सेतीमा बेपत्ता व्यक्तिको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर टोली खटाइयो



 बझाङ्ग। 

 जिल्लाको मस्टा गाउँपालिका ४ तातोपानी स्थित सेती नदीमा बेपत्ता भएका व्यक्तिको खोजी कार्यको लागि सशस्त्र प्रहरी बल नेपालको गोताखोर परिचालन गरिएको छ ।
सोही गाउँपालिका ४ आग्रा बस्ने अन्दाजी ३८ वर्षीय सुरेन्द्र कठायत यही कार्तिक ११ गते उक्त नदीमा नुहाउने क्रममा बेपत्ता भएको बताइएको छ ।

 उनको खोजीकार्यको लागि मंगलबार सशस्त्र प्रहरी बल नेपाल नंं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ७ जना गोताखोरसहितको सुरक्षा फौज आवश्यक उद्धार सामाग्रीसहित खटाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक एवं सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

 यसअघि सोमबार रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका ५ रोङ्गा स्थित भोटेकोशी खोलामा हाम फाली बेपत्ता भएका सोही गाउँपालिका १ बस्ने अन्दाजी ४२ वर्षीय छिरिङ्ग तामाङ्गको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नंं. २० विपद् उद्धार उपत्यका गण काठमाडौँबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ९ जना गोताखोरसहितको सुरक्षा फौज आवश्यक उद्धार सामाग्रीसहित खटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्