शैलुङ र दामनभन्दा उत्कृष्ट पर्यटकीय गन्तव्य ‘ब्रोम्दिङ एक्सप्लोर’ हुँदै



काठमाडौँ । 

दशैँ विशेषको अवसर पारेर धादिङको बेनीघाट रोराङ गाउँपालिका १ मा ‘ब्रोम्दिङ पर्यटन महोत्सव’ हुने भएको छ । कात्र्तिक १५ र १६ गते धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं. १ मा रहेका पर्यटकीय क्षेत्र ब्रोम्दिङ, जरुङ, थमभञ्ज्याङ लगायतको एक्सप्लोर गर्न ‘ब्रोम्दिङ पर्यटन महोत्सव’ हुने भएको हो ।

नेपाल पर्यटन बोर्डमा असोज २७ गते नै ब्रोम्दिङ पर्यटन महोत्सवको घोषणा गरिएको हो । गोल्डेन ट्रयाङ्गल बाइक टूरको समापनको अवसरमा पर्यटन बोर्डका सीईओ डा.धनन्जय रेग्मी र बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक)ले संयुक्त रुपमा ब्रोम्दिङ पर्यटन महोत्सवको घोषणा गरेका हुन् ।

कात्र्तिक १५ गते ब्रोम्दिङ डाँडामा हुने महोत्सवको उद्घाटन भने बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेल र विशेष अतिथी पर्यटन बोर्डका सीईओ डा.धनन्जय रेग्मीले गर्नेछन् । बेनीघाट रोराङमै जन्मिएर प्रदेश सांसद हुँदै मुख्यमन्त्री भएका जम्मरकट्टेलले पहिलोपटक ब्रोम्दिङको एक्सप्लोरका लागि महोत्सवको उद्घाटन गर्ने तय भएको बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण थपलिया (विवेक)ले बताए ।

‘पर्यटकीय क्षेत्रका रुपमा उत्कृष्ट गन्तव्य भएकाले ब्रोम्दिङ पर्यटन महोत्सवको उद्घाटन मुख्यमन्त्रीबाट गर्न लागेका हौँ’ गाउँपालिकाका अध्यक्ष विवेकले भने, ‘काठमाडौँबाट पत्रकार, कलाकार, भ्लगर, साहित्यकार र पर्यटन क्षेत्रका सबै सरोकारावालामार्फत ब्रोम्दिङ, जरुङ र थमभञ्ज्याङको एक्सप्लोर गर्न लागेका हौँ ।’

नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा बेनीघाट रोराङ गाउँपालिका र एनटीपी मल्टिमिडिया ग्रुपको संयुक्त आयोजनामा ब्रोम्दिङ पर्यटन महोत्सव हुन लागेको हो । यसअघि नेपाल टूरिजम फेस्टिभल, ताप्लेजुङ–दार्चुला बाइक टूर र हालै गोल्डेन ट्रयाङ्गल बाइक टूर आयोजना गरेको एनटीपी मल्टिमिडिया ग्रुपले ‘ब्रोम्दिङ’ गाउँको एक्सप्लोरका लागि पालिका पर्यटन प्रवद्र्धन कार्यक्रम अन्तर्गत ब्रोम्दिङ पर्यटन महोत्सवको तयारी गरेको ग्रुपका अध्यक्ष तथा फेस्टिभल संयोजक विष्णु विवेकले जानकारी दिए ।

‘शैलुङ र दामनको विशेषता एकै ठाउँमा पाइने र सुन्दर हिमाल तथा गाउँहरुको दृश्यावलोकनका लागि उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा ब्रोम्दिङको एक्सप्लोर गर्न दशैँको अवसरमा महोत्सव आयोजना गरेका हौँ,’ ब्रोम्दिङ गाउँको भ्रमणपछि उनले भने, ‘राजधानी काठमाडौँबाट चार घण्टाको मोटर यात्रामै पुगिने भर्जिन गाउँमा पत्रकार, कलाकार, भ्लगर्स, बाइक राइडर्स तथा सरोकारवाला लिएर महोत्सव गर्दै एक्सप्लोर गर्न लागेका छौँ ।’

ब्रोम्दिङका विशेषता के–के छन् ?

