बेगमको हत्या: भारतीय माफियाहरूको भयानक षड्यन्त्र



असार १५ गते बेलुकी काठमाडौं महानगरपालिका वडा नं. ७ सिफल चौरनजिकैको पानी ट्याङ्कीको ओरालोमा अघिअघि सेतो र पछिपछि खरानी रंगको कार गुडिरहेका थिए । त्यसबेला अचानक गोली चलेको आवाजले त्यस क्षेत्रका मानिसहरू भयभीत बन्न पुगे ।

विश्वकप हेर्ने युवाहरूले जर्मनले जितेको खुशियालीमा पटका पड्काएका होलान् भनेर उक्त आवाजप्रति धेरैले चासो नदेखाए पनि केही मानिसहरूले कान ठाडो बनाए । तर, लोडसेडिङको कारण कहाँ के भइरहेको थियो ठम्याउन भने सकिरहेका थिएनन् । गोली चलेको आवाज आएको लगत्तै बत्ती आयो । कोही मानिस दौडँदै गर्दा भुइँमा लड्न पुग्यो ।

‘जय मातादी’

खरानी रंगको गाडी चढेर ३–४ जना व्यक्ति भागिसकेका थिए । पार्क गरेर राखिएको गाडीको वाइपर चलिरहेको र हेडलाइट बलिरहेको थियो । त्यसैबेला केही मान्छे आएर हेर्दा भुइँमा रगताम्य भएर लडेका व्यक्ति राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा सांसद मिर्जा दिलसाद बेग र गाडीभित्र उनका ड्राइभर भुवन कार्कीको निर्जीव शरीर मात्र बाँकी रहेको थियो ।

सांसद मिर्जा दिलसाद बेगको वा.अ.ञ ७६५९ नम्बरको सेतो रंगको टोयोटा कोरला कार घटनास्थलमा पार्क भएको, कार न्यूटल गियरमा रही इन्जिन तथा वाइपर चालु अवस्थामा नै रहेको थियो । ड्राइभरको दायाँपट्टिको ढोका खुला रहेको थियो । चालक भुवन कार्की ड्राइभिङ सिटमा मृत अवस्थामा रहेका थिए भने सो कारभन्दा पश्चिम अन्दाजी ५६ फिटको दूरीमा पिच सडकको बायाँपट्टि किनारामा घोप्टो परी रगताम्य अवस्थामा सांसद बेगको मृत शरीर रहेको थियो । कारको अगाडि दायाँपट्टि तथा कार र सांसद बेगको लास बीच यत्रतत्र गोलीका खोकाहरू छरिएर रहेका थिए ।

उक्त घटनाको खबर प्राप्त हुनासाथ घटनास्थलमा खटिएका प्रहरीले उक्त हत्या काण्डको बारेमा मुचुल्का तयार पारी अनुसन्धान शुरू गरे । प्रहरीले त्यही रात उपत्यका बाहिर जाने पुरै नाकाबन्द गरी होटल तथा लजहरू छापा मार्ने काम गरे पनि हत्याराको सुइँको समेत मिलिरहेको थिएन । घटनास्थलबाट प्रहरीले बरामद गरेको गोली तथा अन्य सामान हेर्दा सांसद बेगको हत्या सामान्य अपराधीले गरेको नभई ठुलै अपराधी गिरोहले गरेको र बरामद गरिएको गोलीको खोका ९ एम.एम. र ७६३ एम.एम. भएको र त्यहाँ प्रहार गरिएको २२ वटा गोली २ वटा स्वचालित पेस्तोलबाट भएको हुनुपर्ने आशंका प्रहरीले गरेको थियो ।

प्रहरीलाई उक्त घटनाको बारेमा प्रत्यक्षदर्शीहरूले सांसद बेगको मुखबाट ‘जय मातादी’भन्ने वाक्यांश उच्चारण गरेको भनी बताएपछि प्रहरीले उक्त वाक्यांश भारतको केरला र बम्बईतिर मात्र बोलिने गरेकाले उहाँको हत्या भारतीय पेशेवर अपराधीले गरेको हुनु पर्दछ भनी अनुसन्धानको दायरालाई अझै सानो बनाउँदै लग्यो । बेगको जन्म भारतको उत्तर प्रदेश राज्यको गोरखपुर नजिकै देवरिया भन्ने ठाउँमा भएको थियो । सानै उमेरदेखि चोरी, डकैतीजस्ता कार्यमा संलग्न रहेका बेगले लामो समय बम्बई जेलमा बिताएका थिए । उनी जेल परेको कुरा घरमा थाहा पाएपछि उनलाई बहिष्कृत गरियो । जेलबाट छुटेपछि उनी एक जना नेपालीका साथ नेपाल–भारत सिमाना कृष्णनगरमा आएर बसोबास गर्न थाले । उनी नेपालमा विद्युतीय सामान, डलर, गाडी, लागू औषधको व्यापार गर्न थाले ।

