बायर्न र रियल मेड्रिड अन्तिम १६ मा



लन्डन, (एजेन्सी)

युइएफए च्याम्पियन्स लिगअन्तर्गत बुधबार रातिको खेलमा जितको नतिजा निकालेपछि बायर्न म्युनिख र रियल मड्रिड अन्तिम १६ मा प्रवेश गरेका छन् ।
घरेलु मैदानमा भएको खेलमा जर्मन क्लब बायर्नले गालातासारेलाई २–१ गोलअन्तरले हराएको हो । बायर्नको जितमा दुबै गोल ह्यारी केनले गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा समाप्त हुँदा अन्तिम १० मिनेटमा बायर्नले दुई गोल गर्न सफल भएको थियो । गालातासारेका बाकाम्बुले इन्जुरी समयमा एक गोल फर्काएका थिए ।

यसै समूहको अर्को खेलमा अग्रता जोगाउन नसक्दा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड डेनिस क्लब एफसी कोपनहेगनसँग ४–३ ले पराजित भयो । पहिलो जितसँगै चार खेलमा चार अंक जोडेको कोपनहेगन समूह ‘ए’ को दोस्रो स्थानमा छ । तेस्रो पराजय व्यहोरेको युनाइटेड समान खेलबाट एक अंकका साथ अन्तिममा छ ।

कोपनहेगनको घरेलु मैदान पार्केन रंगशालामा भएको खेलको तेस्रो मिनेटमै रास्मस होज्लन्डले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । २८औं मिनेटमा होजलन्डले नै टोलीको अग्रता दोब्बर बनाए । ४२औं मिनेटमा मार्कस रासफोर्डले रातो कार्ड व्यहोर्दै मैदान छाडेपछि युनाइटेड १० खेलाडीमा सिमित भएको थियो।
४५औं मिनेटमा एन्करसनको क्रसमा डियोगो गोन्कालभेसको पासमा मोहम्मद एल्युनुसीले गोल गरेपछि कोपनहेगनले गोल अन्तर खुम्च्यायो । पहिलो हाफको इन्जुरी समयमा डियोगो गोन्कालभेसले पेनाल्टीमा गोल गर्दै कोपनहेगनलाई २–२ को बराबरीमा ल्याएका थिए ।

युनाइटेडका रक्षक ह्यारी मग्वायरले पेनाल्टी क्षेत्रमा हातले बल छोएपछि कोपनहेगनले पेनाल्टीको अवसर पाएको थियो । ६९ औं मिनेटमा कप्तान ब्रुनो फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई ३–२ को अग्रता दिलाए । कोपनहेगनका लेरागरले पेनाल्टी बक्समा हातले बल रोकेपछि युनाइटेडले पेनाल्टीको अवसर पाएको थियो ।

८३औं मिनेटमा लेरागरले गोल गर्दै केपनहेगनलाई ३–३ को बराबरीमा ल्याए । चार मिनेटपछि नै रुनी बार्डघजिले गोल गर्दै कोपहेगनलाई ४–३ को रोमाञ्चक जित दिलाए ।

यस समूहमा बायर्नको चार खेलबाट १२ अंक छ । बायर्नले दुई खेलअघि नै प्रि क्वार्टरफाइनलमा स्थान बनायो । चार खेलबाट समान चार अंक जोडेको कोपनहगेन र गालातासारे क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । तीन अंक जोडेको युनाइटेड भने पुछारमा छ ।

त्यसैगरी समूह ‘ए’ को खेलमा रियल मड्रिडले स्पोर्टिङ ब्रागालाई ३–० ले हराउँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो । रियलको जितमा ब्राहिम डिआज, रोड्रिगो र भिनिसियस जुनियरले गोल गरे । पहिलो हाफमा एक गोल गरेको रियालले दोस्रो हाफमा थप एक गोल गरेको थियो ।
कार्लाे एन्सोलोटीको रियलले घरेलु मैदानमा च्याम्पियन्स लिगको पछिल्लो ९ खेलमा अपराजित यात्रा कायम राखेको छ । घाइते भएपछि जुड वेलिंघम बेन्चमै सिमित बने ।

यसै समूहको अर्काे खेलमा नापोली र एफसी युनियन बर्लिनले १–१ गोलको बराबरी खेलेका छन् । समूहमा चार खेलबाट १२ अंकसहित रियल शीर्षस्थानमा रहँदै अर्काे चरणमा स्थान सुरक्षित गरेको छ । ७ अंकसहित नापोली दोस्रो, ब्रागा तीन अंकसहित तेस्रो र बर्लिनको एक अंक छ ।

त्यस्तै इङ्लिस क्लब आर्सेनलले युएइफए च्याम्पियन्स लिगमा बुधबार स्पेनिस क्लब सेभियाविरुद्ध २–० को सहज जित निकाल्यो । जितसँगै चार खेलमा नौ अंक जोडेको आर्सेनल समूह ‘बी’ को शीर्ष स्थानमा छ । पराजय व्यहोरेको सेभिया समान खेलबाट एक अंकका साथ पुछारमा छ ।

घरेलु मैदान इमिरेट्स रंगशालामा लियान्द्रो ट्रोसार्डले गोल गर्दै आर्सेनललाई अग्रता दिलाएका थिए । उनले बुकायो साकाको पासलाई सदुपयोग गरे ।
६४ औं मिनेटमा साकाले गोल गर्दै आर्सेनलको अग्रता दोब्बर बनाए । साकाले गाब्रियल मार्टिनेलीको पासलाई पोस्टको दिशा दिए । त्यसअघि थप गोल निस्कन नसक्दा आर्सेनल २–० ले विजयी भयो । यही समूहको अर्को खेलमा पिएसभीले लेन्समाथि १–० को कठिन जित निकाल्यो ।

प्रतिक्रिया दिनुहोस्