सोनापुरको शेयर मूल्य आईपीओभन्दा तल झर्‍यो



 काठमाडौं।

कारोबार खुलेको चार दिनमै सोनापुर मिनरल्स एन्ड आयलको शेयर मूल्य आईपीओभन्दा तल झरेको छ । उक्त कम्पनीले सय रुपियाँ अंकित मूल्यमा १३७ रुपियाँ ५८ पैसा प्रिमियम मूल्य थपेर कुल २३७ रुपियाँ ५८ पैसामा आईपीओ बिक्री गरेको थियो । तर, बुधबार कम्पनीको शेयर मूल्य २३४ रुपियाँ ८० पैसामा झरेको छ ।

आइतबार कारोबार खुलेसँगै कम्पनीको शेयर मूल्यमा निरन्तर ओरालो लागेको छ । ३५० रुपियाँको भाउमा कारोबार खुले पनि चार दिनमा ११७ रुपियाँ २० पैसा घटेको हो ।बुधबार सबैभन्दा धेरै घट्ने कम्पनीको सूचीमा सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको शेयर मूल्य सात दशमलव ९९ प्रतिशतले घटेको छ ।
सर्वसाधारण लगानीकर्तालाई गुमराहमा राखेर कम्पनीले आईपीओ बिक्री गर्न सफल भए पनि धितोपत्रको दोस्रो बजारमा लगानीकर्ताहरूले सुरक्षित महशुस नगर्दा लगानीकर्ता छिटो बिक्री गरेर उम्किने प्रयासमा रहेका छन् ।  शंकास्पद वित्तीय विवरणसहित नियमक निकायलाई प्रलोभनमा पारेर कम्पनीले प्रिमियम भाउमा आईपीओ बिक्री गर्न खोजेको तथ्य नेपाल समाचारपत्रले लगातार प्रकाशित गरेको थियो । तर, नियमक निकाय मौन बस्दा सोनापुर सिमेन्टमा लगानी गरेका लाखौं लगानीकर्ताको करोडौं रुपियाँ जोखिममा परेको छ ।

यसैबीच बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५ पाँच दशमलव ८३ अंकले घटेर १ हजार ८५८ दशमलव ५६ को बिन्दुमा  झरेको छ ।  कुल २९६ कम्पनीको ३३ लाख ६४ हजार कित्ता शेयर ८१ करोड २० लाख ८९ हजार रुपियाँमा कारोबार भएको नेप्सेले जनाएको छ । यस दिन  लगानी समूह शून्य दशमलव शून्य ८ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेका छन् ।

प्रतिक्रिया दिनुहोस्