उनले तस्करीसँगै राजनीतिलाई पनि अगाडि बढाए । नेपालका केही शासक– प्रशासकहरूले मिर्जाको तस्करीबाट ठूलो रकम हात लगाएका थिए भने केही मान्छेले धम्क्याउने गरेका कारण त्यस्ताको अगाडि ठूलो हुनको लागि उनले राजनीति शुरू गरेका थिए । शुरूमा नेपाली कांग्रेसको नेता बन्ने सुरमा भए पनि उनलाई कांग्रेसले टिकट नदिएपछि सद्भावना पार्टीबाट सांसद बनेका थिए । तर केही समयपछि नै राप्रपामा प्रवेश गरी सो पार्टीबाट सांसदमा निर्वाचित समेत भए । उनी राप्रपाको सांसद भए पनि नेपाली कांग्रेसका सांसद तथा हालका अर्थ राज्यमन्त्री दीपकुमार उपाध्यायले उनलाई ठूलो संरक्षण दिएर राखेका थिए ।

सांसद हुनुभन्दा अगाडि र पछाडि पनि उनले आफ्नो तस्करी पेसालाई जारी राखेका थिए । उनले भारतबाट चोरीको गाडी नेपाल ल्याउने, लागू औषधको व्यापार गर्ने, अन्तर्राष्ट्रिय आतंकवादी क्रियाकलापमा संलग्न हुने, विभिन्न ठाउँमा ठूला व्यक्तिहरूलाई अपहरण गर्ने कार्यमा संलग्न रहँदा रहँदै विक्की श्रीवास्तवसँग मिलेर सन् १९९३ को बम्बई बम काण्ड, गोरखपुरमा भएको २ करोड २० लाखको चोरी, गोरखपुरकै १ करोड २५ लाखको अपहरण जस्ता काण्डमा सांसद बेग संलग्न भएको निष्कर्ष भारतीय प्रहरीले निकालेको थियो ।

यी कार्यमा उनले विक्की श्रीवास्तव, मग्गा सरदार र अरुणकुमार अग्रवालजस्ता व्यक्तिहरूको सहयोग तथा दाउद र सदाशिव निखल्जे (छोटा राजन) को निर्देशन प्राप्त गर्दै आएका थिए । तर, विभिन्न ठाउँमा मान्छे अपहरण गर्दा प्राप्त भएको पैसाको हिस्सा लिन छोटे राजनले आफ्नो विश्वासी विक्की श्रीवास्तवलाई मिर्जा कहाँ पठाउँदा मिर्जाले दाउद इब्राहिमलाई सिंगापुर फोन गरी विक्कीलाई मार्ने योजना सुनाए । योजना मुताविक कृष्णनगरमा २०५४ असार १५ गते विक्कीको हत्या गरेपछि छोटे राजन दाउदसँग रिसले आगो भयो । आफू समेतको मिलेमतोमा विभिन्न ठाउँमा गरेको आक्रमणबाट लुटेको पैसा नदिएपछि राजनले मिर्जाको हत्याको योजना बनाउन शुरू गर्यो । यता, पहिला हरेक आपराधिक क्रियाकलापमा संलग्न रहँदै आएका यी अपराधीहरूबीच फाटो आएपछि एकअर्काले दोष लगाउने र प्रहरीलाई खबर गरी पक्राउ गर्न लगाउने समेत गर्न थालेका थिए ।
बेगको हत्या गर्ने योजना
बेगको हत्या गर्ने परिस्थिति सिर्जना हुनुमा विविध पक्ष रहेका छन् । सन् १९९७ अगस्त २९ मा कपिलवस्तुको सिमानामा हत्या गरिएका विक्की, बब्लु श्रीवास्तवको मतियार बब्लुको आपराधिक क्रियाकलापबाट आजित थिए। विक्कीको हत्या हुनुअगाडि नै मिर्जा र बब्लुको अपराधिक क्रियाकलापबाट आर्जित पैसा भागबण्डा नमिलेको कारण चिसोपन आएको थियो । त्यही समयमा नै विक्कीको हत्या भएकाले उक्त हत्या मिर्जाले गराएको भन्ने विश्वास गरी बेगसँग उक्त हत्याको बदलालिने सुरमा बब्लु पुगेको थियो । बब्लुले छोटे राजनको इशारामा आफ्ना मान्छेलाई मिर्जाको विश्वासपात्र बनाउँदै हत्याको योजना तयार पारेको थियो ।

