म्याग्दीका गाउँघरमा तिहारसँगै सयपत्री र मखमली ढकमक्क (फोटो फिचर)



म्याग्दी।

नेपालीहरुको दोस्रो महान् पर्व तिहार घर, आँगनमा भित्रिएको छ । अब तिहारको भाइटिका लगाउन दुई दिन मात्रै बाँकी छ । दसैँ र तिहार पर्वको अवसर पारेर प्रवासमा पुगेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु पनि आफ्नो गाउँघर फर्किएका छन् ।

वर्ष दिनमा गाउँका घरहरु रातो र पहेँलो माटो तथा सेतो कमेरोले पोतिएपछि बेहुली जस्तै सिँगारिएका छन् । गाउँघरमा मच्चिने लिङ्गेपिङ र रोटेपिङले चाडबाडको मौसमलाई थप रमणीय बनाइदिएको छ । सहर, बजारमा बिजुली बत्तीले झिलिमिली बनाएको छ भने गाउँमा सयपत्री, मखमली, तिहारे र गोदावरी फूलहरु ढकमक्कै फूलेका छन् ।

हिमाली जिल्ला म्याग्दीको विभिन्न स्थानमा फूलेका फूलहरुले तिहारको रौनक छाएको छ । सदरमुकाम बेनीबजारदेखि ग्रामीण भेगसम्मै सयपत्री र मखमली फूलिरहेका छन् । यमपञ्चकको आज तेस्रो दिन अर्थात् गाई तिहार । यतिबेला गाउँघरमा ढकमक्क फुलेका सयपत्री र मखमली फुलको बास्नाले गाउँ नै मगमग बसाएको छ । तिनै फूलेका फूलहरुको कारण गाउँघर अहिले निकै सुन्दर, आकर्षक र मनमोहक देखिएका छन् ।

घर, आँगन, डिल, बारी, कान्ला र खोल्सा–खोल्सीमा फुलेका फुलहरुले तिहार नजिकिएको सङ्केत गर्दछ । सहर, बजारमा पनि रङ्गेली रङ, झिलिमिली बत्ती, विभिन्न प्रकारका फूल र मालाले तिहार पर्वलाई स्वागत गरिरहेका छन् । तिहारमा फुलेका फूलहरुले वातावरणलाई सुन्दर बनाउनुका साथै पर्यटकहरुलाई समेत लोभ्याएको छ । नेपाली समाजमा तिहार पर्वलाई उज्यलो र फूलै फूलको पर्वको रुपमा मानिन्छ । तिहारको अन्तिम भाइटीकाको दिनमा मखमली र सयपत्री फुलको माला अनिवार्य जस्तै बनेको छ ।

यसैगरी नेवारी समुदायमा लक्ष्मीपूजा, म्हपूजाका लागि पनि सयपत्री, गोदावरीलगायत फूलहरु अनिवार्य रुपमा प्रयोग हुन्छन् । लक्ष्मीपूजाको दिन घरको मूल ढोकामा सजाउन होस् वा पसल, कार्यालय, व्यावसायिक स्थललगायत क्षेत्रलाई सिँगार्नको लागि पनि तिहारमा सयपत्री, मखमलीलगायत फूलको खेती गर्ने र खरिद–बिक्री हुने गरेको पाइन्छ । यी फुलहरुको माग उच्च हुने गर्दछ । कतिपयले पुष्पखेती गरेरै तिहार पर्वमा फूल बिक्रीबाट मनग्गे आम्दानी समेत गर्दै आइरहेका छन् । तिहार पर्व दाजुभाइ र दिदीबहिनीहरुको बीचमा आत्मीयता साटासाट गर्ने तथा सम्बन्ध अझै प्रगाढ बनाउने पर्वको रुपमा रहेको छ ।

तिहार पर्व कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया तिथिसम्म पाँच दिन मनाइन्छ । मृत्युको देवताको रुपमा मानिने यमराजले आफ्नी बहिनी यमुनासँग धेरै समयदेखि भेट्न पाएका थिएनन् । यमुनालाई आफ्नो दाजुसँग भेट्ने अधिक इच्छा भएर विभिन्न माध्यमहरूमार्फत दाजुलाई भेट्न आउन निम्तो पठाइन् । उनले यमराजसमक्ष सुरुमा काग त्यसपछि कुकुर, गाई र अन्त्यमा आफै गएर दाजुलाई भेटेको प्रसङ्ग विभिन्न धार्मिक ग्रन्थहरुमा उल्लेख रहेको पाइन्छ ।

तिहारमा झिनियाँ, सेलरोटी, मिठाई जस्ता मीठा–मीठा परिकारहरु बनाएर खाने तथा सयपत्री, मखमली, गोदवरीसहित विभिन्न फूलहरुको माला उनेर सप्तरङ्गी टिका लगाएर तिहार मनाउने चलन छ । बेनी नगरपालिका–३, भकिम्ली राखुकी महिला उद्यमी मनकुमारी पुनले तिहार आएपछि सयपत्री, मखमली जस्ता फुलहरु ढकमक्क फुलेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्