सन् २०२३ : बलिउड अभिनेत्रीका कमाउने फिल्म



काठमाडौं ।

आजबाट सन् २०२३ बिदा भएर सन् २०२४ सुरुवात भएको छ। सन् २०२३ मा बलिउड अभिनेत्रीहरूका लागि सुखद रह्यो। सन् २०२३ मा सर्वाधिक कमाएका र चर्चित भएका अभिनेत्रीको फिल्म यस प्रकार छ।

नयनतारा
दक्षिण भारतीय फिल्मकी सुपर स्टार नयनताराले २०२३ मै शाहरुख खानको चर्चित फिल्म जवानमार्फत बलिउडमा डेब्यु गरिन्। जुन उनको लागि निकै नै अर्थपूर्ण रह्यो। सो फिल्मले भारतमा मात्र ६ सय ४३ र संसारभर एक हजार ५२ करोड भारतीय रुपियाँ कमाउन सफल भएको थियो।

दीपिका पादुकोण

सन् २०२३ अभिनेत्री दीपिका पादुकोणका लागि पनि फलदायी रह्यो। उनी अधिकांश फिल्ममा केमियो रोलमा देखिइन् भने फिल्म जवानमार्फत् उनले सर्वत्र चर्चा बटुलिन्।

रश्मिका मन्दना
सन् २०२३ मा धेरै कमाइ गर्ने बलिउड अभिनेत्रीको सूचिमा अभिनेत्री रश्मिका मन्दनाले पनि आफ्नो नाम सुरक्षित गरिन्। यस वर्ष उनी अभिनित ठूला फिल्महरू एनिमल र वरिसु दुवैको बक्स अफिस कलेक्सन शानदार रह्यो। एनिमलले भारतको बक्स अफिसमा मात्र पाँच सय ४६ करोड रुपियाँ कलेक्सन रहेको थियो।

आलिया भट्ट
अभिनेत्री आलिया भट्टको फिल्म रकी और रानीकी प्रेम कहानीले पनि राम्रो कमाइ गर्न सफल भयो। आलियाको सन् २०२३ मा सो एक मात्र फिल्म रिलिज भए पनि सो फिल्म नै उनको लागि काफी रह्यो।

अमिशा पटेल
बलिउड अभिनेत्री अमिशा पटेलले लामो समयपछि सन् २०२३ मा ठूलो पर्दामा कमब्याक गरिन्। उनले आफ्नो २१ वर्ष अघिको फिल्म गदरको सिक्वेल गदर २ मा अभिनय गरेकी थिइन्। फिल्मले पाँच सय २५ करोडको व्यापार गरेको थियो।

अदा शर्मा
अदा शर्माको सन् २०२३ को फिल्म द केरला स्टोरी निकै मन पराइयो। फिल्मले दुई सय ४२ करोडको शानदार कमाइ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्