पत्रकारिता, भाइरस र भ्याक्सिन



मुक्तिबन्धु

पत्रकारिता केका लागि कसका लागि ? जसले पनि सोध्न सक्ने प्रश्न हो यो । नीति र नियत अनुसार यसका उत्तर फरक फरक हुन सक्छन् । एक समय थियो नेपालको पत्रकारिता दुई खेमामा विभाजित थियो । एउटो जागीर भत्ता र सत्तामुखी अर्को परिवर्तनुखी । परिवर्तनमुखी पत्रकारिताका मुलुकमा राजनीतिक व्यवस्था परिवर्तनको हुटहुटी थियो ।

अवस्था परिवर्तनको हुटहुटी थियो । सत्ता र व्यवस्थाका विरुद्ध लेख्नु बोल्नु अक्षम्य अपराध ठानिने त्यस समय खण्डमा परिवर्तनमुखी पत्रकारिताको बाटोे विकट थियो । दुर्गम थियो । व्यवस्थाका कान आँखाबाट जोगिएर जनतामा पुगेर जनताको आँखा र भाका सापट लिएर देश जनता हेर्नु बुझ्नु र परिवर्तनको दिशाबोधका साथ आवरणयुक्त भाषा र प्रस्तुतिमा सत्यतथ्य लेख्नु मेहनतसाध्य काम थियो । सम्राज्यवाद र विस्तारवादका विरुद्ध लेखिन्थ्यो, त्यो पनि जोखिमविहीन थिएन । जोखिम पनि धेरै थिए । दुःख कष्ट सहने र जोखिम उठाउने साहस भएकाहरु यसमा लाग्थे ।

पत्रकारिताको सामाजिक राजनीतिक लक्ष्य थियो । उद्देश्य थियो । मूल्य थियो । हरेक मिडियामा देश हुन्थ्यो । जनता हुन्थे । अग्रगामी परिवर्तनको सङ्केत हुन्थ्यो । राजनीति गर्नेहरु पत्रपत्रिका पढ्थे । रेडियो सुन्थे । जागीर खानेहरु पनि पत्रपत्रिका पढ्थे । रेडियो सुन्थे । पत्रपत्रिकाका त सवै सवै पाना पल्टाएर पढ्थे । सत्तासीन राजनेताहरु, कर्मचारीहरु कति कुरामा तर्सिन्थे । सावधान हुन्थे । आफुलाई सँच्याउँथे । कति कुरामा उतर्सिन्थे । कति कुरामा आक्रामक समेत बन्थे । अक्षरहरु निरर्थक जान्थेनन् । सत्ता कसैसँग डराउँथ्यो त पत्रपत्रिकासँगै डराउँथ्यो ।

विकृति विसङ्गति त्यति वेला पनि थियो । सत्ताको भजन पत्रकारिता थियो । जाँडपानीमा मगन पत्रकारिता थियो । तिनमा पनि जीवन्तताका लागि यदा कदा नै किन नहोस् तिक्खर लेखकको आवश्यकता पथ्र्यो । साँचो समाचारको आवश्यकता पथ्र्यो । सवै लेखक भजनिया र जँड्याहा हुन्थेनन् । यदा कदा राम्रा लेख रचना र यथार्थ समाचार पनि तिनमा छापिन पुग्थ्यो । जहाँ छापियोस् समाचारले काम गथ्र्यो । लेखरचनाले काम गथ्र्यो । हरेक साँझ नयाँ सडक पीपलबोटमा पत्रिका किन्नेहरुको भीड लाग्थ्यो । कति मानिसहरु अनुशासनवद्ध उभिएर पनि भूगोलपार्क जस्ता सार्वजनिक ठाउँमा टाँसिएका पत्रपत्रिकाहरु पढ्थे । मानिसहरु पत्रिका पढेर जीवन र जगत्बारे सोच बनाउँथे । आशा र विश्वास बुन्थे । राजधानी शहरमा मात्र होइन मोफसलमा पनि पत्रिकाहरु हात हातमा चढेर दगुर्थे ।

