दशैं पर्वले सबैखाले विकृति, विसङ्गति अन्त्य गर्दै सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गरोस् : राष्ट्रपति पौडेलले



काठमाडौँ।

राष्ट्रपति रामचन्द्र पौडेलले दशैं पर्वले सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन्।

शनिबार बडा दशैंको शुभकामना सन्देश जारी गर्दै उनले यो पर्वले विकृति, विसंगति अन्त्य गर्दै सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्न सवैलाई प्रेरित गर्ने विश्वास व्यक्त गरेका हुन्।

राष्ट्रपति पौडेलले सन्देसमा भनेका छन् ‘बडा दसैंको उपलक्ष्यमा पारिवारिक जमघट एवम् पुनर्मिलन भई खुसीयाली र हार्दिकता साटासाट गरी मनाउने प्रचलन रही आएको छ। यो पर्व सत्यको विजय र असुरी चरित्रको पराजय, दुराचारमाथि सदाचारको जीत, आपसी सद्भाव, भ्रातृत्व र पुनर्मिलनको प्रतीक पनि हो। त्यसैले यो पर्वले विकृति, विसंगति अन्त्य गर्दै सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्न हामी सवैलाई प्रेरित गर्ने छ भन्ने मेरो विश्वास छ। यस पर्वले सबै नेपालीहरूलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको आर्थिक समृद्धि प्राप्त गर्ने सामर्थ्य प्रदान गरोस् भन्ने पनि कामना गर्दछु।’

बडा दशैंमा मान्यजनप्रति श्रद्धा र सम्मान स्वतःस्फूर्त अभिव्यक्त हुने प्रचलनले पनि यसको महत्त्व रहीआएको उनले बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस्