चोरीको घटना लुकाउन महिलाको हत्या 



वीरगन्ज। 

वीरगन्जको छपकैयामा गत शुक्रवार हत्या गरिएकी ब्युटिसियन पुनमदेवी सर्राफको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले आइतबार पत्रकार सम्मेलन गरी , पुनमदेवीको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैयाका २५ वर्षीय इमरान मियाँलाई सार्वजनिक गरेको हो ।

वीरगन्ज १ छपकैयाकै गगनदेव साहकी पत्नि ४० वर्षीय पुनमदेवी सर्राफ, गत शुक्रवार बिहान आफनै घरभित्र रक्ताम्मे अवस्थामा अचेत फेला परेकोमा उपचारका क्रममा उनको त्यहिदिन बिहान ७.३० बजे मृत्यु भएको थियो । पक्राउ परेका इमरानले पुनमदेवीको हत्या आफैँले गरेको स्वीकार गरिसकेको पत्रकार सम्मेलनमा पर्साका प्रहरी उपरीक्षक कोमल शाहले बताए  । उनी लागु पदार्थको दुर्व्यसनीसमेत रहेको अनुसन्धानका क्रममा खुलेको शाहले जानकारी दिए ।

शाहका अनुसार , गत शुक्रवार बिहान ३ बजेतिर चोरी गर्ने उद्देश्यले इमरान पुनमदेवीको घरको झालबाट छतमा चढेर सिढिंघर हुदैं पुनमदेवी सुतेको कोठाभित्र पसेका थिए । घरमा एक्लै रहेकी पुनमदेवी उठेर जितिया पर्वको तयारीमा लागेकै बेला इमरानको उनीसँग  जम्काभेट भएपछि दुवैजना बिच घम्साघम्सी भएको थियो । त्यसक्रममा इमरानले फलामको मोटो रडले पुनमदेवीको टाउकोमा चार पटक हानेर रक्ताम्मे बनाएपछि घरको मूल ढोकाबाट बाहिर निस्किएर ढोकामा बाहिरबाटै चुकुल लगाएर भागेका थिए ।

 बिहान ३.३० बजेतिर जितिया पर्वका लागि पुनमदेवीकी दिदी बहिनीको घरमा पुग्दा सुत्ने ओछ्यानमा पुनमदेवी रक्ताम्मे भई अचेत अवस्थामा फेला परेपछि छिमेकीलाई खबर गरेकी थिइन् । सुरुमा नारायणी अस्पतालमा प्राथमिक उपचार गरी नेशनल मेडिकल कलेजमा भर्ना गरिएकी पुनमदेवीको उपचारका क्रममा बिहान ७.३० बजे मृत्यु भएको थियो ।घटनाको अनुसन्धानका क्रममा प्रहरीले शनिबार मृतक पुनमदेवीले ब्युटिपार्लर सञ्चालन गरेको घरधनीका छोरालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । तर, हत्यामा उनको संलग्नता नदेखिएपछि उनलाई रिहा गरिएको प्रहरी उपरीक्षक शाहले पत्रकार सम्मेलनमा जानकारी दिए ।

पक्राउ परेका इमरानलार्ई भने पर्सा जिल्ला अदालतबाट म्याद थप गरी  थप अनुसन्धान कार्य भइरहेको शाहले बताए ।

प्रतिक्रिया दिनुहोस्