०३६।०३७ तिरको कुरा हो । पत्रिका दर्तालिन गाह्रो थियो । हामी केही साथी मिलेर बल्लतल्ल एउटा पत्रिका दर्ता गरेका थियौँ । प्रकाशनको जिम्मा एक प्रेसवाला सााथीले लिनुभएको थियो । पत्रिका साप्ताहिक थियो । उपयुक्त सामग्री तैयार गरेर गराएर पत्रिकाका पाना भर्ने काम ताराजीको र मेरो थियो । खटेर मेहनत गरिन्थ्यो । विद्वान् साथीहरुबाट समसामयिक लेखरचना लिइन्थ्यो । राम्रा लेख रचना र समाचारले पत्रिका भरिन्थ्यो । पछि हामीले अर्को पत्रिका दर्ता लियौँ । इटुम्बहाल अष्टनारायणको प्रेसबाट छापिन्थ्यो । मुरारी अर्याल डा० बााुराम भट्टराइ साथै म पनि सामग्री तैयार गर्न लागिपरेका थियौँ । मित्रहरुबाट पनि लेख रचना लिइन्थ्यो । विक्रीले प्रेस खर्च धान्थ्योे । लेखक सम्पादक प्रकाशक सवै निःशुल्क श्रमिक थिए । उत्साह थियो । जाँगर थियो । समर्पण भाव थियो । जनचेतना जगाउने र राजनीक परिवर्तन ल्याउने आकाङ्क्षा त छँदैथियो । यत्रतत्र छरिएका सत्ताका जासुसी कान आँखा र नाकहरुबाट जोगिएर लेख्नु विशेष होसियारीको काम थियो । पाइला पाइलामा सन्चारविभाग र अन्चलाधीश कार्यालयको सम्भावित प्रताडनाहरु थिए । तर पनि हच्किने दच्किने प्रवृत्ति थिएन । पत्रिका निस्केको दिन जन्मोत्सवको आनन्द अनुभूत हुन्थ्यो । यस्तो किन हुन्थ्यो ? किन हुन्थ्यो भने हाम्रो यात्रामा देश थियो । जनता थियो । हामीसँग जनता बिम्झाउने र मुलुकलाई प्रगतिको उन्नत बाटोमा हिँडाउने लक्ष्य थियो । आफ्नो ज्यान भन्दा लक्ष्यलाई ठुलो ठान्ने निष्ठा थियो ।

०५०।०५१तिर सन्ध्याकालीन महानगर दैनिकमा नियमितजस्तो लेख्थेँ । बेलुका क्याम्पसबाट घर फर्कने बाटो त्यही पथ्र्यो । पत्रिका अफिसमा सडकमा बेच्नका निमित्त पत्रिका लिन आउने हकरहरुको भव्य घुइँचो देखिन्थ्यो । सडक पेटीमा मानिसहरु पत्रिका कुरेर उभिन्थे । कति पत्रिकाहरु फलानाको लेख छ भनेको आधारमा पनि बिक्थे । जनताका मनमा जनप्रिय लेखकहरुका नाम अङ्कित रहन्थे । पढ्नै पर्ने पत्रपत्रिकाको नाम हुन्थ्यो । पढ्नै पर्ने लेखकहरु हुन्थे । कुनै पत्रिका अमुक लेखकको लेख छ, पढ्नै पर्छ भनेरै किनिन्थ्यो । त्यसताका पत्रकारितामा राजनीतिक परिवर्तन देश र जनताका हितमा हुनुपर्छ भन्ने पक्ष्य प्रवल थियो ।
पत्रपत्रिकाप्रतिको त्यो जागरुकता, त्यो भोक, त्यो तिर्खा त्यो आकर्षण आज छैन । किन ?

