पुष्कर सर रहुन्जेल ‘कामना’ छाड्न सकिनँ



२०५१ साल पुसमा विद्यालयको हिउँदे बिदा थियो । बाटोमाथि पर्ने घरको कोठाका झ्याल सफा गर्दै थिएँ । सोही बेला नेपाल समाचारपत्रका सम्पादक कपिल काफ्लेलाई दखेँ ।

त्यति बेला कामना न्युज पब्लिकेसन्सले दिउँसो प्रकाशित गर्ने चर्चित ‘महानगर’मा ‘भाषा अनुवादकको आवश्यकता’ भनेर विज्ञापन छापिएको सम्झेँ । कपिल सरलाई आफू पनि सो पदका लागि इच्छुक रहेको बताएँ ।उहाँले तुरुन्त कार्यालयमा आउन भन्नुभयो । अहिले कामनामा दुईवटा भवन छन् । तीमध्ये पुरानो भवन निर्मार्णाधीन अवस्थामा थियो । माथिल्लो तलामै पुगेँ ।

कामना न्युज पब्लिकेसन्सका अध्यक्ष तथा तत्कालीन ‘आजको नेपाल समाचारपत्र’ का प्रधानसम्पादकले हात मिलाएर स्वागत गर्नुभयो । र, अन्तर्राष्ट्रिय समाचार अंग्रेजीबाट नेपालीमा अनुवाद गर्न दिनुभयो । अझै सम्झना छ, त्यो समाचार रुसी राष्ट्रपति बोरिस यल्तसिनका बारेमा थियो । सकेसम्म छिटो समाचार बनाइदिएँ । चुरोट तान्दै राजेश सर गम्भीर मुद्रामा त्यो समाचार हेरेर मुसुक्क हाँस्नुभयो अनि बाहिरिनुभयो । केही समयपछि कपिल सर र उहाँ पुनः आउनुभयो । कपिल सरले आजैदेखि हाजिर भएर काम गर्न भन्नुभयो ।

प्रत्येक साँझ ५ बजे कार्यालयमा पुग्थेँ र ११ देखि ११ः३० बजेसम्म समाचार लेखेर राजेश सरको टेबलमा छाडिदिन्थेँ । राजेश सरले त्यसलाई सम्पादन गरेर कम्प्युटर रुममा पठाउनुहुन्थ्यो । त्यति बेला अन्तर्राष्ट्रिय पृष्ठ हेर्ने मसहित राजेश सर, माधव भारद्वाज, धर्मानन्द अधिकारी, राजु चित्रकारको टिम थियो । तीतामीठा अनुभव सँगाल्दै २८ वर्ष यस संस्थामा काम गरेँ । सेवामा रहँदा तीनपटक मैले लेखेका समाचारका मुठा कसैले नियतवश नै लुकाइदिए या फालिदिएका थिए ।(त्यति बेला कागजमा लेखेर समाचार बुझाउने गरिन्थ्यो ।) एकपटक विद्यालयमा पढाउन जानै लाग्दा राजेश सरले समाचार भेटिएन भनेर फोन गर्नुभयो । त्यो दिन विद्यालयमा बिदा लिएर सोधभर्ना स्वरूप दिनभर बसेर समाचार तयार पारेँ । बाँकी नियमित कार्य त छँदै थियो । ३ हजार ६ सय मासिक तलबमा काम शुरू गरेर २८ वर्षपछि स्वइच्छाले काम छोड्दा मेरो तलब १७ हजार ६ सय थियो ।

काम शुरू गरेको केही दिनपछि पुष्कर सरसँग भ¥याङमा जम्काभेट हुँदा उहाँले मैले लेखेको समाचारको मुठा लिएर हिँड्नुभएको रहेछ । पुष्कर सरले मलाई त्यति बेला काँधमा धाप मार्दै ‘तपाइँले राम्रो समाचार तयार पार्नुहुँदोरहेछ । यति नजिकै भएर पनि किन ढिला यो संस्थामा आएको’ भन्नुभयो । त्यसपछि उहाँले मेरा पिताजी हरिशंकर श्रेष्ठले चार दशकभन्दा लामो समय प्रधानाध्यापकका रूपमा काम गर्नुभएको नेपाल आदर्श माध्यमिक विद्यालय गणबहाल, काठमाडौंको पूर्वविद्यार्थी रहेको भन्दै पिताजीका बारेमा केही नयाँ कुरा बताउनुभयो ।