मिर्जाको हत्यामा संलग्न भनी प्रहरीले दिल्लीबाट पक्राउ गरी ल्याइएका सफिक मोहम्मद खानले प्रहरीलाई दिएको बयान अनुसार बेगको हत्या गर्ने योजना गत मे १८–१९ तिर बम्बईमा तय भएको थियो । सन् १९९३ को बम्बई बम काण्डका नाइके छोटा राजनको महत्वपूर्ण सदस्य ओपी सिंह र सफिकको भेटघाटबाट बेगलाई मार्ने योजना बन्यो । बेगको हत्या गर्ने कार्यमा सन्देश शर्मा भन्ने रोहित वर्मा, राज भन्ने राजेन्द्रकुमार शर्मा र करण सिंह भन्ने मग्गा सरदार मुख्य रूपमा छनौट भएका थिए ।

बेगको हत्या सके कृष्णनगरमा गर्ने नसके काठमाडौंमा नै गर्ने योजना तय भएको थियो । बम्बईमा आवश्यक छलफल भएपछि मोहमद सफी जुन १ मा जहाजबाट काठमाडौं आई जुन २ मा कृष्णनगर गएका थिए । हत्यामा संलग्न भएको भनिएका .व्यक्तिहरू कृष्णनगरमा बस्नको लागि एउटा घर खोज्न ५० हजार पेश्की लिई आएका थिए, यसै क्रममा ती व्यक्तिहरू गत असार ८ गते कृष्णनगरसँग सीमा जोडिएको भारतको बढनी भन्ने स्थानमा आइपुगे । बम्बई जेलमा फोन सुविधासहित रहेका बब्लु श्रीवास्तवले फोनद्वारा सफिकलाई खबर गरेपछि सफिक बढनीतर्फ गई ती व्यक्तिहरूसँग भेटघाट र कुराकानी गर्यो । मारूती कार र टाटा सुमो २ वटा गाडी तिनीहरूले प्रयोगमा ल्याए । हत्यामा प्रयोग गरिने हतियार पनि तिनीहरूले गाडीमा फिट गरेर ल्याएका थिए । ती व्यक्तिहरू हतियार भएको गाडी बढनीमा नै छोडी रिक्सा चढेर सोही दिन कृष्णनगरको बुद्ध लजमा गएर बसे ।

यता संसद् चालु हुने बेला भएकोले जिल्ला भ्रमणमा गएका मिर्जा दिलसाद बेगको हत्या गर्ने योजना तयार गर्दा गर्दै अनुकूल स्थान नमिलेपछि २ दिनसम्म त्यहाँ बसी काठमाडौं जाने योजना ती व्यक्तिले सफिकलाई बताए । असार ११ गते ती व्यक्तिहरू चढी आई बढनीमा छोडेको हतियारयुक्त मारूती कारलाई कृष्णनगर ल्याई सोही दिन साँझमा राजु र लल्ला भन्ने व्यक्तिलाई लिई सफिक स्वयंले गाडी चलाई काठमाडौंतर्फ आए, बाँकी व्यक्तिहरू अर्को गाडीबाट आए । सफिकले चलाई ल्याएको मारूती गाडीलाई थानकोटस्थित सुरक्षा चौकीले कागजपत्रको शिलशिलामा पक्राउ गरी १२ गते उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बुझाएको थियो ।

गाडीलाई उपत्यका ट्राफिक प्रहरी कार्यालयले पक्राउ गरेपछि सफिकलगायत २ जना सुन्धाराको प्रिया गेस्ट हाउसमा बसेका थिए । गेस्ट हाउसबाट बेलुकी सफिकले बब्लु श्रीवास्तवलाई फोन गरेपछि बब्लुले उक्त गेस्ट हाउसको टेलिफोन नम्बर लिई केहीछिन पछि करण सिंह भन्ने मग्गा सरदारले टेलिफोनमा सफिकसँग सम्पर्क गर्ने जानकारी गराउनुका साथै पक्राउमा परेको उक्त मारूती गाडी समेत निज मग्गा सरदारले छुटाउने व्यवस्था मिलाएको कुरा बताएको थियो ।