पत्रकारिता पसल होइन । कोक फ्याक्ट्रीजस्तो वहुराष्ट्रिय कम्पनीको कारखाना पनि होइन । कसरी बिकाउ माल उत्पादन गर्ने ? पत्रकारिताले लिने ध्याउन्ना यति मात्र भयो भने पत्रकारिता चिप्लन्छ । लाग्छ, नेपालको व्यावशायिक पत्रकारिताले यही चिप्लेटी रोज्यो । नेपाली जनजीवनको दुःख, यसको कारण र निवारणको वैज्ञानिक सूत्र पक्रेर देश र जनताको उत्तरोत्तर प्रगतिलाई प्राथमिकतामा राखेर टिकाउका लागि मात्र व्यवशायी हुन नेपालको व्यावशायिक पत्रकारिताले प्रयत्न गरेन ।
शताब्दियौँ अघि महाभारतमा वेदव्यासले गुनासो गरेका थिए, “ऊध्र्ववाहु र्विरोम्येष न च कश्चित् श्रृणोति मे । धर्मादर्थश्च कामश्च स किमर्थम् नसेव्यते ? अर्थात् हात उचाली उचाली द्रवित आवाजमा चिच्याउँदै हिँडेको छु, ए बाबा,पैसा नकमाऊ भनेको होइन, कमाऊ, विभिन्न मनोकाना पूरा नगर भनेको पनि होइन, पूरा गर । तर धर्म नछोडीकन धन कमाऊ, धर्म नछोडी कन कामना तृप्त गर । मैले यत्ति मात्र भनेको हुँ । मेरो यो पुकार कोही सुन्दैन किन ?” हामी महाभारत युगबाट धेरै टाढा आइपुगेका छौँ र पनि वेदव्यासको पुकारले आजसम्म सुन्नेकान पाएको छैन ।लाग्छ, हाम्रो पत्रकारिता क्षत्रमा पनि यो कुरा लागु हुन्छ ,। पत्रकारिताको धर्म देश र जनताको सर्वङ्गीण प्रगतिमा सघाउनु हुनु पथ्र्यो । त्यही भएन ।

देश र जनताको अवस्था परिवर्त जस्तो आकाङ्क्षा बोकेको मिसन पत्रकारिता आज रहेन । व्यावशायिक भनेपछि जुनसुकै व्यशायलाई पनि सघाउने कुरा आयो । कमाउने कुरा आयो । पत्रकारिताको आवरणमा जसरी पनि कमाउने धन्दामा पत्रकारहरु दगुर्न थालेपछि विकृति विसङगतिले उग्र रुप लिँदै गयो । देशी विदेशी दाताको पक्ष्यधरता पत्रकारिताको धर्म बन्यो । विनोद चौधरीले लाखौँ ठगी गरे पनि समाचार बनाउन नसक्ने, इण्डियनहरुले जति बदमासी गरे पनि समाचार बनाउन नसक्ने, इण्डियाले सीमा मिच्दा, भूमि अतिक्रमण गर्दा, सीमामा नेपाली मारिँदा पनि निर्मम आलोचना गर्न नसक्ने, विभिन्न मुलुकमा आफ्ना हतियार विक्रीकालागि लडाइँ मच्चाउँदै हिँड्दा पनि साम्रज्यवादको विरोधमा लेख्न बोल्न नसक्ने, राष्ट्रियता स्वाधीनता, स्वाभिमान केही नचाहिने, घर बनाइदिने प्रेस किनिदिने छोराछोरीलाई छात्रवृत्ति दिएर दिल्लीमा पढाइदिने जस्ता प्रलोभनमा बिक्ने, जर्ज सोरसको डलरमा बिक्ने, युरोपेली यूनियनको प्रलोभनमा बहकिने भएपछि पत्रकारिता भुइँफुट्टा हुँदै गयो । देश र जनताबाट टााढिँदै गयो । शहरकेन्द्रित सत्ताकेन्द्रित, नेताकेन्द्रित, अर्थकेन्द्रित हुँदै गयो ।

हिजो युगान्तरकारी परिवर्तनको मिसन बोकेको थियो । मुलुक र जनताप्रतिको समर्पण भाव थियो । देश जनता जेसुकै होस् मैले कमाउनु पर्छ भन्नेजस्ता आत्मकेन्द्रित सोच सपनामा पनि थिएन । सीमा अतिक्रमण हुँदा जनता सडकमा उत्रन्थे, पत्रकारिता जनताको पछि पछि दगुथ्र्यो । आज सीमामा नागरिक मारिँदा पनि कतै कुनै पदचाप छैन । आवाज छैन । सामूहिक सम्वेदनशीलता मरेजस्तो छ । कतै कुनै हलचल छैन । हिजो निजी स्वार्थ गौण, सामाजिक स्वार्थ प्रमुख थियो । आज राजनीतिले व्यक्तिलाई व्यक्तिगत स्वार्थमा पौडी खेल्न सिकायो । पत्रकारितामा पनि त्यो विकृतिबाट टाढा रहन सकेन । व्यक्तिवाद प्रवल सामाजिकता निर्वल मृतवत् भएको देखिन थाल्यो । राष्टियता, जनजीविकाका विषयमा पत्रकारिताको चासै हरायो । यसरी समग्र मानसिकतामै परिवर्तन आयो । यसैबीच प्रविधिमा पनि अजङ्कै परिवर्तन आयो । सामाजिक सन्जालले पनि पत्रकारितालाई छायामा पार्न भ्यायो । अनलाइनले त अझ सुरसाकै जस्तो सर्वग्रासी मुख बायो ।