हाकिमबाटै तारिफ पाएपछि ‘मजस्तो सक्षम र इमानदार यो कार्यालयमा कोही छैन, मबिना यो कामना प्रकाशन नै चल्दैन’ भन्ने सोच पलायो । र, दिन–रात नभनी दत्तचित्त भएर काम गर्न थालेँ । यहाँसम्म कि अंग्रेजी भाषामा आएका समाचारबाहेक अन्य पत्रकार साथीहरूलाई पनि सहयोग गर्दथेँ । रेडियो नेपालका समाचार वाचक शम्भु पोख्रेल पनि कहिलेकाहीँ रेडियोमा जान हतार हुँदा बाँकी काम मलाई छाडेर जानुहुन्थ्यो ।

खेलकुद पृष्ठको संयोजकका रूपमा पनि काम गरेँ । अन्य दुई जना साथी रिपोर्टिङमा जानुहुन्थ्यो । म खेलकुद गतिविधिको अनुवाद गर्थें । प्रत्यक्ष जनसम्पर्कका कारण पनि ती साथीहरू अन्तर्राष्ट्रिय भ्रमणमा गइरहन्थे । एकपटक पुष्कर सर आफैंले खेलकुद पत्रकार कृष्णहरि नेपाल (हाल अमेरिका) मार्फत मलाई पाल्पामा हुनलागेको खेलकुद कार्यक्रममा भए पनि गएर रिफ्रेस हुन भन्नुभयो । तर, कुनै कारणवश गइनँ ।

अचानक कामना न्युज पब्लिकेसन्सबाटै प्रकाशित हुने अत्यधिक लोकप्रिय ‘साधना’ हेल्थ मासिकमा पनि सह–सम्पादकका रूपमा काम गरेँ । एक दशकभन्दा बढी साधनामा काम गर्दा पनि छुट्टै पारिश्रमिक लिइनँ । स्वयंसेवका रूपमा ‘कामना’ सिने मासिकमा पनि लख्ने गर्दथेँ । कुशल गौतम कामनाको सम्पादक भएपछि भने लेखबाट केही पारिश्रमिक पाउन थालेँ । यसका अलावा नियमित रूपमा विभिन्न राष्ट्रको स्वाधीनता दिवसका दिन प्राप्त हुने विज्ञापनका फुल पेज नेपालीमा अनुवाद गर्दथेँ ।

अंग्रेजीमा आउने विज्ञापन नेपालीमा अनुवाद गर्ने जिम्मा पनि मलाई नै दिइएको थियो । यस्ता थप जिम्मेवारीबापत थप पारिश्रमिक भने पाइन्नथ्यो ।‘सौगात’ साप्ताहिक विशेषांकका लागि पनि आधा पेज जति निःशुल्क रूपमा लेखेँ । तर, पटक–पटक तलब बढाइने क्रममा मेरो पारिश्रमिक भने नगन्यरूपमा बढाइन्थ्यो । तलब बढाउने बैठकमा भने मलाई पार्टटाइमर र ३÷४ घण्टामा पेज भरेर जाने सूचीमा राखेको भनेको पनि सुनेँ । यो त क्षमता र अनुभवको कुरा पनि हो, मैले एक पृष्ठका लागि३÷४ घण्टामा भर्दा अरूलाई त्यही काम गर्न दुई दिन पनि लाग्न सक्ला । पारिश्रमिककै कुरा गर्ने हो भने १५ वर्ष सेवा गरिसकेको र नयाँ मान्छेलाई लैजाँदा पनि उनको र मेरो तलब ६÷७ सयको मात्रै फरक थियो । कतिपय नवप्रवेशीको पनि मेरोभन्दा ६÷७ हजार नै बढी तलब थियो ।

बिहान हाजिर गरेर दिनभर हराउने र साँझ हामीभन्दा ढिलो आएर विज्ञप्तिबाटै सानो समाचार बनाउने तथा आज मेरो कुनै समाचार छैन भनेर हिँड्नेको उपाधि ‘फुलटाइमर’ थियो । बजारमा नयाँ अखबार तथा टेलिभिजन च्यानल आउँदा कामको अफर नआएको पनि होइन । तर, पुष्कर सरको अनुहार हेरेर गइनँ । उहाँले ‘म मरेपछि मात्रै यो संस्था छोड्नू’ भन्नुहुन्थ्यो । यथार्थमा भयो पनि यस्तै ।

