शनिबार डल्लुमा महोत्सव : यात्रा जात्राको



काठमाडौं ।

नेवारी कला, संस्कृति, संगीत र परिकारको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले राजधानीको डल्लुमा आगामी १४ गते शनिबार डल्लु आवास महोत्सव हुने भएको छ।

फनोलोजिक सोलुसनले यात्रा जात्राको रूपमा डल्लु आवासको माल्चाटरा–१५ मा डल्लु अवास महोत्सव आयोजना गर्न लागेको हो।

फनोलोजिक सोलुसनका अध्यक्ष रोजल शाहीका अनुसार नेपाली कला, संस्कृति, बाजा गाजा, सगीत, पहिरन र परिकारलाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले पहिलोपटक यात्रा जात्राको : डल्लु अवास महोत्सव आयोजना गर्न लागेको जानकारी गराए।

उनका अनुसार नेवारी परम्पराका विभिन्न प्रस्तुति र परिकार प्रस्तुत गरिने महोत्सव डल्लुपछि नेवार बस्ती भएका देशका विभिन्न स्थानमा आयोजना गरिनेछ।

‘नेपाली कला, संस्कृति, बाजा गाजा, सगीत, पहिरन र परिकारलाई एकै मञ्चमा प्रस्तुत गरिनु साथै नेवारी गीत संगीतका स्थापित गायक–गायिकालाई उही मञ्चमा एकसाथ प्रस्तुत गरिने यो महोत्सवको दुर्लभ विशेषता हुनेछ’ आयोजक संस्थाका अध्यक्ष शाही भन्छन् ‘नेवारी गीतका प्रसिद्ध गायक–गायिकाको गीत एकैसाथ एकै मञ्चमा हेरेर मनोञ्जन लिने अवसर यो पहिलो हुनेछ। डल्लुपछि नेवार बस्ती भएका देशका विभिन्न जिल्लाबाट महोत्सवलाई निरन्तरता दिइन्छ।’

महोत्सवमा नेवारी कला, गीत संगीत, नृत्य प्रस्तुति, नेवारी खानाको स्टल, नेवारी कला प्रदर्शनी हुने पनि उनले जानकारी गराए। महोत्सवमा कुमार सागर, उज्वन शाक्य, रोज मान महर्जन, निशा देसार, नीभा डैगालले आआफ्नो लोकप्रिय नेवारी गीत प्रस्तुत गर्नेछन्।

त्यसैगरी, सुरताल ब्यान्ड, द खोपा ब्यान्डका साथमा स्थानीय ब्यान्डले पनि गीत सगीत प्रस्तुति गर्ने कार्यक्रम छ। यसका साथमा धिमे बाजाका साथमा धिमे नाच पनि प्रस्तुत गरिने रोजलले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्