असहायको दयनीय अवस्था

सरकारको ध्यान नगएको छात्रावास संचालकको गुनासो 



धादिङ। 

आमा  बोलाइको समस्यामा छन्  । बाबुले आँखा देख्दैनन् । मैदीका उज्वल कट्टेल बालमन्दिर माविमा कक्षा ९ मा पढ्छन् । शहरको विद्यालय भएर होला धनीका छोराछोरी पनि पढ्ने भएकोले कति विद्यार्थीले नयाँ लुगा, नयाँ झोला र प्रशस्त कापी बोकेर विद्यालय आउँछन् । खाजाको समयमा धनीका छोराछोरी किनेर खाजा खाने गर्छन्।  तर, उज्वालको भने अवस्था दयनीय छ । गरिबीले गाँजेको परिवारमा आफ्ना अभिभावक अपाङ्गता भएपछि समस्यामाथि  समस्या पर्यो । एकजना गाउँवासीले आमाको माया छात्रावासमा ल्याइदिए अहिले पढाइमा अब्बल छन् । छात्रावासमा बसेर बालमन्दिर  विद्यालयमा गरिने पढाइमा उनले प्रगति गर्दै गएको विद्यालयका शिक्षक गीता रिजालको भनाइ छ ।

 ढोलाबाट उद्धार गरिएका १० वर्षीय रमित भुजेलको अवस्था पनि उस्तै छ । आमा बेपत्ता भइन्  । बाबुले अर्को विवाह गरेर कता गए थाहा नभएपछि अलपत्र अवस्थामा उद्धार  गरिएपछि जीवनमा नयाँ उत्साह आएको छ। तर, आमाको माया छात्रावासले यथेष्ट कपडा उपलब्ध गराउन कठिनाइ भएको छ । उनी  अहिले सुन्दरादेवी माविमा  कक्षा ४ मा पढ्छन् । खान र बस्नको बास अनि विद्यालय पढ्न भने व्यवस्था मिलाएको छ ।

कैलालीको नयाँबस्तीका एप्रोन तामाङको अवस्था पनि उस्तै छ । आमा रोग लागेर मृत्यु भएपछि आमाको माया छात्रावास ल्याइएका थिए । अहिले २ कक्षामा पढ्ने एप्रोनको बाबुको बारेमा कसैलाई जानकारी छैन । पहिले झर्लाङबाट उनको परिवार कैलाली बसाइ गएको बताइएको थियो । उनीहरु प्रतिनिधिपात्र मात्र हुन् । आमाको माया छात्रावासमा बस्ने २३ जना विद्यालयदेखि कलेजसम्म पढ्ने बालबालिकाको पारिवारिक अवस्था अन्त्यन्तै कठिन अवस्थामा छ । धेरैको परिवारको हो पत्ता लगाउन कठिन छ । छात्रावासमा आएपछि बस्न, खान, संस्कृत समेत छात्रावासमै पठन, विद्यालयमा औपचारिक शिक्षाका लागि नियमित गराउन कठिन भएपनि उनीहरुका लागि काम गरिरहेको छात्रावास सञ्चालक नबिनबन्धु पहाडीले बताए ।

छात्रावासमा असहाय बालकहरु बस्छन् जानकारी भएर पनि स्थानीय सरकारले खासै सहयोग नगरेको पहाडीको भनाइ छ । बालमन्दिर मावि र सुन्दरादेवि आविले नि:शुल्क पढाएको छ । सहृदयी मनहरुले खाना र कपडा उपलब्ध गराएका कारण असहायलाई सहायता मिल्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्