आर्थिक मितव्ययिताको धज्जी- विदेश भ्रमणमा मन्त्री, सचिव र सहसचिवको ताँती

विदेश भ्रमणमा मरिहत्ते, डलरमा भत्ता



काठमाडौं । सरकारका मन्त्री, सचिव र सहसचिवहरूले आर्थिक मितव्ययितालाई खिल्ली उडाउँदै विदेश भ्रमण जाने क्रमलाई तीव्रता दिएका छन् । विदेश भ्रमणमा कडाइ गर्ने नीति लिएको सरकार त्यसलाई कार्यान्वयन गर्न आफैं असफल देखिएको छ ।

मुलुक आर्थिक संकटमा फस्दै गइरहँदा करोडौं रुपियाँ खर्चंदै मन्त्री, सचिव र सहसचिवहरू निस्फिक्री विदेश भ्रमणमा गइरहेका छन् । उनीहरू डलरमा भत्ता बुझ्नकै लागि विदेश भ्रमणमा मरिहत्ते गर्ने गरेको सरकारी अधिकारीहरूको दाबी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार गत भदौ र असोजमा मात्रै ३० भन्दा बढी प्रतिनिधिमण्डल विभिन्न देश गइसकेका छन् भने अझै थुप्रै भ्रमणको पालो पर्खाइमा रहेका छन् । यस अवधिमा सयौंको संख्यामा भ्रमण जानेहरूले भत्तास्वरूप लाखांै रुपियाँ बुझेका छन् भने भ्रमण खर्चमा करोडौं रुपियाँ सकिएको छ ।

–मन्त्रीहरूलाई विदेश नै प्यारो
–मन्त्री, सचिवहरू बेलगाम
–भ्रमणमा मन्त्रीको ‘पुच्छर’ बन्दै सचिवहरू
–मितव्ययी नीति कार्यान्वयनमा सरकार असफल
–अझै दर्जनौं भ्रमण स्वीकृत हुने क्रममा
–सरकारको नीति तथा कार्यक्रममा ठूलो असर

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अर्थ मन्त्रालयले आफैंले विदेश भ्रमणमा कडाइ गर्नुको साटो उत्प्रेरित गर्ने काम गरिरहेको पाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही दिनअघि मात्रै अमेरिका र चीनको लामो भ्रमण गरेर फर्केलगत्तै अरू मन्त्री, सचिवलगायतका उच्च पदस्थहरूको विदेश भ्रमणको लर्को लाग्न थालेको हो ।

सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्ने समयमा त्यसलाई बेवास्ता गर्दै मन्त्री सचिवहरू लगातार एकपछि अर्को गर्दै विदेश भ्रमणमा गइरहेका छन् । कतिपय ठाउँमा मन्त्री मात्रै गए हुने भ्रमणमा सचिवहरू पुच्छर लागेर मन्त्रीसँगै गएको पाइएको छ । मन्त्रीसँग मन्त्रालयका अन्य अधिकारीहरूलाई पठाए पनि हुने कार्यक्रममा सचिवहरू आफ्नो प्रतिष्ठालाई बिर्सिएर मन्त्रीको सहयोगीका रूपमा विदेश गइरहेको स्रोतको दाबी छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार हाल युरोप भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी र सचिव केवलप्रसाद भण्डारी लामै समय त्यहाँ रहने कार्यक्रम छ । मन्त्री र सचिव एकैपटक विदेश जान नहुने सैद्धान्तिक पक्षलाई बेवास्ता गर्दै श्रम मन्त्री र सचिव रोमानिया र जर्मनीसँग द्विपक्षीय श्रम सम्झौता गर्न गएको भए तापनि उहाँहरूको मुख्य काम घुमघामसमेत रहेको मन्त्रालयका कर्मचारीहरूले बताएका छन् । मन्त्री र सचिवसँग मन्त्रालयका आधा दर्जन कर्मचारी अहिले युरोपको घुमघाममा छन् ।

