वीर गणेशमान सिंह राष्ट्रिय टेनिस कात्तिक तेस्रो साता 



काठमाडौं। 

वीर गणेशमान सिंह फउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कात्तिक १८ देखि २५ गतेसम्म आयोजना हुने भएको छ।

प्रतियोगितामा सिनियर, भेट्रान र जुनियरमा गरी जम्मा २३ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक कमिटीका संयोजक सन्जिव तुलाधरले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियरमा ४, भेट्रानमा ७ र जुनियरमा १२ स्पर्धामा खेल हुनेछ ।

प्रतियोगितामा सिनियर र भेट्रानतर्फ  महिला/ पुरुष सिंगल्स, डबल्स, ३५ वर्ष वर्षमाथिको पुरुष सिंगल्स / डबल्स, ४५ वर्ष माथिको पुरुष सिंगल्स / डबल्स, ५५ वर्षमाथिको पुरुष सिंगल्स / डबल्स र ६५ वर्षमाथिको पुरुष सिंगल्स विधा समावेश गरिएको छ ।

महिला/ पुरुष सिंगल्सको विजेताले १ लाख, उपविजेताले ५० हजार र तेस्रो स्थान हासिल गर्नेले २५ हजार रुपियाँ प्राप्त गर्नेछन् । महिला पुरुष डबल्स तथा ३५ वर्ष वर्षमाथिको पुरुष सिंगल्सकाे शीर्ष तीनले क्रमशः ५० हजार, २५ हजार र १२ हजार ५ सय रुपियाँ पाउनेछन् । ३५ वर्ष माथिको पुरुष डबल्सका शीर्ष तीनलाई क्रमशः ३१ हजार २ सय ५०, १८ हजार ७ सय ५० र १२ हजार ५ सय रुपियाँ प्रदान गरिनेछ  ।

४५ वर्षमाथिको सिंगल्सको विजेता ३६ हजार ५ सय, उपविजेताले १८ हजार ७ सय ५० र तेस्रो स्थान हासिल गर्नेले ६ हजार २ सय ५० रुपैयाँ प्राप्त गर्नेछन् । ४५ वर्ष माथिको पुरुष डबल्सका शीर्ष तीनलाई क्रमशः २५ हजार, १२ हजार ५ सय र १२ हजार ५ सय तथा ५५ वर्षमाथिको पुरुष सिंगल्सका शीर्ष तीनलाई २५ हजार, १२ हजार ५ सय र ६ हजार २ सय ५० प्रदान गरिनेछ ।

यसैगरी ४५ वर्षमाथिको डबल्सका विजेताले १८ हजार ७ सय ५०, विजेताले १० हजार र तेस्रो स्थान हासिल गर्नेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । ६५ वर्षमाथिको सिंग्लसका शीर्ष तीनले क्रमशः १८ हजार ७ सय ५०, ९ हजार ३ सय ७५ र ६ हजार २ सय ५० रुपियाँ प्राप्त गर्नेछन् ।

सिनियर र भेट्रानमा गरी जम्मा ९ लाख ५ हजार नगद पुरस्कार रहेको कमिटीका राजन खत्रीले जानकारी दिए । उनका अनुसार गत संस्करण भन्दा पुरस्कार राशीमा २ लाख ५ हजार वृद्धि गरिएको छ । जुनियरमा भने प्रोत्साहन स्वरुप गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

नेपाल टेनिस संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख रुपैयाँ खर्च हुने बताइएको छ । आठ दिने प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्