फोटो पत्रकारीताको विगत देखि वर्तमानसम्म

0
Shares

विकास रौनियार
वरिष्ठ फोटो पत्रकार

फोटो पत्रकारीताको विकास गोरखापत्रबाट नै सुरु भएको हो । तस्वीर छाप्न सुरु भने जिङब्लकआए पछि भएको थियो । सुरुका चरणमा जिङ्गब्लकमा फोटो हालेर छापिन्थ्यो । त्यतिबेला तस्वीर छापिए पनि समाचारमूलक तस्वीर छापिँदैन थियो । जिङ्गब्लक बनाउन भने समय लाग्दथ्यो । धेरै समयसम्म सजिलोका लागि राजा र प्रधानमन्त्रीको जिङ्ब्लक बनाएर राखी तस्वीर छाप्ने गरिन्थ्यो । राजाको भ्रमण तथा बोलेको फोटो छाप्ने चलन थियो । समाचार झल्कने तस्वीर भने गोरखापत्रबाट सुरु भएको हो ।

विरगन्जमा एक महिलाले चर्खा कात्दै गरेको तस्वीरु गोरखापत्रमा छापिएको थियो । यो वैशाष १३ गते छापिएको हुनाले फोटो पत्रकारीता दिवस यसै दिन मनाउन थालियो । तर, पत्रीकाहरुले अफसेट प्रेस ल्याएपछि भने राम्ररी घटनामूलक तस्वीर छापिन थालेको थियो । त्यतिबेला फोटो खिच्ने मानिसलाई फोटो पत्रकार नभनी प्राविधिक कर्मचारी भनिन्थ्यो । त्यो समयमा गोरखापत्रको चर्चा व्यापक थियो । केही समयपछि भने केही साप्ताहिक पत्रिका निस्कन थाले । साप्ताहिकमा पनि राम्रो तस्वीरको प्रयोग हुँदैन थियो । विमर्श, लोकपत्रजस्ता पत्रिकाले पनि पुरानै फोटो प्रयोग गर्दथे ।

क्रमशः फोटो पत्रकारीताको विकाससाँगै घटना प्रधान फोटो छाप्ने चलन आउन थाल्यो । निजी क्षेत्रको पत्रपत्रीकाको सुरुआतभएसँगै भने फोटो पत्रकारीताले अझै माथिल्लो फड्को मा¥यो । नेपाल समाचारपत्र, कान्तिपुर, हिमालय टाइम्स्, लोकपत्र त्यतिबेलाका चलेका पत्रिका हुन् । गोरखापत्रले औपचारिक उद्घाटन गरेका, नेता हिँडेको जस्ता तस्वीर छाप्ने गर्दथ्ग्यो भने निजी पत्रीकाले अली फरक किसिमका तस्वीर छाप्ने गरेका थिए । त्यतिबेलाका चर्चित फोटो पत्रकारमा गोपाल चित्रकार, देवेन्द्रमान सिंह, मणि लामा, मिन बज्रचार्य, चन्द्रशेखर कार्की, लगायत फोटो पत्रकार थिए । उनीहरुले निजी पत्रीकामा फरक खालका रोचक, समाचारमूलक तस्वीर छाप्न थालेका थिए ।

एक पटक गिरीजाप्रसाद कोइराला प्रधानमन्त्री भएका बेला कार्यक्रममा भाग लिन जानु भएको थियो । भाग लिन जाँदा सुरक्षाकर्मीले कुकुर लिएर आएका थिए । गोरखापत्रले परम्परिक तस्वीर मात्र छापे भने कान्तिपुरले कुकुर आएको समाचार र फोटो पनि त्यसै अनुसार छापेको थियो । त्यतिबेला देखि कान्तिपुर कलरमा छापिन थाल्यो । फोटो पनि कलरमा छापिएको थियो । कलर छाप्दा विज्ञापन आउने भएर पनि छापिएको हुनसक्छ । पत्रिका रङ्गिन छापिन थालेपछि १७ हजार ग्राहक थपिएका थिए । ग्राहले पहिले हेर्ने भनेको तस्वीर, कार्टुन नै भएको हुँदा त्यस्ता विषय छापिने पत्रिका लोकप्रिय हुन्छन् ।

