सेन्सर बोर्डलाई बालेनको सुझाव



काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले केन्द्रीय चलचित्र जाँच समितिका अध्यक्षलाई फिल्म सेन्सरको विषयमा सुझावसहित पत्र पठाएका छन्।

उनले पत्रमार्फत चलचित्र जँँच समितिको कार्यविधि, २०७४ को दफा ४ को उपदफा १ लाई पूर्ण रूपमा कार्यान्वयन गरी नेपालको मौलिकता, धर्म संस्कृति, इतिहास, नेपाल र नेपालीको स्वाधीनता र स्वाभिमानमा आँच आउने संवाद र दृश्य प्रसारणमा रोक लगाउन आग्रह गरेका छन्।

पत्रको दोस्रो बँदामा पञ्चशीलको सिद्धान्त शान्ति प्रवद्र्धन, एक राष्ट्रले अर्को राष्ट्रको बारेमा नराम्रो फिल्म बनाएमा प्रदर्शनमा रोक लगाउनका साथै तेस्रो बुँदामा कुनै धर्म विशेषले अर्को धर्म विशेषलाई अवहेलना गरेको दृश्य तथा संवाद प्रसारणमा रोक लगाउन आग्रह गरेका छन्।

पत्रको चौथो बुँदामा कुनै पनि जातजाति, वर्ण, समुदाय, लिङ्ग तथा शारीरिक तथा मानसिक रूपमा फरक क्षमता भएका व्यक्तिको स्वाभिमानमा आँच आउने दृश्य तथा संवाद (हेट स्पिचमा) प्रसारणमा रोक लगाउन पनि आग्रह गरेका छन्।

उनले फिल्म निर्माण तथा प्रदर्शनमा महानगरले सकारात्मक साथ दिने भन्दै कार्यविधिअनुसार प्रतिबन्धित फिल्मको दृश्य तथा संवादसहितको फिल्म प्रदर्शनमा आएको खण्डमा महानगरपालिकाले प्रचलित कानुनबमोजिम आवश्यक कदम चाल्नेसमेत उल्लेख गरेका छन्।

बालेनले चलचित्र जाँच समितिले चलचित्र (निर्माण, प्रदर्शन र वितरण) ऐन २०२६ को दफा ७ को उपदफा (३) बमोजिम चलचित्र जाँच समितिको कार्यविधि, २०७४ कार्यान्वयनमा ल्याई फिल्म जाँचसम्बन्धी कार्यलाई एकरूपता दिई जवाफदेही र पारदर्शी बनाउने कार्यको प्रशंसा गर्दै फिल्मबाट समाजमा पर्ने नकारात्मक प्रभाव कम गर्नका लागि परेकोमा आभारसमेत व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्