पक्राउ परेको मारूती गाडी ट्राफिक कार्यालयले असार १४ गते छोडिदिएको थियो । सो मारूती गाडी प्रहरीले छोडिदिएपछि सफिकले सुन्धारास्थित प्रिया गेस्ट हाउसमा लग्यो । केही समयपछि ठमेल स्थित टंकी होटलमा लगी सोही होटलमा बसेका जुवेरलाई जिम्मालगाई गाडीमा लुकाएको हतियार कसरी झिक्ने भनी सफिकसँग सल्लाह हुँदाहुँदै केही बेरपछि करण सिंह भन्ने मग्गा सरदार आएपछि जुवेर र मग्गाको आपसी सल्लाहपछि उक्त हतियार होटलमा राख्दा प्रहरीले पक्राउ गर्ने भएकाले गाडीबाट हतियार झिकी अन्यत्र राख्न गएका थिए।सफिकको बम्बई अदालतमा चलिरहेको चरेशसम्बन्धी मुद्दाको तारिक ३० जुनमा थियो ।

आफ्नो मुद्दा बारेमा असार १४ गते जुवेरलाई बताई केही रकममाग गर्दा जुवेरले सफिकलाई १० हजार दिँदै हिन्दीमा ‘तुमतो अपना चेहरा ऐसे लटकाय बैठे हो जैसे हम सबको अभी मरवाओगे’ भनीगाली गरेको थियो । पूर्व योजनाअनुसार बेगको हत्या गर्न जुवेरको साथै मग्गासमेत दुई जना गरी संलग्न हुने योजना तय भएपछि असार १५ गते सफिक शाही नेपाल वायुसेवा निगमको जहाजबाट २ बजे बम्बई गयो । सफिक बम्बईमा रहेकै बेलामा बेगको हत्या भइसकेको थियो । बेगको हत्या भइसकेपछि ओपी सिंहसँग सम्पर्क गरी पूर्व निर्धारित सर्त बमोजिम रकम माग गर्दा ओपी सिंहले सफिकलाई गाली गरी २५ हजार मात्र दियो ।

आफूले पाएको पैसामध्ये सफिकले ५० हजार आफ्नो मुद्दा हेर्ने वकिललाई दिएको र बाँकी पैसा उसले आफ्नै साथमा लिई बसिरहेको बेला नेपाल प्रहरीको पुष्कर रेग्मी र लव विष्टको टोलीले बम्बईमा पक्राउ गरी नेपाल ल्याउन सफल भएको थियो । घटनापश्चात् हत्यारा खोजी गर्ने क्रममा काठमाडौंको होटल,लज छापा मार्ने कार्य जारी रहेको बेलामा ठमेल स्थित होटल टंकीमा हत्याराहरू बसेको सो होटलको कोठा नं. १०१, १०५ र १०८ मा भारतीय मूलका जुवेरसमेतका ७ जना भारतीय महेन्द्रा जिपमा आई असार १५ गतेदेखि बसेका र उनीहरू आएको गाडी बिग्रिएकोले मर्मत गर्न होटल मालिकको सल्लाहअनुसार त्रिशक्ति मोटर ग्यारेजमा मर्मत गरेको भन्ने सुराक प्राप्त भई प्रहरीले मोटर ग्यारेजमा भारतीय नम्बर प्लेटको डी.एल. ९ सी.ए. १३४३ को गाडी बरामद ग¥यो ।

उक्त गाडी नेपालमा कहिले आयो भन्ने जाँच गर्ने क्रममा थानकोट चेक पोस्टमा हेर्दा सो गाडी असार १४ गते २ः३० बजे सुरेन्द्र भण्डारीले ल्याएको र उसको अनुमतिपत्र म.अ. १८६० भएको समेत प्रहरीले फेला पार्यो । सी.एचओ.आई.टी. ५९९९ लु.अ. अ ४१० र चालकको नाम राकेश लेखिएको भए तापनि सवारी चालक अनुमतिपत्र नं. ४०३८ र वाहक मोहमद सफिक खानले ल्याएको कुरा पनि प्रहरीले पत्ता लगाएको थियो ।

