फस्ट लुक्समा उपहार



काठमाडौं ।

आगामी फागुन २५ गते रिलिज हुने फिल्म उपहारको चार फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। फिल्मको निर्माण पक्षले फिल्मका प्रमुख कलाकारलाई स्थान दिँदै माघे संक्रान्तिको अवसर पारेर चार फस्टलुक पोस्टर सार्वजनिक गरेको हो।

एक पोस्टरमा अभिनेत्री रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल र मुकुन भुसाललाई स्थान दिइएको छ। चिया घरलाई पृष्ठभूमिमा राखेर बनाइएको पोस्टरमा रेखालाई थर्मस र चियाको ग्लास बोकेको अवस्थामा देखाइएको छ। पोस्टरमा अभिनेता मुकुन भुसाल ह्विलचेयरमा बसेका छन्।

उनलाई रेखाले दुई हातले समाएर माया गरेकी छन्। पोस्टरको पृष्ठभूमिमा हवाईजहाज र चरा पनि छन्। अभिनेत्री पूजा खुसी देखिएकी छन् भने बेनिशाले केही भन्न खोजेको देखाइएको छ।

अर्को पोस्टरमा अभिनेता तेज गिरी र अभिनेत्री बेनिशालाई बेहुला–बेहुली लुक्समा देखाइएको छ। जहाँ मुकुन र रेखा तथा समर्पण जंग कार्की र पूजा शर्मालाई पनि अटाइएको छ। यो फस्टलुक पोस्टर रोमान्टिक भावमा छ। त्यस्तै, अर्को पोस्टर उपहार शैलीमा निर्माण गरिएको छ। पोस्टरमा रिबन बाँधिएको छ।

जसमा मुकुन भुसाल, रेखा थापा, पूजा शर्मा र बेनिशा हमाललाई खुसी भावमा देखाइएको छ। चौथो पोस्टरमा अभिनेता मुकुनलाई ह्विल चियरमा छन् भने रेखा कालो चस्मामा आकर्षक देखिएकी छन्।

पोस्टरमा फिल्मको गीत मुटुको चार आनामा अभिनय गरेका पुरुष कलाकारहरू निर्मल शर्मा, शिशिर राणा, राजाराम पौडेल र किरण केसी छन्। त्यस्तै, अभिनेत्री पूजालाई हाँसेको र बेनिशालाई मुस्कुराएको भावमा देखाइएको छ।

ज्ञानेन्द्र देउजाको निर्देशन रहेको फिल्म रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको ब्यानरमा रेखा थापाले प्रस्तुत गरेकी हुन् भने सुलभ प्रतीक देउजा र समीक्षा देउजाले निर्माण गरेका छन्।

बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्ममा रेखा थापा, मुकुन भुसाल, पूजा शर्मा, बेनिशा हमाल, तेज गिरी, समर्पण जंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुसाल लगायतले अभिनय गरेका छन्।

फिल्ममा सुलक्षण भारतीको कथा, अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, प्रमोद ढुंगाना शंकर अधिकारी ‘घायल’ र मुक्त उदासको गीत, रोशन श्रेष्ठको द्वन्द्व, विष्णु कल्पित घिमिरेको छायांकन र मित्र डि गुरुङको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्