२०४६ सालपछि निजी क्षेत्रका पत्रपत्रिका राम्ररी फस्टाए सँगै फोटो पत्रकारीता पनि फस्टायो । तर, धेरै सञ्चार ग्राममा फोटो पत्रकारलाई लिन हिच्किचाउँथे । त्यतिबेला नेपाल समाचारपत्र, कान्तिपुरलगायत केही पत्रिकाले फोटो पत्रकारलाई जागिर दिएका थिए । पहिलो गोरखापत्रले पद नै निर्माण गरेर फोटो पत्रकारलाई जागिर दिएको इतिहाँस छ । निजी क्षेत्रका सञ्चार माध्यमले जागिर नै दिन थाले । अर्को भनेको विद्युतीय सञ्चार माध्यमको सुरु भएसँगै फोटो पत्रकारलाई काम गर्न सजिलो हुन थाल्यो । सुरुमा नेगेटिब प्रयोग गर्दा डार्क रुममा जानु पर्दथ्यो । धुलाउने, सुकाउने प्रक्रियाको कारण एउटा फोटा बनाउन २ घण्टा लाग्ने गर्दथ्यो ।

त्यसपछि डिजिटल प्रविधिको विकास भएसँगै अर्को फोटो पत्रकारीतामा ठुलै परिवर्तन भएको थियो । सन् १९९७ तिरबाट फोटो छाप्न सजिलो र छिटो हुँदै गयो । पहिला जिल्लाको फोटो ल्याउन हुलाकको प्रयोग गर्ने चलन थियो भने इमेलको जमाना आएपछि भने सजिलो हुदै गयो । अहिले गुणस्तरीय क्यामरा धेरै प्रयोग भए पनि समाचारमूलक तस्वीर दिन सक्ने फोटो पत्रकार कमै छन् । केही फोटो पत्रकारले नेपालमै रहेर पनि विदेशी डलर लिइरहेका छन् । स्वदेशमा भने फोटोको बाढी आएर पनि कम गुणस्तरीय फोटो प्रयोग गरेका छन् ।

पत्रिकामा रचनात्मक तरिकाको फोटो नहाले पृष्ठ भर्नका लागि फोटो हालेका छन् । पहिला फोटो पत्रकारिता गर्ने कम तर गुणस्तर बढी थियो । अहिलो फोटो पत्रकार बढी, गुणस्तर कम भएको छ । कथा बोक्ने तस्वीर उत्कृष्ट मानिए पनि अहिले त्यसको खडेरी परेको छ । सामाजिक सञ्जालको तिव्र विकाससँगै ब्रेकिङ गर्नेको होड चलेको छ । पहिला गोरखापत्र बाँधिएर फोटो छाप्नु पर्ने थियो भने निजी समाचार संस्थामा भने उत्कृष्ट जस्तो छापे पनि हुन्थ्यो । ठुलो घटना घटेमा स्पेस पनि ठुलै दिने चलन थियो । अब भने पत्रिकामा चुनौति थपिएको छ । घटना घटेको ५ मिनेटमा फोटो सार्वजनिक भइसक्छ । अब फोटा पत्रकारलाई जागिर पाउन समस्या रहेको छ । मुख्य रुपमा अनलाइन सञ्चार माध्यममा कुनै तथ्य जाँच नगरीकनै फोटो छाप्ने चलन छ । फोटो पत्रकार पनि नराख्ने र जस्तो पनि फोटो राख्दा उचित हुँदैन ।

