लुनकरण दास गंगादेवी चौधरी साहित्य कला मन्दिरद्वारा कलाकर्मी र स्रष्टा सम्मानित



कलाकर्मी र स्रष्टा सम्मानित लुनकरण दास गंगादेवी चौधरी साहित्य कला मन्दिरले स्थापनाको ३० औं वर्षको अवसरमा कला तथा साहित्य क्षेत्रका विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ।

सोमबार राजधानीको कमलपोखरीस्थित अग्रवाल सेवा केन्द्रमा आयोजित ३०औं वार्षिकोत्सव स्रष्टा सम्मान एवं प्रा.डा. उषा ठाकुर र लक्ष्मण नेवटियाको पुस्तक लोकार्पण समारोहमा कला तथा साहित्य क्षेत्रका विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको हो। समारोहमा कार्यक्रमकी सभापति तथा मन्दिरकी अध्यक्ष मेघा चौधरी र प्रमुख अथिति नेपाली चेली तथा बलिउड अभिनेत्री मनीषा कोइरालाद्वारा तन्त्र विद्याका प्रा. विद्यानाथ उपाध्याय भट्टलाई शिरोमणि बाबुराम आचार्य सम्मानबाट सम्मान गरियो भने कवि विष्णुविभू घिमिरे र व्यङ्ग्यकार लक्ष्मण नेवटियालाई सरस्वती सम्मानबाट सम्मानित गरियो। त्यसैगरी संगीतकार एवम लोक गायिका झुमा लिम्बूलाई नारायणगोपाल संगीत सम्मानबाट सम्मानित गरियो।

शाष्त्रीय संगीतकार डा. ध्रुवेषचन्द्र रेग्मी र उनको समूहको सांगीतिक प्रस्तुतिबाट आरम्भ भएको समारोहमा व्यग्यंकार लक्ष्मण नेवटियाको व्यंग्यधाम तथा प्राध्यापक डा. उषा ठाकुरको पुस्तक विचार र विष्लेषण नामक दुई पुस्तक सम्मानित व्यक्तित्वहरू, साहित्य कलाकी अध्यक्ष मेघा चौधरी, संरक्षक वसन्त चौधरी तथा अभिनेत्री मनीषा कोइरालाले लोकार्पण गरेका थिए। कार्यक्रममा सम्मानित स्रष्टाहरूलाई बधाई ज्ञापन गर्दै मन्दिरकी अध्यक्ष मेघा चौधरीले यस पटकदेखि कला मन्दिरको अध्यक्षको जिम्मेवारी पाएकाले मनभरि उत्साह र अठोट लिएर आफूले पाएको महत्त्वपूर्ण जिम्मेवारी पूरा गर्ने बताइन्। ‘साहित्यकार पिता वसन्त चौधरीले युवाहरूमा नयाँ सोच र जाँगर हुन्छ भनेजस्तै त्यो सोच र जाँगरमा अग्रजको अनुभव मिसाएर कार्यान्वयन गर्नुपर्नेमा दुविधा छैन’ कार्यक्रममा मेघाले भनिन्।

मन्दिरका संरक्षक वसन्त चौधरीले सम्मानित स्रष्टाहरूलाई बधाई ज्ञापन गर्दै साहित्य क्षेत्रमा उनीहरुको योगदान तथा विमोचित दुई कृति व्यग्यधाम तथा विचार र विष्लेशणबारे समेत चर्चा गरे। उनले लुन करणदास गंगादेवी चौधरी साहित्य कला मन्दिरको अध्यक्षको जिम्मेवारी आफ्नो पुत्री मेघा चौधरीलाई सुम्पिएको घोषणा पनि गरे। ‘तीस वर्षअघि हामीले साहित्य कला मन्दिर स्थापना गरी सेवा कार्य शुभारम्भ गर्दा कहीँ न कही मनमा शंका थियो कि दुई चार वर्ष चलेर अरुजस्तै विलाएर जाने हो कि। तर, आज तीसौं वर्षमा आइपुग्दा एक सय २० भन्दा बढी मूर्धन्य स्रष्टालाई सम्मान गर्न पाउनु जस्तो सत्कार्य यो संस्थाको लागि अरु हुन्छ जस्तो मलाई लाग्दैन। आज मैले यस साहित्य मन्दिरबाट स्वेच्छिक अवकास लिएर यसको बागडोर आफ्नी प्रिय सुपुत्री मेघालाई सुुम्पिएको छु।’

कार्यक्रममा सम्मानित व्यक्तित्वको तर्फबाट बोल्दै लक्ष्मण नेवटियाले आफूलाई सम्मान गरेकोमा आभार व्यक्त गर्दै आठ महिनाअघि १४ वर्षको नातिलाई गुमाउनु पर्दा डिप्रेसनमा जान थालेको, तर साहित्यको माध्यमबाट नकारात्मक कुरालाई सकारात्मकतातिर लैजानुपर्छ भन्ने सोचले पीडालाई सकारात्मकतातर्फ लैजाँदै नातिलाई समर्पण गरेर व्यंग्यधाम लेखेको खुलाए।
कार्यक्रमकी प्रमुख अतिथि एवम अभिनेत्री मनीषा कोइरालाले सम्मानित व्यक्तित्वहरूलाई बधाई दिँदै कलाकारले कलाको माध्यमबाट आफ्नो पीडा व्यक्त गर्ने चर्चा गरिन्।

‘लक्ष्मण नेवटियाज्यूले आफ्नो १४ वर्षको नाति गुमाउँदा भोगेको पीडालाई सकारात्मक ढंगले लिएर पुस्तक प्रकाशन गरेको कुराले मन छोयो। वास्तवमा साहित्यकार, कलाकार, संगीतकारलगायत कला क्षेत्रमा भएकाहरूले आफ्नो पीडा कलाको माध्यमबाट व्यक्त गर्छौैं’ मनीषाले भनिन् ‘मचाहिँ अभिनयको माध्यमबाट आफ्नो पीडा व्यक्त गर्थें र गर्छु पनि। सिनेमा र साहित्यको ठूलो सम्बन्ध छ। कथा लेख्दा समाज देश संस्कृतिजस्ता धेरै कुरा समेट्छ र समाजलाई रोड म्याप पनि दिन्छ।’

प्रतिक्रिया दिनुहोस्