तन्नाज एउटै गीतबाट स्टार



काठमाडौं ।

बलिउड फिल्म एनिमल यतिबेला निकै चर्चामा छ। भारतमा मात्र पाँच सय करोडको व्यापार गरिसकेको यो फिल्म भारतमा ५ सय कमाइ गर्ने पहिलो एडल्ट फिल्म पनि बनेको छ।

यो फिल्ममा समावेश विभिन्न दृश्य, संवाद तथा गीतले निकै चर्चा पाइरहेको छ। फिल्ममा समावेश एक गीत जमाल कुडू पनि दर्शकमाझ निकै चर्चित बनेको छ।

सामाजिक सञ्जालमा निकै लोकप्रिय यो गीतका कारण यसमा देखिएकी इरानी मोडल तथा डान्सर तन्नाज दवुदी पनि रातारात स्टार बनेकी छन्। जमाल कुडू १९५० को दशकमा निकै लोकप्रिय ईरानी गीत हो।

जसमा केही परिवर्तन गरेर फिल्म एनिमलमा समावेश गरिएको थियो। सो गीत फिल्म एनिमल जस्तै निकै लोकप्रिय भएपछि तन्नाजको पनि चर्चा चुलिएको छ।

गीतमा अभिनेता बबी देवल तेस्रोपटक विवाह गरिरहेको देखाइएको छ भने गीतको शुरुमा शिरमा गिलास राख्दै नाचिरहेको दृश्य देखिन्छ। उनी नाच्दै समूहमा गीत गाइरहेको युवतीमाझ गएको देखिन्छ।

समूहको बीचमा रहेकी तन्नाज पनि गीत गाएर झुमिरहेको देखिन्छिन्। उनी आफ्नो सुन्दरता र हाउभाउका कारण रातारात भाइरल बनेकी छन्।

यसभन्दा अघि पनि केहि बलिउड फिल्मका गीतमा काम गरिसकेकी उनले बलिउड कलाकारहरू नोरा फतेही, वरुण धवन, जोन अब्राहम आदिका साथ स्टेज सेयर गरेकी छन्।

अधिकांश रूपमा पृष्ठभूमिमा रहेर नृत्य गर्ने उनले फिल्म एनिमलको सो गीतका कारण भने लोभलाग्दो लोकप्रियता कमाइरहेकी छन्।

प्रतिक्रिया दिनुहोस्