यो आजको भुक्तभोगिता हो । यथार्थ हो । मुलुकमा राजनीतिक परिवर्तन आयो । विकासको हल्ला पनि आयो । साना पत्रिका निकन्थे । ठुला निस्के । साप्ताहिक निस्कन्थे । दैनिक निस्के । थोरै सङ्ख्यामा प्रकाशित हुन्थे । धेरै सङ्ख्यामा प्रकाशित हुन थाले । छापावाही मात्र थिए, बिजुलीवाही आए । टेलिभिजन आयो । सन्जाल आयो । जनजीवनमा सही गन्तव्य र प्रप्तव्यका थाहाको व्यापकता आउनुपथ्र्यो । आएन । जनताले टेक्ने, हिँड्ने र माथि उठ्ने विकास आएन । जनआँगनमा सुखसमृद्धिको चहकिलो दिन आएन । किन ? राजनीतिक नेतृत्वको त असफलता हुँदै हो । यो सूचनाको पनि असफलता होइन र ? पत्रकारिताको पनि असफलता होइन र ?
हामी युधिष्ठिरको न्याय भन्छौँ । यसको सार के हो भने कति काम एक्लै नगरिने सहकर्मीहरु चाहिने पनि हुन्छन् । काममा नहुनु पर्ने गल्ती त्रुटि भयो भने टीमको नेतृत्वकर्ताृले त्यसको सर्वाधिक दायित्व वहन गर्नुपर्छ । सवैभन्न्दा जान्नेसुन्नेले सवैभन्दा बढी दण्ड जरिवाना भोग्नुपर्छ । यो प्रकृतिक न्यासिद्धाान्तसँग मिल्दो कुरा पनि हो ।
गल्ती हातले गरोस्, खुट्टाले गरोस् जुनकुनै इन्द्रियले गरोस्, जिम्मेवारी टाउकाको हुन्छ । दण्डनीय टाउको हुन्छ । सत्ताका चार टाउकामध्ये एउटा, त्यो पनि चेतनामय टाउको हो सन्चार । पत्रकार सन्चार चराको पखेटा हो । मुलुकको आजको अधोगतिमा सन्चार टाउको निर्दोष छ भन्न मिल्दैन । पत्रकारिता निर्दोष छ भन्न मिल्दैन । पत्रकारिताले सही उडान भरेको छ भन्न मिल्दैन ।

पत्रकारिताकोे अनुपातमा मुलुकमा देशभक्ति र अग्रगमन चेतनाको विकास नभएकै हो । देश हाम्रो हो, हाम्रो देश हामीले बनाउनु पर्छ, अरुले बनाइदिँदैन भन्ने सोच समझको प्रचार नभएकै हो । मुलुकलाई आफ्नै खुट्टामा उभ्याउने र अगाडि बढउने देशभक्तिपूर्ण आकाङ्क्षाको विकास नभएकै हो । मुलुकको भाग्य भविष्यप्रप्रति आशा भरोसाको विकास मात्र पनि हुन सकेको भए प्रतिदिन नेपाल छाडेर विदेशिनेहरुको लर्को लाग्ने थिएन ।पहिले बस्तीहरुमा अन्नपात जोगाउन मानिसले बाँदर लखेट्थे । अव

