भुठानमा हरिवंशसँगै हलिउड अभिनेता ब्रुस पनि



काठमाडौं ।

ख्यातिप्राप्त अभिनेता हरिवंश आचार्यले अभिनय गर्ने नेपाली फिल्म भुठान : द वल्र्डस् ह्याप्पिएस्ट म्यानमा हलिउड अभिनेता ब्रुस डर्नले पनि अभिनय गर्ने भएका छन्।

बुलबुल निर्देशक विनोद पौडेलको निर्देशनमा बन्ने फिल्ममा हरिवंशका साथमा अभिनेता दयाहाङ राईलगायतले पनि अभिनय गर्ने पक्का भइसकेको छ।

नेपालबाट पुनर्वास भएर अमेरिकाको पेन्सिलभेनिया र ओहायो क्षेत्रमा बसोबास गरेका नेपालीभाषी भुटानीको दुर्दशा र विस्थापन तथा संघर्षको कथामा आधारित फिल्मको हाल अमेरिकाको एक्रोन, ओहायो र त्यस वरपर छायांकन भइरहेको छ।

दुईपटक ओस्कार एकेडेमी अवार्डमा मनोनित भएका ब्रुस सन् १९७९ को फिल्म कमिङ होम र सन् २०१३ को नेब्रास्काबाट ओस्कार अवार्डमा मनोनित भएका थिए भने नेब्रास्काबाट उनले कान्समा सर्वश्रेष्ठ अभिनेताको अवार्ड चुमेका थिए।

निर्देशक पौडेलले ब्रुसलाई एजेन्सिमार्फत स्क्रिप्ट पठँएका थिए भने ब्रुसका म्यानेजरले फिल्मका निर्माता राजेन्द्र ठकुराठीलाई फोन गरेर फिल्म खेल्न राजी भएको पक्का गरेका थिए।

नेपाल र अमेरिकाका निर्माताको संयुक्त लगानीमा बन्ने फिल्म राजेन्द्र ठकुराठी, अमिताभ जोशी र अविरल थापासँगै एलएन अधिकारी, कौशिला कर्माचार्य, रमेश भट्ट र अपार श्रेष्ठले निर्माण गर्न लागेका हुन्।

फिल्म देशबीचको विभाजित आत्मालाई प्रतिविम्बित गर्ने निर्देशक पौडेलले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्