ब्रोम्दिङ शैलुङ र दामनको सम्मिश्रण भएको उत्कृष्ट पर्यटकीय गन्तव्य हो । जहाँ शैलुङमा देखिने स–साना डाँडा भएका थुम्का छन् भने दामनको जस्तो चिसो मौसम पाइन्छ ।

झण्डै २१ सय मीटर उचाईमा रहेको ब्रोम्दिङबाट गणेश हिमाल, मनास्लु लगायतका हिमश्रृङ्खला स्पष्टसँग देख्न पाइन्छ । तामाङ बस्तीको बाहुल्यता रहेको ब्रोम्दिङ स्थानीय परिकार र उत्पादनले पनि भरिपूर्ण ठाउँ हो । स्थानीय ढिँडो, सिस्नोको साग, स्थानीय कुखुराको मासु पाइने ब्रोम्दिङमा तामाङ समूदायले सबैभन्दा धेरै मन पराउने ‘लोकल रक्सी’ प्रशस्त पाइन्छ । नागढुंगा–मुग्लिन सडकखण्डको विशालटारबाट १६ किलोमीटर उकालो लागेपछि पुगिने ब्रोम्दिङ र थमभञ्ज्याङ स्थानीय रुपमा उत्कृष्ट पर्यटकीय गन्तव्य मानिन्छ ।

गर्मीमा चिसो हुने र हिउँदमा हिउँ पर्ने थमभञ्ज्याङ र ब्रोम्दिङ पछिल्लो समय स्थानीय तथा आन्तरिक पर्यटकको रोजाईमा परेको गन्तव्य हो ।
ब्रोम्दिङ डाँडाबाट हेटौंडा, रक्सौल, धादिङका विभिन्न ठाउँ देखिन्छन् । आँखैअगाडि सेतै हिमाल प्रष्टसँग देखिने ब्रोम्दिङ मकवानपुर, धादिङ र चितवनको सीमा पनि हो । मकवानपुरको कैलाश गाउँपालिका, धादिङको गजुरी र बेनीघाट रोराङ गाउँपालिकाको केन्द्रका रुपमा रहेको ब्रोम्दिङ गाउँमा हिउँ परेको बेला शैलुङ र हिउँ नपरेको बेला दामनको जस्तो चिसो मौसमी हावाको आनन्द लिन सकिन्छ ।
ब्रोम्दिङ गाउँ वरपरका अन्य चेपाङ बस्ती, तामाङ बस्ती र डाँडाहरु पनि त्यत्तिकै सुन्दर रहेको ब्रोम्दिङ पर्यटन महोत्सव तयारी समितिका संयोजक तथा पत्रकार चन्द्र तामाङले बताए ।

‘पर्यटक जाने शैलुङ र दामनभन्दा ब्रोम्दिङ गाउँ उत्कृष्ट छ । जसको वास्तविकता हामी कात्र्तिक १५ गतेको पर्यटन महोत्सवमा देखाउनेछौँ’ उनले भने, ‘आन्तरिक पर्यटकका लागि सुन्दर ठाउँ र बाहिरी पर्यटकका लागि ‘हिप्पी कल्चर’ जगेर्ना गर्न पनि यो महोत्सवले विशेष भूमिका खेल्नेछ ।’

को–को जाँदैछन् ब्रोम्दिङ ?