गाउँबस्ती पसेर ढेडुहरुले आपूmलाई जोगाउन मानिस लखेट्न थाले । यस्तो किन भयो ?
यस्तो हुनुका चार महत्वपूर्ण कारणमध्येको एउटा कारण विकृतिग्रस्त मिडिया पनि हो । देशनिरपेक्ष्य र जनतानिरपेक्ष्य पत्रकारिता पनि हो । प्रलोभनमा रम्ने र दाताको प्रदक्षिणामा लट्ठ पर्ने पत्रकारिता पनि हो । आज पत्रकारितामा देश देखिँदैन, जनता देखिँदैन,, देश जनताका समस्या के छन् त्यो देखिँदैन, समाधान के हुन सक्छ त्यो पनि देखिँदैन । पत्रकारितामा देशको गुणगान छैन, माटोको महिमागान छैन । अग्रगमनको बाटो कुन हुन सक्छ, त्यसकोे पहिचान छैन । नेताहरुलाई सृजेता बनाउने चासो छैन, नेताहरु माटो र मान्छेका विक्रेता बनेकामा गुनासो पनि छैन । समयमै जनतालाई खबरदारीको तदारुकतासम्म पनि छैन । मुलुकको पत्रकारितामा मुलुकका हितभलाइको नामोनिशान छैन ।

बौद्धिकहरु भन्छन्, पत्रकारिताले व्यावसायिकताको बाटो समातेपछि र कमाउ धन्धामा लागेपछि यसका नसा नसामा जर्ज सारेसहरु पसेका छन् । योरपेली यूनियन पसेको छ । इण्डिया पसेको छ । वैदेशिक दलाली नामको मुलुकमारा भाइरस पसेको छ । भाइरसको प्रवेशले पत्रकारिता आपैmमा दिग्भ्रमित बनेको छ । दिग्भ्रमित हुनुकै परिणाम स्वरुप नेपाली पत्रकारिता नेपालका गाउँबस्ती छिरेन । जनजीवन जनजीविकाका विषयमा कुनै अध्ययन अवलोकन गरेन । किसानहरुसँग भेटेन । खेतबारीका समस्या, सिँचाइका समस्या मलवीजका समस्या बुझ्ने र समाधानका लागि सरकारलाई घचघच्याउने काम नेपालको पत्रकारिताले गरेन । नेपालका विभिन्न सम्भावनाहरुलाई उजागर गरेर मुलुकमा विभिन्न उद्योग कारखानाहरु खोल्ने र युवाहरुलाई रोजगारी उपलब्ध गराउने, मुलुकलाई सम्पन्नतातिर डो¥याउने तर्पm पत्रकारिताले प्रभावकारी भूमिका निर्वहन गर्न सक्थ्यो । गरेन ।

हिमालय बचाउका लागि खेल्न सकिने भूमिका पनि नेपाली पत्रकारिताले खेलेन । नेपालको पानी नेपालमै उपयोग गर्नु पर्छ र बाँकी पानी उचित मूल्य लिएर मात्र बेच्नु पर्छ, सित्तै दिनुहुँदैन भन्ने आवश्यकताको आइना उघारेर सरकारलाई देखाउन नेपाली पत्रकारिताले सकेन । नेपाली धर्मसंस्कृतिको रक्षा, सुधार एवम् विकासमा पनि नेपालको पत्रकारिताले आवश्यक प्रयत्नहरु गरेन । नेपालमा सनातनदेखि रैथाने बनिआएको मेलमिलापको संस्कृति जोगाउने र आपसमा सद्भाव बढाउने प्रयत्न पनि नेपाली पत्रकारिताले गरेन । कस्तो कुरा अगाडि बढाउने कस्ता कुरालाई अगाडि नबढाउने, महत्व नदिने भन्ने जस्ता विषयमा त नेपाली पत्रकारिता लापर्वाह नै बनिआयो । कसबाट कस्तो उत्तर अपेक्षा गर्ने र कस्तो प्रश्न राख्ने भन्ने सम्बन्धमा आवश्यक बौद्धिक र सीपगत विकास पनि व्यावशायिक भनिने नेपाली पत्रकारिताले गरेको देखिएन , झगडाप्रेमी, विखण्डनकारी, अश्लील शब्दका भकारी जोसुकै जस्तासुकै मानिस पनि आफ्नो लागि आर्थिक लाभदायक छ भने त्यस्तालाई अन्तर्वार्तामा प्रश्रय दिइहिँड्ने अनुत्तरदायी प्रवृत्ति अँगाल्यो नेपाली पत्रकारिताले । फलस्वरुप विद्वेष र विखण्डनका पक्षधरहरुले पनि यथेष्ट मात्रामा मिडिया प्रयोग गर्ने अवसर पाए । यी सवै नेपाली पत्रकारिताकामा प्रविष्ट भाइरस हुन् ।