यसपछि प्रहरीलाई अनुसन्धान गर्न सर्त झनै सजिलो भयो । जुवेरसँग आएका व्यक्तिहरू सिंहले होटल टंकीमा रहँदा सधैं मोजमस्ती गर्ने, गरेको थियो । प्रत्येक रात फेरि फेरि केटी राख्ने गर्थे । होटल हजार टंकीसँगै रहेको माउन्टेन बुक स्टोरको टेलिफोनबाट जुवेरले आफैं डायल गर्ने रहेको गर्दथ्यो र उसले गरेको फोन कसैले नबुझोस् भनेर भारतको प्रान्तीय भाषा प्रयोग गर्ने गर्दथ्यो । जुवेर उक्त होटलमा ३ दिन बस्दा उक्त स्टोरबाट बब्लु श्रीवास्तवले प्रयोग गर्ने गर्ने मोबाइल फोन नं. ००९१९८३९०५४५०५ र राजेन्द्र सदाशिव निखल्जी (छोटे राजन) लाई मलेसियामा ००६०१२३८२५५९० डायल गथ्यो । श्रीवास्तव पटक पटक फोनमा बब्लु र छोटे राजनसँग यहाँ भइरहेको प्रगतिको का बारेमा जानकारी गराउने गर्दथ्यो । जुवेरले – तीन दिनमा उक्त टेलिफोन वाला व्यक्तिलाई १३ हजार भारू बुझाएको थियो ।

जुवेर खान यसभन्दा अगाडि पनि सोही होटलमा पटक पटक आउने गरेको थियो । पहिलो पटक सो होटलमा आउँदा काठमाडौं नक्साल बस्ने पूर्व परिचित साथी फहिमको साथमा आएको र प्रत्येक पटक जुवेर उक्त होटलमा आउँदा निजको साथमा नेपाली मूलका व्यक्ति सुरेन्द्र भण्डारी पनि साथै रहने गर्थे । उनले आफूलाई नेपाल प्रहरीको पूर्व प्रहरी सहायक निरीक्षक र फुटबल खेलाडी बताएका थिए ।

फहिमले प्रहरीलाई बतायो– ‘घर भाडामा खोज्ने काम मैले गर्दथें । निजहरू मध्ये रोहित वर्माले केही महिनापश्चात् काठमाडौं रातोपुल बस्ने पुष्पराज गौतमकी छोरीसँग विवाह गरी निज रोहित र राज सपरिवार यज्ञप्रसाद श्रेष्ठको घर भाडामा लिई बस्ने गरेका थिए । निजहरू स्थायी रूपले एउटै घरमा नबसी वर्षमा ३–४ वटा घरमा सरी बस्ने गरेको र उनीहरू आपराधिक क्रियाकलापमा संलग्न भएका थिए । यी व्यक्तिहरू दाउद इब्राहिम र छोटे राजनबाट परिचालित भई नेपालस्थित माफिया गिरोहका सक्रिय सदस्य छोटे राजन समूहसँग आबद्ध रही काम गर्ने गर्दथे ।’

पक्राउ परेका चालक पूर्व प्रहरी सुरेन्द्र भण्डारी भन्छनः– ‘कृष्णनगर कपिलवस्तुबाट जुवेरले ९ हजार गाडी भाडामा दिई गाडी ल्याउनु भनी मेरो फोन नम्बर ०९९२२५५० मा सम्पर्क गरेको अवस्थामा असार ११ गते उनीहरू ४ जना आफू स्वयं र गाडी चालक काठमाडौं आइपुगी १२ गते प्रिया गेस्ट हाउसमा पुग्दा सफिक महमद खान, राज र अर्को एक व्यक्ति भेट भएपछि मैले नबुझ्ने भाषमा कुरा गरे । त्यस मध्येको एक व्यक्तिलाई लिई होटल टंकीतर्फ गइसकेका थिए । जुवेरले उक्त होटलमा ३ दिन बस्दा पटक पटक बब्लु र छोटा राजनलाई फोन सम्पर्क गर्ने गरेका थिए ।’