इमेज च्यानलमा भरत शाक्यले अंग्रेजी समाचार वाचकका लागि अडिसनसमेत लिनुभएको थियो । तर, पुष्कर सरकै अनुहार हेरेर गइनँ । त्यस पदमा मेरो भाइ डा. शंकर श्रेष्ठलाई पठाएँ ।हाल अमेरिकामा रहेको उसले १ वर्ष त्यहाँ काम गरेको थियो ।

पुष्कर सरले साह्रै मायाँ गर्नुहुन्थ्यो । कतै विदेश भ्रमणमा निस्कनुअघि ‘ल है अब तपाईंको जिम्मा’ भन्नुहुन्थ्यो । फर्कंदा सधैं केही न केही उपहार ल्याइदिनुहुन्थ्यो । एकपटक उहाँलाई अंग्रेजी सिक्ने रहर भयो । माहिलो छोरा रकिनलाई भारतको पुनामा जाँदा पुष्कर सरलाई भाषाका कारण अप्ठ्यारो परेछ । त्यसैले उहाँ मसँग अंग्रेजी सिक्न करिब एक महिना आउनुभयो । तर, यही संस्थामा काम गर्ने एक जनाले मेरो घरमै आएर तपाईंकहाँ सर सधैं किन आउनुहुन्छ भनी सोधेका थिए । त्यसपछि उहाँ पढ्न आउन छाड्नुभएको हो । सायद उनले नै आफ्नै कार्यालयमा काम गर्नेसँग नपढ्न सुझाएका थिए होला । यस्ता कुरामा उनी अलि बेसी नै चियोचर्चा गर्दथे ।

त्यसपछि उहाँले केही समय रकिन र अनुजलाई मकहाँ अंग्रेजी पढाउन पठाउनुभयो । त्यो अध्यापन पनि स्वयंसेवा नै थियो । पुष्कर सरले संस्थाका साथै घरायसी कुरा पनि मसँग भन्नुहुन्थ्यो । एकपटक इजरायली स्वाधीनता दिवसका दिन सर र म हायात होटमा जानुपर्ने भयो । त्यो दिन पुष्कर सरले राजा ज्ञानेन्द्रलाई दरबारमा भेटेर आउनुभएको रहेछ । अफिसमा दौरासुरुवाल फेरेपछि उहाँकै कारमा हामी होटलतर्फ लाग्यौं । कारमै उहाँले डा. सुन्दरमणि दीक्षितसँग राजासँगको भेटवार्ताका बारे ब्रिफिङ गर्नुभयो । सो कुरा सुनेर उहाँ पत्रकारिताको दिग्गज व्यक्ति मात्र नभएर राष्ट्रकै एक शुभचिन्तक भएको मैले ठम्याएँ ।

सायद १९९८ को विश्वकपमा होला ‘साधना’ विशेषांक निकाल्ने निर्णय भयो । त्यसमा करिब ७५ प्रतिशतभनदा बढी लेख मैले नै तयार पारेको थिएँ । त्यति बेला पुष्कर सर र मैले संयुक्तरूपमा फिफाका महासचिव हाभेलान्जेसँग अन्तर्वार्ता लिएका थियौं । बजारमा सो अंक अभाव भएपछि पुनः रिप्रिन्ट गरिएको थियो । त्यस बेला हामी सबै खेलकुद पत्रकारले ३÷३ हजार रुपियाँ अतिरिक्त पाएका थियौं ।

एकदिन पुष्कर सर खुसी हुँदै ‘मैले तपाईंलाई केही सहयोग गर्नुपर्छ भने भन्नुस्’ भन्नुभयो । म गीत–संगीतको पारखी थिएँ । त्यति बेलासम्म मैले ३०-४० वटा गीत रेकर्ड गराइसकेको थिएँ । मेलोडी किंग शम्भुजित बाँस्कोटाबाट मेरा केही गीत कम्पोज होस् भन्ने मेरो चाहना थियो । मैले उहाँलाई यही इच्छा दर्शाएँ । कही दिनपछि नै एक साँझ हामी तीन जनाको दरबारमार्गस्थित ‘साइनो’ रेस्टुरेन्टमा भेटघाट भयो । बाँस्कोटा सरलाई मेले केही गीत दिएँ । त्यस बेला उहाँ र मैले कोन्याक खायौं भने पुष्कर सरले बियर । बिल ८-१० हजारको निस्किएको थियो । सबै पुष्कर सरले तिर्नुभयो ।
प्रज्ञा प्रतिष्ठानमा कार्यरत बाँस्कोटाले एकदिन मैले दिएका गीतमध्ये केहीको संक्षिप्त संगीत बनिसकेको सुनाउनुभयो । ‘धेरै–धेरै धन्यवाद ।ती गीत नाम चलेका गायक–गयिकालाई गाउन दिन्छु । मेरो पारिश्रमिक पनि छुट्याउनुहोला’ भनेँ । त्यसपछि आजसम्म उहाँसँग सम्पर्क भएको छैन । सायद बाँस्कोटाले सबै खर्च मैले नै व्यहोर्ने सोच्नुभएको थियो होला । तर, मचाहिँ अहिले पनि मागबमोजिमको पारिश्रमिक लिएर गीतहरू अरूलाई दिँदै आएको छु ।

