी नदी किनारको देवशिला उद्गमस्थलमा आज (सोमबार) लाखबत्ती बालिएको छ ।
भारतको अयोध्यामा नवनिर्मित भगवान् रामको राम मन्दिरमा रामललाको मूर्ति प्राण प्रतिष्ठा गर्ने शुभ साइतको अवसर पारेर म्याग्दीको कालीगण्डकी नदी किनारमा अवस्थित देवशिला उद्गमस्थलमा पनि एकलाख बत्ती बालिएको हो ।

बेनी–गलेश्वर–जोमसोम–कोरला सडकखण्ड अन्तर्गत पर्ने कालीगण्डकी नदी किनारको देवशिला उद्गमस्थलमा बेनी नगरपालिकाको आयोजना र गलेश्वर शिवालय क्षेत्र विकास कोषको सहयोगमा एक समारोहबीच लाखबत्ती बालिएको बेनी नगरपालिकाले जनाएको छ । भजनकिर्तन र बाजागाजासहित लाखबत्ती बालिएको थियो ।

भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा भगवान् रामको रामललाको मूर्तिको प्राण प्रतिष्ठा गर्ने दिनको अवसरमा म्याग्दीको गलेश्वर क्षेत्रस्थित कालीगण्डकीको शिला उद्गमस्थलमा लाखबत्ती बालिएको बेनी नगरपालिकाका मेयर सुरत केसीले जानकारी दिए  । उनले देवशिला उत्खनन् क्षेत्रलाई श्रीरामघाट क्षेत्र नामाकरण गरिएको बताउँदै उत्खनन् क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न नगरपालिकाले पहल गरिरहेको बताए ।

देवशिला उद्गमस्थल क्षेत्रमा आवश्यक संरचना बनाएर स्नानगृहको रुपमा विकास गरिने भएको छ । हिन्दु धर्मावलम्बीहरुको आस्था मानिने भगवान् रामको बाल्यकालको मूर्ति बनाउन भन्दै गतवर्ष कालीगण्डकी नदी किनारबाट दुईवटा शिला भारतको अयोध्यामा पठाइएको थियो । म्याग्दीबाट पोखरा–जनकपुरधाम हुँदै अयोध्या.लगिएका देवशिला रामको अवतार भएकाले फुटाउन नहुने भन्दै धार्मिक गुरुहरुले तर्क गरेपछि अहिले ती शिलालाई अयोध्याको राम मन्दिरमा पुजाअर्चनासहित संरक्षण गरेर राखिएको छ ।

यसअघि नेपाल सरकारको मन्त्रीपरिषद् वैठकको निर्णयअनुसार १८ र १६ मेट्रिक टन तौल भएका ७ फिट लम्बाई, ५ फिट चौडाई र ३ दशमलव ५ फिट मोटाइका दुईवटा देवशिला उपहारस्वरुप भारत पठाइएको थियो । देवशिला उद्गमस्थल कालीगण्डकी, गलेश्वर तथा पौलस्त्य पुलहाश्रम क्षेत्रको महत्वबारे प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्नुपर्ने जगत गुरु श्री हिमालय बाबाले बताए ।

देवशिला अयोध्या पु¥याउने क्रममा कुनै असर परेको भएमा त्यसको पाप नलागोस् भनेर क्षमापुजासहित लाखबत्ती बालिएको जनाइएको छ । देवशिला उत्खनन् भएको गलेश्वर क्षेत्रलाई हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मानिने प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्धारको रुपमा रहेको मानिन्छ ।

हिमालपारीको जिल्ला मुस्ताङको कागबेनीमा पितृतर्पण गर्न जाने भक्तजन र तीर्थयात्रीलाई बेनीको कालीगण्डकीमा स्नान गर्ने व्यवस्था मिलाउन लागिएको छ । विश्वमै दुर्लभ र कालीगण्डकी नदीमा मात्रै पाइने शालग्राम शिलालाई हिन्दु धर्मावलम्बीहरुले भगवान विष्णुको अवतारको रुपमा मान्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्