शाही ‘कू’ को सम्झना: राजतन्त्रको भविष्यबारे विवेचना



जेपी गुप्ताले एकरात टेलिफोन कुराकानीको क्रममा भन्नुभयो, किशोरजी, तीन महिनाभित्र राजा ज्ञानेन्द्रले कू गर्दै छन् । गुप्ताले ‘कू’ को बारेमा मात्रै भन्नु भएन, त्यसपछि कसको नेतृत्वमा को–को संलग्न सरकार बन्छ समेत भनिदिनुभयो ।

राजा ज्ञानेन्द्रबाट कू हुन्छ भनेर पत्याउने आधार त थिएन । भाग्य भनौं वा दुर्भाग्य भनौ, कुनै सम्भावना नै नभएको व्यक्तिले राजा बन्ने अवसर पाउनुभएको थियो । तर, राजा भए पनि राजाको जस्तो छवि थिएन । दर्जनौं प्रश्न सर्वत्र थिए । उत्तराधिकारी पारसको छवि उत्तिकै विवादास्पद थियो । यस्तो अवस्थामा राजा ज्ञानेन्द्रले कू को रिस्क लिनुहुन्छ भन्ने मलाई पत्यार थिएन । राजावाट कू भयो भने राजतन्त्र सधैंका लागि सकिन्छ भन्ने सामान्य नागरिकले पनि आँकलन गर्न सक्ने अवस्था थियो । फेरि म आफूलाई भन्दा पनि जेपी गुप्तालाई विश्वास गर्थे । मेरो विश्लेषणभन्दा जेपी गुप्ताको सूचना नै प्रामाणिक हुने गर्थे ।

भोलिपल्ट नेपाल समाचारपत्र दैनिकको प्रथम पृष्ठमा दोश्रो प्रमुख समाचार छापियो, तीन महिनाभित्र कूको सम्भावना । यो समाचार धेरैका लागि अप्रत्याशित जस्तै थियो । कतिपयले हावादारी समाचारको संज्ञा पनि दिए । केहीले शंकापूर्ण रूपमा पनि हेरे, किनकि, यसभन्दा अघि नै राजाले नेपाल समाचारपत्र दैनिकका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठसँग भन्नुभएको थियो, म दाजुजस्तो चुप लागेर बस्दिनँ । राजाको यो अभिव्यक्ति समाचार पृष्ठमा नभएर विचार पृष्ठमा छापिएको थियो जसले गर्दा जति चर्चा हुनुपथ्र्यो त्यति भने भएको थिएन ।

तीन महिनापछि । २०६१ माघ १८ गतेको राति काम सकेर घरतर्फ जान लाग्दै थिए, एउटा टेलिफोन आयो । शाही नातेदारको फोन आयो । शुरुमा सामान्य पारिवारिक कुराकानी भए । उहाँ लामो समयदेखि पारिवारिक मित्र रहेकोले कुनै सूचनाको अपेक्षा त थिएन । कुराकानी टुंग्याउनै लाग्दा उहाँले केही असजिलो मान्दै महत्वपूर्ण कुरा भन्नुभयो । उहाँले त्यो महत्वपूर्ण कुरा गर्नुअगाडि भन्नुभएको थियो, यो समाचारका लागि होइन है ।

किशोरजी, भोलिबाट अलिकति सपोर्ट गरिदिनुहोला, उहाँले आग्रह गर्दै भन्नुभयो–राजाले भोलि विशेष कदम चालिबक्सिँदै छ, शुरुका केही दिन कठिन होला । विस्तारै सहज हुन्छ । अब पूर्णरूपमा विश्वस्त भइसकेको थिएँ,जेपी गुप्ताको सूचना सही थियो । मैले प्राप्त गरेको सूचनाको बारेमा पहिला कार्यालयमा छलफल गरे । राजाले कू गर्दा के–के हुनसक्छ भन्ने कोणवाट प्रधान सम्पादक पुष्करलाल श्रेष्ठ, सहकर्मीहरू महेन्द्र विष्ट, टंक पन्त, दीपक रिजाल र म बसेर केहीबेर छलफल ग¥यौं । हामीहरू समाचार प्रकाशन गरौं भन्ने पक्षमा थियौं, तर प्रधान सम्पादक श्रेष्ठले मान्नुभएन ।

राजाबाट भोलि कू भयो भने त समाचार प्रकाशित भएको ठिकै होला, तर कुनै पनि कारणले कू भएन भने त पत्रिकाको विश्वसनीयता सकिन्छ, हामीले जनताको विश्वास त गुमाउँछौं नै राज्यको विश्वास पनि गुमाउँछौं, प्रधानसम्पादक श्रेष्ठको तर्क थियो । पत्रिकाको सबैभन्दा जिम्मेवार व्यक्ति पनि उहाँ नै हो । उहाँले आँट नगरेपछि सहकर्मीहरू महेन्द्र सर, टंक सर, दीपकजी अलि निराश हुनुभयो । मप्रति विश्वास गरेर उहाँहरूले केहीबेर पुष्कर सरसँग केही नरम ढंगबाट भए पनि समाचार हालौं भनेर जिद्दी गर्नुभएको थियो, तर त्यो जिद्दी काम लागेन । समाचार नछाप्ने भए पनि हामीले कू भएपछि के–के हुन सक्छन् भन्ने विषयमा विमर्श ग¥यौँ ।
पुष्कर सरले नै भन्नुभयो, कू भयो भने पहिलो राजनीतिक दल र नेताहरूमाथि प्रतिबन्ध हुन्छ, दोश्रो सञ्चार माध्यमहरूमाथि नियन्त्रण हुन्छ र तेश्रो टेलिफोन सेवा काटिन सक्छ ।