यसैबीच कैयौं मन्त्री र सचिवको निकट भविष्यमा हुने भ्रमण स्वीकृत भइसकेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतलाई बेलायतको लन्डनमा आगामी ७ मंसिरमा आयोजना हुने उच्चस्तरीय लगानी सम्मेलनमा भाग लिन जाने गरी गत मन्त्रिपरिषद् बैठकले स्वीकृति दिइसकेको छ । मन्त्री महतको यो विदेश भ्रमण डेढ महिना बीचमा तेस्रो हुनेछ । अर्थमन्त्री महत ३ भदौमा ‘विश्व वातावरण सुविधा’का सातौं सभामा भाग लिन भन्दै क्यानडा जानुभएको थियो । यस्तै, उहाँ ५ असोजमा एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईआईबी)को वार्षिक बैठकमा सहभागी हुन राजस्व सचिव रामप्रसाद घिमिरेलाई लिएर इजिप्टको कायरो पुग्नुभएको थियो ।

शहरी विकास मन्त्री सीता गुरुङलाई आगामी ७ देखि ९ कात्तिकसम्म मलेसियाको क्वालालम्पुरमा हुने दिगो शहरी यातायातसम्बन्धी सम्मेलनमा भाग लिन मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेको छ । यसअघि उहाँ नेदरल्यान्ड, फ्रान्स र बेल्जियमको एक साता लामो युरोप भ्रमण सकेर फर्कनुभएको थियो ।

भदौको पहिलो साता स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत क्षयरोग नियन्त्रणसम्बन्धी बैठकमा सहभागी हुन भारत र सोही समयमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई चीनको कुनमिङ भ्रमणमा जानुभएको थियो । भारतबाट फर्केलगत्तै मन्त्री बस्नेत १८ भदौमा स्वास्थ्य विकाससम्बन्धी विश्व सम्मेलनमा भाग लिन इजिप्टको कायरो पुग्नुभएको थियो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल भदौ ५ र ६ गते अतिकम विकसित राष्ट्रहरूको ‘भियना प्रोगाम’ एसिया क्षेत्रीय पुनरावलोकन बैठकमा भाग लिन थाइल्यान्डको बैंकक जानुभएको थियो ।

२६ भदौमा परराष्ट्रमन्त्री एनपी साउद राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क जानुभएको थियो भने २८ भदौमा जी–७७ को सम्मेलनमा भाग लिन भन्दै कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसाल क्युबाको हवाना पुग्नुभएको थियो । यस्तै, ५ असोजमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, खानेपानी मन्त्री महिन्द्रराय यादव पनि प्रधानमन्त्री पुष्पकमल प्रचण्डको टोलीमा सामेल भएर चीन पुग्नुभएको थियो । टोलीमा मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित विभिन्न मन्त्रालयका सचिवसमेत रहेका थिए ।

यस्तै, ६ असोजमा परराराष्ट्रमन्त्री एनपी साउद प्रधानमन्त्रीसँगै अमेरिकाबाट चीन भ्रमणमा गएकै बेलामा एसियाली खेलकुद हेर्न युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु पनि चीन पुग्नुभएको थियो । त्यसैको भोलिपल्ट ७ असोजमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईं पनि चीन पुग्नुभएको थियो ।

विदेश भ्रमणमा मरिहत्ते, डलरमा भत्ता

मन्त्री, सचिव र सहहसचिवहरूले विदेश भ्रमण गर्दा डलरमा भत्ता बुझ्न पाउने हुनाले भ्रमणमा लागि मरिहत्ते गर्ने गरेको बताइएको छ ।

सरकारी टोलीबाट विदेश भ्रमणमा जाँदा मन्त्रीले दैनिक २ सय ५०, सचिवहरूले २ सय २५ र सहसचिवहरूले १ सय ७५ डलर दैनिक भ्रमणभत्ता पाउने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्