एकाध पत्रिका एवम् मिडिया त्यस भाइरसबाट अद्यावधि बचेका छन् तर तिनको विसतारक्षेत्र थोरै छ भन्ने मलाई लाग्छ । यो आत्मानुभूतिको कुरा हो । पत्रकारितामा जो कमजोर मन मस्तिष्कका छन्, प्रलोभन जित्न सक्दैनन् । जो सत्ता सम्पत्तिमा आशक्त छन् , देशभक्त छैनन् ती सवै भाइरसका प्रियजन बन्न सक्छन् । विगत तीन दशकको नेपाली मिडियामा पसेर हेर्नुपर्छ भाइरसपीडित नेपाली पत्रकारिताको नाजुक अवस्था त्यहाँ स्पष्ट देख्न, बुझ्न सकिन्छ । नेपाली जीवन जगत्को खोइरो खन्ने दलाल मानसिकताको बिस्कुन पनि त्यहाँ छरपस्ट देख्न सकिन्छ ।

नेपालका गाउँबस्ती आज त्यसै त्यसै अप्रत्याशित रुपमा युवाविहीन बनेका छैनन् । खेतबारीहरु त्यसै बाँझिएका छैनन् । ढेडूहरु पसेर मानिस लखेट्ने अवस्था त्यसै अनायास बनेकोे छैन । मुलुकमा मानवतस्करी, यौनव्यापार, त्यसै हल्हली बढेको छैन । विद्यार्थी पलायनको बाढी त्यसै उर्लेको छैन । पसिना र प्रतिभा त्यसै बाहिरिएका छैनन् । आज मुलुक खेती किसानीमा रित्तो, उद्योग व्यापारमा रित्तो । कलकारखाना नहुनुबाट रित्तो । निर्यातमा दरिद्र । आयातमुखी । परनिर्भर अर्थतन्त्रको दास । यो सवै त्यसै रातारात बनेको होइन । शीर्षनेताहरु भ्रष्टाचारका समुद्रमाथि सुरक्षित जहाज लिएर आनन्द विचरण गर्ने लुब्धशीर्ष र निर्लज्ज पाशविक प्राणीमा त्यसै रुपान्तरित बनेका होइनन् । सत्तामा भ्रष्टाचार अन्यायपक्षधरता, अपराधप्रियता त्यसै त्यत्तिकै झाङ्गिएका होइनन् । यी सवै विकृति विसङ्गतिको उत्पादन र अभूतपूर्व विकासमा विगत तीन दशकका पत्रकारिताको पनि प्रकारान्तरले योगदान महान् छ । मुलुकमारा वैदेशिक भाइरसको योगदान महान् छ ।

विगत तीन दशकको नेपाली पत्रकारिताले विदेशपरस्त राजनीतिक नेताहरुको प्रदक्षिणामा धेरै समय गुमायो । ती नेता कहाँ कहाँ कसरी हाँस्छन् ? कसरी बोल्छन् ? जन्मदिनको केक कस्तो बनाएर, कहाँ पुगेर, कसरी काट्छन््, को को भएर ककस्तो अनुहार बनाएर खान्छन् ? कसरी खान्छन् ? मादल कसरी बजाउँछन् ? श्रीमतीसित कसरी ठट्टा गर्छन् ? पत्रकारिताले यस्तै यस्तै निरर्थक कुराको खोजी र बखानमा समय र श्रम लागायो । माफियागिरी र तस्करीका लागि नेताहरुलाई रिझाउन सूचना उद्योगलाई माध्यम बनाउँदै विभिन्न अवतारमा उत्रेका देशी विशेशी मालिकहरुको प्रलोभनमा अल्झेर पनि कति पत्रकाहरुले आफ्नो जानकारी र सिपको दुरुपयोग गरिआयो । पत्रकारिताले राजनीतिक नेताहरुको चाकडीलाई नै व्यवसाय बनायो । कमाउ धन्धामुखी व्यावशायिक पत्रकारिताको वकालतमा रमायो । मिडियामालिक अवतारका विचौलियाहरुको कमाउ व्यवशायमा पत्रकारहरु जागिरे बने र पनि पत्रकारिता डुबाए ।

