किंग कोहली बने एकदिवसीयका किंग



नयाँ दिल्ली, (एजेन्सी)  । 

भारतीयहरुले कोलकातालाई आनन्दको शहर भन्छन् । यही कोलकातामा रहेको इडेन गार्डेन्स् क्रिकेट मैदान विश्वभरि चर्चित छ । यही मैदानमा आइतबार दक्षिण अफ्रिकाविरुद्ध भारतीय क्रिकेटर विराट कोहलीले शानदार उपलब्धि हासिल गरेर उनको जन्मदिनको खुशीयाली मनाए ।

३५ औं जन्मदिन मनाएका विराटले वानडेमा ४९ औं शतक प्रहार गरे । योसँगै उनले भारतकै महान क्रिकेटर सचिन तेन्दुलकरको वानडेमा सर्वाधिक शतकको कीर्तिमानीसँग बराबरी गरेका थिए । यसको खुशीयाली मनाउन उनलाई हक पनि छ । दक्षिण अफ्रिका र भारतबीचको खेलमा कडा प्रतिस्पर्धाको अनुमान गरिएको थियो । तर, यहाँ केही पनि प्रतिस्पर्धा नै भएन । भारतले यो खेल निकै सजिलोसँग जितेको थियो । पहिले ब्याटिङ गरेको भारतले ३ सय २५ रन बनायो । यसको जवाफमा दक्षिण अफ्रिकाले ८३ रन मात्रै बनाउन सकेको थियो ।

यो खेलमा विराटले संयमतासँग खेले । उनको साझेदारी खेलाडी एक पछि आउट हुँदै जाँदा पनि उनले होश गुमाएनन् । उनी विस्तारै कछुवाको चालमा अघि बढ्दै कोसेढुंगामा पुगेका थिए । जब उनी १ सय रनमा पुग्न लागे तब, पुरै रंगशालाभरि दर्शक मोबाइलको लाइट बालेर नाचिरहेका थिए । उनले १ सय रन बनाएपछि इडेन गार्डेन्समा उपस्थित हजारौं दर्शकको खुशीको ठेगाना नै भएन । सबैको खुशी हेर्न लायक थियो । उनीहरुका लागि विराट सर्वाधिक प्रसिद्ध क्रिकेटर हुन् ।

एकदिवसीय क्रिकेटमा सर्वाधिक शतक प्रहार गर्ने सूचीमा अहिले विराट र सचिन सँगै छन् । उनीहरुले ४९÷४९ शतक प्रहार गरेका छन् । यसपछि नम्बर भारतकै रोहित शर्माको आउँछ । उनले ३१ शतक प्रहार गरेका छन् । यो दुरीमा यदि रोहितले अर्को तीन चार वर्ष खेलिरहेमा विराट र सचिनलाई छुन सक्नेछन् ।

तर, अहिलेको लागि भने रोहित धेरै पछि छन् । शायद यही विश्वकपमा विराटले एकदिवसीय क्रिकेटमा ५० शतक प्रहार गर्नेछन् । यदि यसो भएमा विराट एकदिवसीय क्रिकेटमा ५० शतक प्रहार गर्ने पहिलो क्रिकेटर समेत बन्नेछन् । टेस्ट क्रिकेटरमा भने सचिनले ५१ शतक पुरा गरेका छन् । विराटले जुन उपलब्धिमा पुगेपनि त्यो उपलब्धि छिटो नै हासिल गरेका छन् । उनले ४९ शतक २ सय ७७ इनिङमा बनाए । जबकी सचिनले यही उपलब्धि हासिल गर्न विराटले भन्दा १ सय ७५ इनिङ बढी खेलेका थिए । यस्तै विराटले ८ हजार, ९ हजार, १० हजार, ११ हजार, १२ हजार र १३ हजार एकदिवसीय रन पनि छिटै पुरा गरेका छन् । यी रन बनाउँदा पनि उनले कीर्तिमान राखेका छन् ।

विराटको ४९ शतकमा २७ पटक दोस्रो इनिङमा आएको हो । यसमध्ये २३ शतकमा भारतले जित हासिल गरेको छ । उनलाई रन पछ्याउनेमा मास्टर पनि भनिन्छ । भारतीय क्रिकेट समर्थकले उनको उपनाम ‘किंग कोहली’ राखेका छन् । उनीहरुले सोचे अनुसार उनी साँच्चिकै एकदिवसीयका किंग बनिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्