एन्फा अध्यक्ष नेम्वाङको पद जोगियो



काठमाडौं।

अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभाले बर्खास्तीको प्रस्ताव अस्वीकृत गरेसँगै एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको पद जोगिएको छ ।
बिहीबार मकवानपुरको हेटौडामा भएको मतदान हुँदा एन्फाको कुल १ सय ७ सदस्य (जिल्ला, क्लब र संघ) मध्ये ८७ जनासँग मात्र मताधिकार थियो । यसमा ३४ जना मतदान प्रक्रियामा सहभागी नै भएनन् । ५३ जनाले मात्र मतदान गरे । तर, ५२ जनाको मत सदर भयो, यी सबै नेम्वाङलाई अध्यक्षबाट हटाउने प्रस्तावको विपक्षमा खसेको मत थियो ।

गत असोज १७ गते एन्फा कार्यसमितिको आकस्मिक बैठकले अध्यक्षको बर्खास्तीको एजेन्डा मात्र समावेश गर्दै हिजो विशेष साधारण सभा बोलाइएको थियो । विशेष साधारण सभामा अध्यक्ष नेम्वाङलाई बर्खास्त गर्नुपर्ने प्रस्ताव पेश गरियो । अध्यक्ष नेम्वाङले बोले, तर प्रस्तावकलाई बोल्न नदिएको भन्दै असन्तुष्ट पक्षले विरोध ग¥यो र लगतै उनीहरू बैठक छाडेर हिंडे ।

विधि र विधान अनुसार नचलेकाले आफूहरू मतदान प्रक्रियामा भाग नलिएको नेम्वाङ बर्खास्तीका मुख्य प्रस्तावक तथा हिमालयन शेर्पा क्लबका अध्यक्ष शेर्पाले बताएका थिए ।

नेम्वाङ २०७९ असारमा एन्फा अध्यक्षमा निर्वाचित भएका थिए । उनले कर्माछिरिङ शेर्पालाई हराएका थिए । तर, वर्ष दिन पुग्दानपुग्दै नेम्वाङले ‘अविश्वास प्रस्ताव’ को सामना गर्नु प¥यो । एन्फाको इतिहासमा ‘अविश्वास प्रस्ताव’ सामना गर्ने उनी पहिलो अध्यक्ष समेत बने ।

एन्फा विधानमा ४० प्रतिशत सदस्यले आवेदन दिएपछि एक महिनाभित्र विशेष साधारण सभा बोलाउनुपर्ने र प्रस्ताव पास गर्न दुईतिहाइ चाहिने व्यवस्था छ । निवर्तमान अध्यक्ष शेर्पाको अगुवाइमा बहुमत सदस्यले १९ वटा आरोप सहित अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्तीको माग सहित एन्फामा गत भदौ २५ गते निवेदन राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्