मिसन पत्रकारिता आजको आवश्यकता



कामना प्रकाशन प्रा.लि स्थापनाको २५औँ वार्षिक उत्सवको उपलक्ष्यमा यस प्रकाशनको उत्तरोत्तर प्रगति, उन्नति र समृद्धिको कामना गर्दछु ।आगामी दिनहरूमा यस संस्थाले विभिन्न विषयहरूको उठान, विकास, विस्तार एवं चौतर्फी फैलावटमा यस संस्थाको भविष्य अझ समुज्ज्वल रहोस् भन्ने शुभकामनासमेत दिन चाहन्छु । साथै यस संस्थाका संस्थापक अध्यक्ष तथा प्रधान सम्पादक स्व.पुष्करलाल श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । मेरा बालसखा पुष्करलाल श्रेष्ठ तथा उनले शुरू गरेको कामना प्रकाशमा लामो समयसम्म उनीसँगै कार्यरत रहेँ । केही समयपछि सर्वमान्य नेता गणेमान सिंहको सल्लाहअनुसार मैले नेपाल जागरण पत्रिका शुरू गरेँ ।

म आफैं प्रधान सम्पादक रहेको नेपाल जागरणलाई केही समय स्थगित गरेर २०६२ सालतिर म पुनः कामना प्रकाशनमा आवद्ध भएँ । मैले कामना प्रकाशनको नायव महाप्रबन्धक भएर लामो समय पुष्करलालसँगै काम गरेँ । त्यही समय उहाँसँगको निकटताका केही आवश्यक अनुभव मैले यहाँ लेख्ने जमर्को गरेको छु । २०४१ मंसिर १९ गतेबाट रङ्ग पत्रिका सिने मासिक कामनाको पहिलो अङ्क प्रकाशित गरेर पत्रकारिता जगतमा पाइला अघि बढाएको यस संस्थाका संस्थापक अध्यक्ष स्व. पुष्करलाल श्रेष्ठ सिने मासिक कामना, खोजमूलक पारिवारिक साधना, सन्ध्याकालीन दैनिक महानगर हुँदै राष्ट्रिय दैनिक नेपाल समाचारपत्रका प्रकाशक र प्रधान सम्पादकसमेत भएँ ।

पञ्चायती व्यवस्था हुँदै बहुदलीय व्यवस्थासम्म आइपुग्दासमेत वाक तथा प्रकाशन स्वतन्त्रता मजबुत बनिसकेको थिएन । २०५२ सालबाट शुरू भएको माओवादी युद्धले त झन् यसलाई जटिल मोडमा पु¥याएको थियो । समाचार संस्थाहरू धराशायी थिए । माओवादी युद्धको त्यो जटिल परिस्थितिमा मैले यस संस्थाको जिम्मेवारीलाई सन्तुलित ढङ्गले निर्वाह गरेको थिएँ । वाक् तथा प्रकाशन स्वतन्त्रतालाई कुनै पनि अवस्थाले रोक्न सक्दैन भन्ने दृढ विचारलाई स्थापित गर्दै निश्पक्ष समाचार प्रकाशनलाई निरन्तरता दिएको थिएँ । द्वन्द्वकाल र त्यस पछिका दिनहरूमा पनि आमनागरिकको सुसूचित हुने अवसरबाट कोही पनि बञ्चित हुनु परेन ।

यो संस्थाको ठूलो उपलब्धि थियो ।त्यही बेला मैले तत्कालीन प्रधान सम्पादक तथा अध्यक्षलाई अब दैनिक पत्रिकामा मात्रै अल्झिनुभन्दा टेलिभिजन सञ्चालन गर्नु उपयुक्त हुने सुझावसमेत दिएको थिएँ । यसका लागि भित्रभित्रै आवश्यक योजनाहरू तयार गर्न गृहकार्य शुरू हुँदै गर्दा म कामना समूहबाट बाहिरिएँ । त्यसपछि टेलिभिजन सञ्चालनको योजना पनि सेलाएर गयो । सो कुरा सायद त्यो बेलाका मेरा समकालीन मित्रहरू तथा प्रकाशनका कर्मचारीहरूले सम्झिनुभएको हुनुपर्दछ ।

मूलतः ६२-६३ पछिको राजनीतिक घटनाक्रमले सिंगो पत्रकारिता व्ययसाय स्वच्छ पत्रकारितामा आधारित हुनुभन्दा परनिर्भर बन्दै गएको आमबुझाइ छ ।ठूला सञ्चार संस्थाहरू कसै न कसैको आड भरोसामा केन्द्रित भए । स्वच्छ समाचारले निष्पक्षता गुमायो । यो पत्रकारिता व्यवसायका लागि ठूलो चुनौति पनि हो । स्वच्छ, निष्पक्ष र सन्तुलित पत्रकारिताका निम्ति हरेक प्रकाशन गृहहरू गम्भीर हुनु