सुरेन्द्र भण्डारीले अगाडि बताए– ‘बेगको हत्या गर्ने योजना मुताविक असार १४ गते बेलुकी डी.सी. ९ सी.ए १३४३ नम्बरको महिन्द्रा जीप तथा एच. सी. ओ. आई.टी. ५९९९ (लु.अ.अ ४१०) को मारूती कारमा अग्लो, तालु खुइलिएको अजय, मोहन चन्द र म गरी ४ जना काठमाडौंबाट फिर्ता गई १५ गते महेन्द्रनगर पुग्यौं । भोलिपल्ट र मुन्ना महेन्द्रनगरमा आई सी. एच.ओ.आई.टी. १६ गते अजय ५९९९ नम्बरको मारूती कार भारततर्फ लागेपछि सोहीदिन दिउँसो भारत, टनकपुर बस्ने शेरा भन्ने शेर सिंह महेन्द्रनगरमा आई सोही मारूती कार भारततर्फ लगेका थिए भने १८ गते जुवेरले काठमाडौंस्थित पुष्पराज गौतमको घरबाट महेन्द्रनगर फोन गरी सुरेन्द्रलाई काठमाडौं बोलाएको थियो ।

तर, मैले फुर्सद नभएको बताएपछि आधा घण्टापछि पुष्पराज गौतमले मलाई फोन गरी हाल काठमाडौंमा प्रहरीले भारतीय मूलका व्यक्तिहरूलाई निगरानी राखेको कारण जुवेरलाई तत्कालै काठमाडौं छोडाउनु पर्ने भयो । प्रहरीले व्यापक धरपकड गरेकोले जुवेर धेरै डरायो । जसरी भए पनि लैजान अनुरोध गरेपछि म १८ गते बसबाट काठमाडौं आई असार १९ गते ममता भिडियो कोचको बसबाट महेन्द्रनगर पु¥याई भारत पठाउन सफलभएको थिएँ ।’

उनकोे बयान अनुसार बेगमको हत्या गर्न र गराउन प्रत्यक्ष रूपले संलग्न रहेको प्रष्ट हुन्छ । हत्या गर्न सघाउने अर्का व्यक्ति पुष्पराज गौतमलाई जानकारी लिनखोज्दा उनले भने– ‘मिर्जाको हत्या गर्न म लगायतमाथि उल्लेखित व्यक्तिहरूले सल्लाह गरेका थियौं । योजना अनुसार बेगको हत्या गर्न भएपछि भोलिपल्ट १६ गते मेरो छोरा सतिस गौतमले जुवेर र निजका सहयोगी राजभन्ने व्यक्तिलाई मेरो घरमा लगेर राखेको थियो । यता प्रहरीले दिनप्रतिदिन विभिन्न ठाउँमा छापा मार्ने काम ज्यादै तीव्र बनाएकोले राजुलाई १७ गते लुकाईछिपाई महेन्द्र नगर तर्फ सफल भयौं ।’
जुबेरको साथी तथा पुष्पराज गौतमको ज्वाइँ रोहित बर्माको डेरामा एउटै घरमा भाडामा बस्ने राजसमेत २ जनाको घरमा छापा मार्दा प्रहरीले १२ बोरको गोली फिट हुने कट्टा बन्दुक १ र १२ बोरको कार्तुस ४ थान, कागजपत्रहरू बरामद गरेको थियो । रोहित बर्माको घरबाट प्रहरीले बरामद गरेको कागजमध्ये एउटा डायरीमा’ जयमातादी’ लेखिएको र छोटा राजन तथा बब्लुको फोन नं. समेत प्रहरीले प्राप्त गरेको थियो । यस प्रकारको प्रमाण प्रहरीले फेला पारेपछि रोहित वर्मा, राज, संजय, सफिक र करण समेतका व्यक्तिहरू छोटे राजनबाट सञ्चालित थिए भनी प्रहरी ठोकुवा गर्दछ ।

सतिस दिल्ली पुगेपछि निजका ज्वाइँ रोहित वर्माले आफू बस्ने ठाउँमा लगेका थिए । सतिसले काठमाडौंमा आफ्नो घर र कम्युनिकेशन सेन्टर छापा मारेको बताएपछि रोहित अतालिएको थियो। तर उसले सतिसकी बहिनी आफ्नी श्रीमती संगीतालाई आफ्नो कोठामा नलगी अर्कै कोठामा लगी तिमीसँग मैले आफ्नो बारेमा केही कुरा लुकाएको थिएँ, बम्बईको आपराधिक अभिलेखमा मेरो नाम रोहित बर्मा उल्लेख गरिएको छ । त्यसकारण म भारतमा समेत वारेन्टेड भएकाले यता न उता भएँ । मैले हाम्रो सेठ (छोटा राजन) लाई यो काम नगरौं भनेको थिएँ तर उहाँले मान्नु भएन ।’