कामको सिलसिलामा जापान, दक्षिण कोरियाका राजदूतलगायतका सँग अन्तर्वार्ता लिएँ ।श्रीलंकाका राष्ट्रपति चन्द्रिका कुमारातुंगादेखि अनेकन उच्चपदस्थ अन्तर्राष्ट्रियस्तरका व्यक्तित्वहरूसँग साक्षात्कार गर्ने मौका पनि पाएँ । तर, पुष्कर सरको निधनपछि कुनै बहाना पारेर संस्था छाड्ने मनस्थिति बनाएको थिएँ, त्यो पूरा पनि गरेँ । त्यसपछि बाह्रखरी डटकममा झन्डै डेढ वर्ष अन्तर्राष्ट्रिय पृष्ठका लागि घरैबाट काम गरेँ । सम्भवतः देशभरिकै सञ्चार गृह कामना पब्लिकेसन्समा काम गरेर गएकाले सञ्चालन गरिरहेका छन् । तर, पनि कामनाले भने अपेक्षित प्रगति हासिल गर्न सकेको छैन ।यसका लागि व्यवस्थापकको व्यावसायिक र मूल्यांकनमा रहेका कमजोरी हो भन्ने मेरो ठम्याइ छ ।

पुष्कर सरका बारेमा मात्रै लख्ने हो भने पनि एउटा पुस्तक नै तयार हुन्छ होला । तर, मैले कसैलाई नभनेको उहाँले अरूलाई भनेको एउटा कुराले भने मन फुरुंग हुन्छ । २०५३ वा ०५४ सालको दशैंमा हो, दशैं खर्च नदिए टाइप नै गर्दिनँ भनेर केही साथीहरू बसेका थिए । पुष्कर सरको अनुहारमा रिस प्रस्टै देखिन्थ्यो । मैले काम गरिरहेको स्थानमा आएर उहाँले ‘ओमजी, तपाईंले पनि पैसा पाउनुभएको छैन, तपाईं पनि काम नगर्ने हो कि ?’ भनेर ठूलो स्वरमा प्रश्न गर्नुभयो ।

सरको अनुहारमा विवशता पनि झल्किएको थियो ।‘ठीक छ सर, म काम गर्छु’, जवाफमा मैले भनेँ– ‘मसँग अत्यावश्यक कामका लागि राखेको ५० हजार रुपियाँ छ । बरु सरलाई आवश्यक छ भने ल्याइदिन्छु ।’त्यसपछि उहाँ मुसुक्क हाँस्नुभयो र सदा झैँ काँधमा ढाप मारेर ‘भो पर्दैन, म आफैं अन्यत्रबाट व्यवस्था गर्छु’ भन्नुभयो ।त्यहाँबाट जाँदा सरको आँखाका आँसु भरिएको थियो । त्यसमा मैले मप्रति माया, स्नेह र विश्वास पाएँ ।

अहिले पुष्कर सरको सुपुत्र दिरेकलालले संस्था हाँकिरहनुभएको छ । उहाँमा पनि छुट्टै पहिचान, क्षमता र अनुभव भएको पाएको छु । यदि आफ्ना श्रद्धेय पितामा रहेका गुणलाई पहिचान गरी संस्थाका सच्चा शुभचिन्तकलाई प्रोत्साहन गरेर अघि बढेमा देशकै एक नम्बरको सञ्चार संस्था हुनमा समय लाग्दैन । यस संथाप्रति मेरो सदाशयता भने रहिरहने छ । कामना न्युज पब्लिकेसन्सलाई ४०औं वर्षमा प्रवेश गरेकोमा मंगलमय शुभकामना व्यक्त गर्दै अनन्त जीवनको कामना गर्दछु ।

प्रतिक्रिया दिनुहोस्