पहिलोपटक टेन्ट र क्याम्पिङसहितको सुविधा रहने ब्रोम्दिङ पर्यटन महोत्सवका लागि गोल्डेन ट्रयाङ्गल बाइक टूर गरेका राइडर्स टिम जाँदैछन् । पर्यटन बोर्डबाट बिहान ८ बजे सुरु हुने टूरमा २५ वटा बाइकमा राइडर, पत्रकार, कलाकार र भ्लगर जानेछन् । एनटीपी मल्टिमिडिया ग्रुपका अध्यक्ष तथा महोत्सव संयोजक विष्णु विवेकको प्रमुख अगुवाईमा काठमाडौंबाट पत्रकार, कलाकार, साहित्यकार, राइडर्स, भ्लगर र सरोकारवालाको टिम ब्रोम्दिङ जान लागेको हो ।

एक्सप्लस राइडर्स नेपाल, क्लबको समन्वय तथा अध्यक्ष कुन्दन श्रेष्ठको नेतृत्वमा २५ वटा बाइकमा भ्लगर, कलाकार तथा पत्रकार जान लागेका हुन् । यस्तै पर्यटन बोर्डका सीईओ डा.धनन्जय रेग्मी र नाट्टाका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ, पर्यटन समितिका उपसभापति अच्युत गुरागार्ईको नेतृत्वमा बोर्ड, नाट्टा, टान, हान, भिटोफ, नारा लगायत संघ संस्थाका प्रमुख एवं प्रतिनिधि ब्रोम्दिङ जाँदैछन् ।
यस्तै कलाकार सनम कठायत, डेभिड शंकर लगायतका कलाकार पनि जाँदैछन् । यसअघि गोल्डेन ट्रयाङ्गल बाइक टूरमा समेत सहभागी भएका कलाकार यसपटक धादिङको ब्रोम्दिङ पर्यटन महोत्सवमा जान लागेका हुन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका प्रमुख तथा प्रतिनिधि पनि महोत्सवमा जानेछन् ।

यस्तै राष्ट्रिय फोटो पत्रकार संघ, नेपालका वरिष्ठ उपाध्यक्ष शुशिल श्रेष्ठ, कार्यवाहक महासचिव घनश्याम श्रेष्ठ लगायत फोटो पत्रकार पनि ब्रोम्दिङ जाँदैछन् ।पोखराबाट पर्यटन व्यवसायी महिला संघ, नेपाल (टेवान)की अध्यक्ष कमला गिरीको नेतृत्वमा विशेष टिम पनि ब्रोम्दिङ जानेछन् । यस्तै नाट्टा मधेस प्रदेशका अध्यक्ष मोहन शर्मा, काठमाडौँ र चितवनका पर्यटन व्यवसायी पनि ब्रोम्दिङ पर्यटन महोत्सवमा सहभागी हुने संयोजक विष्णु विवेकले जानकारी दिए ।

महोत्सवको उद्घाटन बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र पर्यटन बोर्डका सीईओ डा.धनन्जय रेग्मीले संयुक्त रुपमा गर्नेछन् । कार्यक्रममा बागमती प्रदेश सरकारका अर्थमन्त्री, पर्यटनमन्त्री र पूर्वमन्त्री पनि सहभागी हुनेछन् ।कार्तिक १५ गते दिउँसो २ बजे उद्घाटन हुने महोत्सव कार्तिक १६ गते सकिनेछ । पहिलो दिन काठमाडौँबाट गएको सरोकारवाला, पत्रकार, कलाकार, भ्लगर, राइडर्स टिमको स्वागतसँगै सुरु हुने महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारले प्रस्तुती दिनेछन् ।

दोस्रो दिन ‘एक्सप्लोर ब्रोम्दिङ भिलेज’ र ‘ब्रोम्दिङका पर्यटकीय सम्भावना तथा चुनौति’ विषयमा दुई वटा सेसनमा विज्ञ वक्तासहित छलफल हुनेछ । पहिलो दिन काठमाडौँ, पोखरा तथा मधेसबाट आएको टोली टेन्टमा ‘क्याम्पिङ’ गरेर बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्