कवितामा अनुको अनुराग



गीतकार, साहित्यकार तथा फिल्म निर्मात्री अनु शाहद्वारा रचित कविताको संग्रह अनुराग राजधानीमा आयोजित एक समारोबीच पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा विभिन्न क्षेत्रका व्यक्तित्वले संयुक्तरूपमा विमोचन गरेका छन्।

मिलाप मासिक र अनुराधा फिल्म्स् इन्टरनेसनल प्रालिको आयोजनामा सम्पन्न कार्यक्रममा साहित्यकार तथा हिमालय टाइम्स दैनिकका प्रधान सम्पादक प्रा. पुरुषोत्तम दाहाल र साहित्यकार तथा फिल्मकर्मी प्रकाश सायमीले संग्रहको समीक्षा गरेका थिए। प्रा. दाहालले रुसी कवि पुस्किनको कविताका पंक्तिको चर्चा गर्दै अनुको पंक्ति मिल्ने बताए। प्रमुख अतिथि पूर्वप्रधानमन्त्री ओलीले कृतिमा रहेका कविताको चर्चा गर्दै अनुका कविताको तारिफ गरे।

ओलीले अनुको स्वास्थ्य लाभको कामना गर्दै आत्मविश्वास सबैभन्दा ठूलो औषधि भएको अनुभव सुनाए। संग्रहको प्रकाशकका तर्फबाट अनुका पति तथा सञ्चारकर्मी सूर्य चन्दले स्तन क्यान्सरबाट पीडित श्रीमतीलाई थाहै नदिई पुस्तक तयार पारेको बताए। मिलाप मासिकका सम्पादक कृष्ण भुसालले स्वागत मन्तव्य राखेको कार्यक्रममा नेपाल फिल्म सोसाइटीका अध्यक्ष एवं वरिष्ठ अभिनेता कृष्ण मल्लले अनु एक कुशल कलाकार पनि भएको चर्चा गरे।

गीतकार तथा कवियत्री शाहले कृतिमा रहेका कविताका केही पंक्ति वाचन गर्दै सबैको साथ सहयोगका लागि धन्यवाद दिइन्। सञ्चारकर्मी सरोज कोइरालाले सहजीकरण गरेको कार्यक्रमा विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्