सोही दिन दिल्लीस्थित अप्पु पार्कमा जुवेरसँग सतिस गौतम तथा रोहित बर्मा (सन्देश शर्मा) को भेट भएको थियो । भेटघाटको क्रममा जुवेरले बेगको नामलिँदै दाउदको एक नम्बर बदमासलाई मार्न सफल भयौं भनेको थियो । दिल्ली जानुअघि जुवेर सतिस गौतमको घर छाडी बेगको हत्या भएको भोलिपल्टसम्म काठमाडौं बसेको थियो र १६ गते बेलुकी नारायणी होटलमा तीनदिनसम्म सतिसले लुकाई १९ गते सतिसको बाबु पुष्पराजले महेन्द्रनगर पठाएका थिए । बेगको हत्या गर्न प्रयोग गरेको गाडी करण सिंह भन्ने मग्गा सरदारले चलाएको भन्ने प्रमाण प्रहरीले फेला पारेपछि निज करण सिंह ललितपुर सानेपास्थित धर्मरत्न वज्राचार्यको घरमा डेरा गरी बसेको र बेगको हत्या गर्नेबित्तिकै मग्गाले आफ्नो गाडी आफ्नो छिमेकी डा. रत्नमान प्रधानलाई केही दिनको कामको लागि बाहिर जानु परेकाले गाडी सुरक्षित साथ राखिदिन अनुरोध गरेको थियो । छिमेकी भएको कारण डा. प्रधानले आफ्नो घरको कम्पाउन्डमा उक्त गाडी राख्न दिएका थिए । उक्त गाडी त्यहाँ राखिएको छ भन्ने थाहा पाएपछि छापा मार्दा प्रहरीले बरामद गरेको थियो ।

मिर्जाको हत्या गर्नुपर्छ भनी छोटे राजनले योजनाको खाका मलेसियाको एउटा टापुमा बसेर बनाएपछि उसका आपराधिक मुख्य प्रतिनिधि ओपी. सिंहले उसका अर्का अपराधी बब्लुसँग भारतीय जेलमा कुराकानी गरिसकेपछि नेपालका सफिक महमद खान समेतको एउटा समूहले गुरूयोजना बनायो ।

गुरूयोजना मुताविक नेपालमा सहयोग गर्ने र नेपालमै बसेर आपराधिक क्रियाकलाप सञ्चालन गर्दै रहेका रोहित वर्मा (सन्देश शर्मा)राज भन्ने राजेन्द्रकुमार शर्मा, संजय माट्कर र करण सिंह भन्ने मग्गा सरदार थिए । बेगलाई हत्या गर्दा गोली प्रहार कसले गर्यो भन्ने कुरा प्रहरीले अहिलेसम्म पत्ता लगाउन सकेको छैन । प्रहरीले अनुमानको आधारमा भारतबाट हत्या गर्न खटिई आएका जुवेर खान, राज, बन्टी र हालसम्म नाम खुल्न नसकेको एक व्यक्ति र नेपालमा बस्दै आएको मग्गा सरदार समेत ५ जनाभएको बताएको छ । बेगको हत्या गर्न सघाउनेहरू पनि ५ जना रहेका छन् । सुरेन्द्र भण्डारी, मोहन चन्द, सफिक महम्मद खान, पुष्पराज गौतम र सतिस गौतम । हत्यामा संलग्न अन्यव्यक्तिहरूको तीव्र रूपमा खोजतलास प्रहरीले गरिरहेको छ । ती अपराधी अन्य देशमा भागी जान सक्ने सम्भावना भएकाले इन्टरपोललाई जानकारी गराइसकेको छ।

छानबिन समिति

घटना भएको भोलिपल्ट सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक ढालमान थापाको अध्यक्षतामा प्रहरी नायव महानिरीक्षक गोविन्दप्रसाद थापा, प्रहरी उपरीक्षकहरू आमोद गुरूङ, भरत जी.सी. र प्रहरी नायव उपरीक्षक शिव लामिछानेसमेत रहेको छानबिन समिति गठन गरी आफ्नो कार्य प्रारम्भ गयो ।

प्रतिक्रिया दिनुहोस्