सञ्चार माध्यममा आर्थिक संकट देखिरहेको छ । यसको असर कर्मचारी घटाउन लागिरहेका छन् । जसमा पहिलो नम्बरमा फोटो पत्रकार पर्दछन् । अहिले सजिलो तरिकाले फोटो उपलब्ध भइरहेको छ । सोखिन फोटो पत्रकारको संख्या बढेका छन् । उनीहरुलाई नाम भए पुग्छ । सम्पादक र सञ्चार माध्यमलाई मेरो फोटो छाप्दिनुस् । मलाई पैसा चाहिँदैन भन्नेको जमात बढेको छ । पैसा बिना फोटो आउँछ भने तलव दिएर फोटो पत्रकार राख्ने कमै छन् । अन्तराष्ट्रिय अभ्यासमा पनि जागिर दिएर फोटो पत्रकार राख्ने चलन कम भइरहेको छ । बाहिरी देशमा प्रति फोटोको राम्रो पारिश्रमिक दिएर किन्ने गरेका छन् । अहिले नेपालमा राष्ट्रिय समितिका तस्वीर पनि प्रयोग भइरहेका छन् । त्यसले फोटो पत्रकारको जागिरमा असर गरेको छ ।

यो चुनौतिसँग लड्न फोटो पत्रकारले अझ मेहनत गर्नुपर्दछ । त्यसका लागि फोटो पत्रकारले दुर्लभ तस्वीर ल्याउनु पर्दछ । एउटै तरिकाको फोटो खिच्नु भन्दा फरक तरिकाको फोटो खिच्नु पर्दछ । विशेष खालको तस्वीर ल्याउन फोटो पत्रकार चलाख हुनु पर्दछ । राम्रो क्यामराले राम्रो तस्वीर खिचे पनि खिच्ने मान्छेले हो । क्यामरा राम्रो हुनु आवश्यक छ तर सिर्जनशिलता चाहिन्छ । फोटो पत्रकारमा संयमितता आवश्यक छ । कतिपय फोटो पत्रकारहरु आवश्यकता भन्दा बढी झुम्मिएको पाउँछौँ । तस्वीर खिच्दा आवश्यकता भन्दा नजिक जानु उपयुक्त होइन । फोटो खिच्दा एङ्गल थाहा पाउन जरुरी छ । एङ्गल नजिकै गएर हुने होइन । फोटो ग्राफरको भिड भन्दा पर गएर खिच्दा अझ राम्रो फोटो खिचिन्छ ।

फोटो पत्रकार झुम्मिएको पछाडिबाट फोटो खिच्दा पनि राम्रो हुन्छ । त्यसरी फोटो खिच्दा रोचक हुन्छ । फोटो पत्रकारले औपचारिक शिक्षा हाँसिल गर्नुपर्दछ । गुणस्तरीय फोटो खिचेमा इन्टरनेटको माध्यमबाट विश्वमा बेच्न सकिन्छ । कुनै पनि कुनामा बसेर फोटो बेच्न सकिन्छ । यो विषय फोटो पत्रकारका लागि राम्रो हो । एक समयमा आफैँ भारत, हङ्कङ, सिङ्गापुर दुबैतिरबाट फोटो किन्न नेपाल आउने गरेका थिए । कतिपय पिक्चर लाइबेरी, एपीलगायत संस्थाले उत्कृष्ट फोटो लिने गरेका छन् । त्यस्ता सबै ठाउँमा पठाउँदा अझै पनि अबसरको ढोका बन्द भने भएको छैन ।

स्वतन्त्र फोटो पत्रकारलाई झनै सहज हुँदै छ । कुनै संस्थामा काम गर्दा एकै ठाउँमा मात्र फोटो दिनु पर्दछ भने स्वतन्त्र फोटो पत्रकार भयो भने सबै ठाउँमा फोटो पठाउन सकिन्छ । सबैले छापे भने पनि कुनै समस्या हुँदैन । पत्रिकामा लेख एकै ठाउँमा दिनु पर्दछ भन्ने नियम छ भने फोटो, जसले छापे पनि हुन्छ । यसरी छाप्दा फोटो पत्रकारलाई आर्थिक फाइदा हुन्छ । त्यसैले आफूलाई सिर्जनसिल बनाउँदै विश्व बजारमा फोटो बेच्नु पर्दछ । नेपालमै पनि क्यालेन्डरमा छाप्न, सञ्चार संस्थामा छाप्न, किताबको कभर, घरमा सजाउन, होटलमा सजाउन, संघसंस्थाका लागि फोटोको माग छ । यो समयमा फोटो पत्रकारलाई चुनौतिसँगै अवसर पनि छ ।