हामीले केही समय भोलिदेखि कसरी पत्रिका सञ्चालन गर्ने भन्ने विषयमा छलफल ग¥यौँ । म आज घरभन्दा बाहिर नै सुत्छु, पुष्कर सरले कार्यालयबाट निस्कँदै गर्दा भन्नुभयो, सम्पादकहरूलाई समेत नियन्त्रणमा लिन सक्छ । पुष्कर सर निस्किएपछि मैले पत्रकार किरण पोखरेल (हाल राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस सल्लाहकार) लाई फोन गरेँ । किरण दाइ र म संवेदनशील विषयहरूमा जहिले पनि छलफल गर्ने गथ्र्यौं ।

किशोरजी, यो श्रोतप्रति तपाईं कति विश्वस्त हुनुहुन्छ ? उहाँले भन्नुभयो, तपाईं विश्वस्त हुनुहुन्छ भने म यो समाचार छाप्न सक्छु । किरण दाइ हिमालय टाइम्स दैनिकमा हुनुहुन्थ्यो ।घर निस्किने बेलामा दीपकुमार उपाध्यायसँग कुरा गरे । उहाँ प्रधानमन्त्री शेरवहादुर देउवाको मन्त्रिपरिषद्मा हुनुहुन्थ्यो । दाइ भोलि कु हुँदैछ, सामान्य कुराकानी पछि मैले भने ।

दीप दाइसँग धेरै निकटता थियो । उहाँले पत्याउनुभएन । मलाई होल्डमा राखेर उहाँले प्रधानमन्त्री देउवासँग कुरा गर्नुभयो । प्रधानमन्त्री देउवासँग फोन गरेपछि उहाँले मसँग भन्नुभयो, कुनै सम्भावना छैन किशोरजी, प्रधानमन्त्री राजासँग नै डिनर गरेर भर्खर निवास पुग्नुभएको छ । भोलिपल्ट । नेपाली सञ्चार माध्यममा कू को समाचार छाप्ने पत्रिका हिमालय टाइम्स दैनिक मात्रै बन्यो । केही बेरमा नै राजाले विशेष सम्बोधन गर्ने समाचार आउन थाले । सरकारी सञ्चार माध्यमबाट राजाको प्रत्यक्ष सम्बोधन आउँदा आउँदै टेलिफोन काटियो । राजनीतिक नेताहरू नजरबन्दमा परे । पक्राउ परे । सञ्चार माध्यमहरूमा समाचार सम्पादन गर्न सैनिक अधिकृत खटिए । पूरै देश एउटा कारागारमा बदलियो ।

नेपाली उखान छ, ठूलो रूखको ओत लाग्नु । राजा ज्ञानेन्द्रले नेपाली कांग्रेस, नेकपा (एमाले) जस्ता ठूला वृक्ष छाडेर बुढा भइसकेका वृक्षहरूको ओत खोज्नुभयो । शासन हातमा लिनुभयो तर शासनका लागि आवश्यक पर्ने शक्तिहरूलाई विश्वासमा लिन सक्नुभएन । सेनाको समेत विश्वास राजाप्रति रहेन । देशलाई पूरै कारागारमा बदलेर दाजु वीरेन्द्र र परिवारको सम्पत्ति आफ्नो नाममा सार्नुभयो । यो कू देशको मुहार फेर्नका लागि हो भनेर स्थापित गर्न सक्नुभएन, आफ्नो स्वार्थसिद्ध गर्न मात्रै हो भन्ने स्थापित गर्दै जानुभयो । भारतलाई चिढ्याउंदै सार्कमा चीनलाई आमन्त्रित सदस्यको रूपमा ल्याउने प्रस्ताव गर्नुभयो, जहाँ नेपालकालागि भारतीय राजदूत श्यामशरणले भनिदिएका थिए, यी राजालाई म देखाउँछु ।

नेपाली जनता स्वतन्त्रताको लडाइ लड्न तयार थिए । दासता त केवल मुठ्ठीभर चाकडीवाजहरूलाई मात्रै स्वीकार्य हुन्छ । भारतले प्रमुख राजनीतिक दल र सशस्त्र आन्दोलन गरिरहेको माओवादीलाई मिल्न सक्ने वातावरण बनाउन वार्ताका लागि आफ्नो देशभित्र स्थान दियो । नारायणहिटीभित्र मात्रै जरो गाडिएको राजतन्त्र जनआन्दोलनमार्फत सजिलै मिल्कियो ।राजतन्त्र गए पनि राजा ज्ञानेन्द्र जनमतलाई स्वीकार गरेर स्वदेशमा बस्नुभयो । यो सर्वस्वीकार्य कुरा हो । पूर्वराजाप्रति अझै पनि केही जनताको स्नेह छ । तर, यो स्नेह फेरि राजाको रूपमा फर्काउनका लागि हो भनेर बुझ्नु गलत हुन्छ । केही स्वार्थी जमातहरू राजतन्त्रको माग गर्छन्, जुन पानीको फोकाजस्तै भएर बिलाएर जानेछ । राजतन्त्रको माग गर्नेहरूको विगत तत्कालीन युवराज पारसको भन्दा विवादास्पद छ । महाभारतले राजाको गुणहरूको चर्चा गर्छ । महाभारतले भन्छ, राजामा धर्म, दया, सौर्य, बुद्धि, सत्य, न्याय, दान, आत्मनियन्त्रण, युद्धकला, सौलभ्यम (सबैको पहुँच वा सबैका कुरा सुन्ने क्षमता) हुनुपर्छ भनेको छ । पूर्वराजा ज्ञानेन्द्रमा यी कुन गुण छन् र उहाँ फेरि फर्कनुहुन्छ भनेर अपेक्षा गर्ने ?

प्रतिक्रिया दिनुहोस्