उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ डिस्चार्ज, ८ गते स्वदेश फर्कने



काठमाडौं ।

चीन भ्रमणका क्रममा हृदयघात भएपछि उपचाररत उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘डिस्चार्ज’ भएका छन् ।
उनी बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिटलमा पाँच दिनको उपचारपश्चात डिस्चार्ज भएका हुन् ।

तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीएफआर) मा सहभागी हुन बेइजिङ पुगेका बेला उपप्रधानमन्त्री श्रेष्ठलाई यही कात्तिक १ गते हृदयघात भएको थियो । उहाँको छातीमा ‘स्टेन्ट’ राखिएको छ ।

अस्पतालबाट डिस्चार्ज हुने क्रममा उपप्रधानमन्त्री श्रेष्ठले आफ्नो उपचारमा संलग्न चिकित्सक, अस्पताल परिवार र बेइजिङस्थित नेपाली दूतावासप्रति आभार जनाएका छन् । आफ्नो स्वास्थ्यवस्थाप्रति चासो, चिन्ता र शुभेच्छा राख्ने सबैप्रति उनले आभार व्यक्त गरे ।

उपप्रधानमन्त्री श्रेष्ठ बुधबार बिहान स्वदेश फर्कने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्