एनआरएनएको निर्वाचनको प्रक्रिया स्थगित



काठमाडौँ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचनको सबै प्रक्रिया स्थगित गरिएको छ । चुनावी परिमाणलाई लिएर विवाद भएपछि निर्वाचन प्रक्रिया थप अघि नबढाउन वर्तमान अध्यक्षहरू कूल आचार्य, रविना थापा र बद्री केसीले सर्कुलर जारी गरेपछि स्थगित गरिएको हो ।

बिहीबार सम्पन्न निर्वाचनपछि मतपरिणाम सार्वजनिक भएसँगै पराजित पक्षले धाँधली भएको आरोप लगाएका छन् । अध्यक्ष पदका उम्मेदवारहरु आरके शर्मा र महेश श्रेष्ठले शुक्रबार नै सम्पूर्ण निर्वाचन प्रक्रिया रद्द गरी पुनः चुनाव गराउन माग गर्दै प्रमुख निर्वाचन अधिकृत समक्ष निवेदन दिएका थिए ।

विद्युतीय प्रणालीबाट भएको निर्वाचनमा गम्भीर त्रुटि भएको पाइएको छ । मतदाताको मत जस्ताको तस्तै प्रतिविम्बित नभई वाह्य हस्तक्षेपबाट मतदाताको अभिमत मत फरक पारिएको पाइएकाले निर्वाचन प्रक्रियालाई रद्द गरेर पुनः निर्वाचन गर्न माग गरिएको थियो ।

एनआरएनएको बिहीबार राति सार्वजनिक नतिजाअनुसार अध्यक्षमा बद्री केसी निर्वाचित भएको घोषणा गरिएको थियो । तर, दुई जना उम्मेदवारले भने धाँधली भएको भन्दै मत परिणाम अस्वीकार गरेका गरेका छन् ।

निर्वाचन परिणामलाई लिएर विवाद चर्किएपछि आजलाई निर्धारण गरिएको समापन समारोह पनि बिथोलिएको छ । उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलले नेपालबाट पाएको मत शून्य देखाएपछि मत परिणाम विवादित बनेको हो ।

प्रतिक्रिया दिनुहोस्