काठमाडौंमा मात्रै ५० हजारभन्दा बढी खसीबोकाको खपत



काठमाडौं ।

दसैंलाई मिठो खाने र राम्रो लगाउने पर्वका रुपमा लिइन्छ । यो बेला मासुको खपत अन्य महिनाको तुलनामा दोब्बरभन्दा बढी हुने गरेको छ । दसैंमा बढ्ने मासुको मागलाई ५ वर्षयता स्थानीय उत्पादनले नै धान्न थालेको छ । दसैंमा कति खान्छन् नेपालीले मासु रु

ललितपुर कुसुन्तीका इन्द्रबहादुर मगरले बिहीवार एक लाख रुपैयाँका दुई वटा च्याङ्ग्रा किने । तीन जनाको परिवार रहेका उनी एउटा च्याङग्रा दसैंमा र अर्को तीन महिना पालेर माघे संक्रान्तिका लागि उपयोगमा ल्याउने योजनामा छन् । पशु सेवा विभागका अनुसार अन्य महिनामा काठमाडौं उपत्यकामा झण्डै ५२ हजार खसीबोका खपत हुने गरेका छन् । तर, दसैंको घटस्थापनादेखि नवमीसम्म मात्रै ५० हजारभन्दा बढी खसीबोकाको खपत हुने गरेको छ ।

विभागका अनुसार असोज, कात्तिक र मंसिरमा मासुको धेरै खपत हुने गरेको छ । नेपालमा वाषिर्क ५ लाख टनभन्दा बढी मासु उत्पादन हुने गरेको विभागको तथ्यांक छ । यसमा सबैभन्दा बढी हिस्सा ४० प्रतिशत कुखुराको छ । दोस्रो स्थानमा ३७ प्रतिशतले राँगा, १४ प्रतिशत खसीबोका र ७ प्रतिशत बंगुरको रहेको छ । तर दशैंमा सबैंभन्दा बढी खपत खसीबोकाकै हुने गरेको छ । पाँच वर्ष अघिसम्म खसीबोका लागि भारतीय बजारमा भर पर्नुपर्ने अवस्था रहे पनि अहिले स्थानीय उत्पादनले धानेको छ ।

नेपालमा वार्षिक ५ लाख टन माग हुने गरेकोमा ५ लाख १० हजार टन मासु उत्पादन हुने गरेको छ । वर्षभरिमा प्रति नेपालीलाई १४ किलो आवश्यक भए पनि अहिले २१ किलो उपलब्ध रहेको छ । सडक सञ्जालको बढोत्तरी एवं पशुपन्छी पालनमा लाग्ने किसानहरु बढ्दा मागभन्दा उत्पादन धेरै भएको हो । अहिले ३४ लाख किसान पशुपन्छी पालनमा छन् ।

स्वदेशका पशुपन्छीमात्र होइन आजकाल नेपालीका घरमा अष्ट्रेलियाको भेडा, कोरिया र चीनका सुागुरदेखि युरोपका ससेज र अमेरिकाका सालमण्डसम्म पुगिरहेका हुन्छन् ।

सरकारी अधिकारीहरुका अनुसार दशैंतिहार जस्ता ठूला चाडबाडमा मात्र ६० अर्बभन्दा बढीको मासु खपत हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्