नवौँ नारदमुनी गोल्डकप असोज २७ देखि



उदयपुर। 

उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा हुँदै आएको नारदमुनी स्मृति गोल्डकप फुटबल प्रतियोगिता यो वर्ष पनि सञ्चालन हुने भएको छ । मंगलबार बसाहा क्लब बसाहाले पत्रकार सम्मेलन मार्फत प्रतियोगिता आयोजना बारे जानकारी दिएको हो ।

क्लबले दिएको जानकारी अनुसार बसाहा क्लब स्थापनदेखि  निरन्तररुपमा गर्दै आएको प्रतियोगिताको यस वर्ष भने नवौ संस्करणको गोल्ड कप प्रतियोगिता हुने छ । प्रतियोगिता चौदण्डीगढी नगरपालिकाको संयोजनमा हुने आयोजकले बताइएको छ ।

२००७ सालका क्रान्तियोद्धा तथा पूर्वमन्त्री स्वर्गीय नारदमुनी थुलुङ राईको स्मृतिमा स्थानीय बसाहा क्लबले गोल्डकप प्रतियोगिताको आयोजना गर्दै आएका छ।
प्रतियोगितामा ८ टिम सहभागी हुने बसाहा क्लबले जनाएको छ । प्रतियोगितामा आयोजक बसाहा क्लब सहित गोर्खा ब्वाईज क्लब झापा, एभरेष्ट क्लब सुनसरी, न्यू त्रियुगा स्पोर्ट्स क्लब सप्तरी, चारतारे क्लवा मोरंग, एविनियर क्लब काठमाडौं, बागमती क्लब सर्लाही र कटारी फुटबल क्लब उदयपुरले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिता असोज २७ गतेबाट कार्तिक ४ गते सम्म सञ्चालन हुने छ। प्रतियोगिताको विजेताले ४ लाख १ हजार नगदसहित ट्रफि, गोल्ड मेडल र प्रमाणपत्र पाउनेछ। त्यस्तै उपविजेताले २ लाख १ हजारका साथमा गोल्ड मेडल र प्रमाणपत्र पाउने बसाहा क्लवका अध्यक्ष गौतम राईले बताए।

प्रतिक्रिया दिनुहोस्