शीर्षनेताहरु र तिनका आउरेबाउरेहरु सिंहदरबार कसरी पस्छन्, सिंहदरबारको ढोकाबाट कसरी निस्कन्छन्, कसरी गाडी चढ्छन्, कसरी हाँस्छन्, बोल्छन् ? यिनै र यस्तै कुरा छोप्ने दौडधूपमा बिचरो पत्रकारिता कुहिराको काग भएर उड्यो । उड्दा पत्रकारिताले देश देखेन । जनता देखेन । सदनबाट एम०सी०सी० पारित हुन नदिन जनजागरुकताको आवश्यकता देखेन । नागरिकता ऐन बनाएर मुलुकलाई इण्डियाको चरन खर्क बनाउन नदिन प्रभावकारी जन आन्दोलनको आवश्यकता देखेन । नेपाल रित्तिन लागेको देखेन । नेपाली सकिन लागेको देखेन । पैसा पैसा केवल पैसा देख्यो । व्यवसाय देख्यो । शासकीय चेतनालाई भ्रष्ट व्यापारी बन्न नदिनु पत्रकारिताको मुख्य दायित्व हुन्छ, देश र जनताको हित भलोका लागि जागरुकता र सूचनाप्रवाह पत्रकारिताको अग्रगण्य दात्विहुन्छ भन्ने कुरा देखेन । देख्दै देखेन । एकाध अपवाद बाहेक धेरैको पत्रकारिता यात्राले यो देखेन । थोरैको बल पुगेन ।

भनिन्छ, जीवनलाई चेतनाले नेतृत्व गर्छ । काम धन्धाले चेतनाको निर्माण गर्छ । पत्रकारिता त चेतना निर्माणको उद्योग नै हो । शासकीय चेतनाको त अग्रगण्य कारखाना नै हो पत्रकारिता । देश र जनताका प्रगति यात्राको विकसित वाहन हो । सही दिशानिर्देश र पथप्रदर्शनको कम्पास हो । मुलुकको अग्रगतिका यात्रामा पत्रकारिताले वयान गरिनसकिनुको अजङ्को भूमिका निर्वहन गर्न सक्थ्यो । गरेन । मुलुकामा पत्रकारिता छ । अभूतपूर्व विकसित पत्रकारिता छ । यस स्थितिमा मुलुकको शासकीय चेतनालाई यतिसम्म भ्रष्ट र परमुखापेक्षी कल्ले बनायो ?

मिडियाको यत्रो विकास भएर पनि किन आज नेपाली युवा पुस्तामा नेपालको वर्तमान र भाग्यभविष्यमाथि आशा विश्वास छैन ? किन दैनिक हजारौँको सङ्ख्यामा युवायुवति र विद्यार्थीहरुले नेपाल छोडिरहेका छन् ? यसमा नेपालका पत्रकारिताको जिम्मेवारी छैन र ? अपराधबोध साथ सबिती वयान दिन र प्रायश्चित्त गर्न पनि इमानदारी चाहिन्छ । इमानदारी कहाँबाट आयात गर्न सकिएला ? आफ्नो जन्मभूमि र यसका रैथाने बासिन्दाहरुप्रतिको दायित्व, आपैmप्रतिको इमानदारिता कहाँबाट आयात गर्न सकिएला ? विगत तीन दशकको नेपाली पत्रकारितासँग नेपालका हामी सवै भुइँमान्छेहरुको प्रश्न हो यो । तपाइँहरु अभैm पनि नसच्चिने ? आफ्ना विचलित मनमस्तिष्कमा पसेको भाइरस लखेट्न अव पनि देशभक्तिको भ्याक्सिन नलगाउने ? नेपालीहरु नेपालबाट सकिन लाग्दा बाँकी भएकालाई पलायन हुनुबाट रोक्न र गएकालाई फर्काउन पत्रकारिताले अव पनि समवेत पहल नगर्ने ? अत्यावश्यक पहल नगर्ने ? पत्रकारिताले नगरे यी काम अरु कल्ले गर्ने ?

प्रतिक्रिया दिनुहोस्