कुमारीको हातबाट टीका ग्रहण गरी मनाए मोहनी नखः



काठमाडौं ।
काठमाडौंको जीवित देवी कुमारीको घरसँगै रहेको काठमाडौंको सबैभन्दा पुरानो विहार श्रीखण्ड तरुमुल महाविहारका सदस्यहरुले कोजाग्रत पूर्णिमाको अघिल्लो दिन जीवित देवदेवी गणेश, भैरव र कुमारीको हातबाट टीका ग्रहण गरेर यो वर्षको मोहनी नखः मनाएका छन् ।

श्रीखण्ड तरुमुल महाविहार संरक्षण तथा संचालन समितिको आयोजनामा परम्परागत नेवारी बाजागाजासहित नगर परिक्रमा गरी जीवित देवदेवी गणेश, भैरव र कुमारीको घरमा गई पूजाअर्चना गरी ती देवदेवीको हातबाट टिका ग्रहण गरेका हुन् ।

म्हाविहार संरक्षण तथा संचालन समितिका सदस्य ई. दिल्लीरत्न शाक्यका अनुसार मोहनी नखःलाई अझ उल्लासमय बनाउन र महाविहारका सदस्यहरुबीचको भाइचारा र सौहार्दपूर्ण सम्बन्धलाई थप मजबुत बनाउन तीन वर्ष अघिदेखि जीवित देवदेवीको हातबाट टिका थाप्न शुरु गरिएको बताउनुभयो ।

चन्द्रमासमा आधारित पात्रोअनुसार कौलाथ्व महिनाको वर्षको अन्तिम महिना भएकोले पनि यो दिन वर्षभरि गरिएको राम्रो कामलाई निरन्तरता दिन सकियोस् र भूलबस हुन पुगेका नराम्रा कामहरुका लागि क्षमायाचना गर्दै नयाँ वर्षको शुरुवात गर्ने प्रचलनअनुसार महाविहारले गणेश, भैरव र कुमारीको पूजा गरेको बताइएको छ ।

करिब ७ सय सदस्य रहेको यस महाविहारको स्थापना काष्ठमण्डपको निर्माणमा विशेष योगदान दिएका प्रख्यात बौद्ध सिद्धाचार्य लिलावज्र बज्राचार्यले सातौं शताब्दीमा गरेको मानिन्छ । सिखंमू बहाः को नामले पनि चिनिने यो महाविहार काष्ठमण्डप बनाएर बचेको रुखको काठबाट संगैको सिंह सतल बनाएपछि बाँकी रहेको काठको टुक्राटाक्री र जराबाट बनाइएको र त्यसैकारण यस महाविहारलाई सिखंमू बहाः भनिएको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्