आवश्यक छ । मलाई लाग्छ अहिलेको यो जटिल अवस्थामा पनि कामना प्रकाशनलाई निष्पक्ष ढङ्गले आमजनताको साथमा रहेर समाजमा स्थापित गर्न सकिन्छ । यसका लागि चुस्त टिम, कुशल व्यवस्थापक र प्रभावकारी व्यवस्थापन आवश्यक हुन्छ । आवश्यक पर्दा कामना प्रकाशनबाट प्रकाशित जुनसुकै पत्रपत्रिकाहरूलाई जनताको आप्mनो पत्रिका बनाउन सक्ने क्षमता, सीप र कौशल संस्थासँग हुनुपर्दछ । यसका लागि व्यवस्थापकको गहन जिम्मेवारी रहन्छ ।

त्यो जिम्मेवारी मैले कामना प्रकाशनमा नायब महाप्रबन्धक हुँदा नै अनुभूति गरेको हो । पत्रकारिता क्षेत्र आफंैमा विवादित क्षेत्र हो । हरेक विवादबाट मुक्त गराएर आम मानिसबाट प्रशंसा बटुल्न सक्नु नै असल पत्रकार र असल पत्रिकाको धर्म हो । स्व. पुस्करलाल श्रेष्ठले आप्mनो लामो पत्रकारिताको यात्रामा उनले गुजारेको बाटो पनि यही हो । पत्रकारिताको क्षेत्रमा यही धर्म निर्वाह गर्ने गरी काम गर्नुपर्दछ । यसका लागि योग्य जनशक्ति, असल नेतृत्व र चुस्त व्यवस्थापन भएको सशक्त टिम चाहिन्छ ।

बदलिँदो समय र चुलिँदो जनआकांक्षालाई मध्यनजर गर्दै परिणाममुखी उपलब्धि हासिल गर्न आज फेरि मुलुकमा मिसन पत्रकारिता आवश्यकता छ । कामना प्रकाशनले यो आवश्यकतालाई महसुस गरी मिसन पत्रकारितालाई सुनियोजित रूपमा अगाडि लान चाहेमा अझै पनि हातेमालो गर्न सकिन्छ । देशका तमाम विकृति, विसङ्गति, भ्रष्टाचार, अनियमिततालगायत भ्रामक तथा मिथ्या सूचनाहरूलाई चिर्दै अन्य समसामयिक विषयवस्तुहरूप्रति तथ्यगत विश्लेषण गर्नु आवश्यक हुन्छ । सकारात्मक सोचविचार लिएर देश र जनताको हितअनुकूलको पत्रकारिता अब मिसन पत्रकारिताबिना सम्भव देखिँदैन ।

अझ सशक्त रूपमा समसामयिक विषयवस्तुलाई निष्पक्ष ढङ्गले उठान गरी नेपाल समाचारपत्रलाई नै पूर्ण डिजिटल माध्यमबाट मिसन पत्रकारिताको निर्विकल्प माध्यमको रूपमा अघि बढाउनु जरुरी छ । मिथ्या तथा दुराशययुक्त सूचनाले आम मानिसलाई ध्रुवीकृत गर्न सक्छ । व्यक्तिगत इमान्दारिता र विश्वसनियतालाई कमजोर पार्न सक्दछ । कपोकल्पित, भ्रामक तथा मिथ्या सूचना अदूरदर्शी, स्वार्थी तथा अराजक राजनीतिक अभियानबाट नै आउने हुँदा यस्ता सूचनाले समाज र राष्ट्रकै अवमूल्यन गर्दछ ।

पत्रकारिताको माध्यमबाट यस्ताखाले विनासकारी सूचनाहरू रोक्नु नितान्त आवश्यक हुन्छ ।समाजका यस्तै समग्र परिदृष्यहरूलाई मध्यनजर गर्दै स्वच्छ पत्रकारिताको माध्मबाट राजनीतिको नाममा चलाइएका उच्छृङ्खल गतिविधिलाई रोक्दै देशको सार्वभौमिकताको रक्षा तथा नेपाली जनताको स्वाभिमानलाई उच्च राख्ने मजबुत आधारशिला खडा गरौँ । स्वच्छ समाजको निर्माण गरौँ । कामना प्रकाशन यसका निम्ति भरपर्दो र विश्वासिलो माध्यम बनोस् । शुभकामना ।

प्रतिक्रिया दिनुहोस्