सासूको हत्या गरी भकारीमा हाल्ने बुहारी पक्राउ



 सल्यान।  

सल्यानमा सासूको हत्या गरेको आरोपमा बुहारीलाई जिल्ला प्रहरी कार्यालय सल्यानले पक्राउ गरेको छ । गत असोज १८ गते बिहान घरभित्रै खाद्यान्न राख्ने काठको भकारोमा मृत अवस्थामा फेला परेकी  सिद्धकुमाख गाउँपालिका ४ खार्पनकी ४९ वर्षीया गणेशी रोकाको हत्या गरेकी १८ वर्षीया बुहारी सर्मिला बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो ।

घरभित्रै खाद्यान्न राख्ने भकारीमा मृत भेटिँदा घटना शंकास्पद भएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा र पोष्टर्माटम रिपोर्टमा समेत हत्या भएको खुलेपछि बुहारी शर्मिलालाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए ।

पक्राउ परेकी शर्मिलालाई जिल्ला अदालत सल्यानबाट ७ दिनको म्याद थप गरी अहिले प्रहरीको हिरासत कक्षमा राखिएको प्रनाउ कार्कीले जानकारी दिएका छन्  । पोष्टमार्टम रिपोर्टमा मृतक महिलाको टाउको, छातीमा चोट लागेको मात्र नभई घाँटीमा नीलडाम देखिएको उनको भनाइ छ ।

‘शर्मिलाले गत वैशाखमा मात्र गणेशी रोकाको छोरा २१ वर्षीय अमर रोकासँग बिहे गरेकी थिइन् । पक्राउ परेपछि शर्मिलाले सासूले दैनिकजसो गाली गलौज गरेकै कारण आवेशमा आएर टाउको र छातीमा दाउरा प्रहार गरेको र सल घाँटीमा बेरेर मारेको स्वीकार गरिसकेकी छिन्,’ उनले भने, ‘आफूले मारेर कसैले थाहा नपाओस् भनेर नै खाद्यान्न राख्ने काठको भकारीमा लुकाएको समेत उनले स्वीकार गरेकी छन् । ’

१५ गतेदेखि आमा हराएको भन्दै गणेशी रोकाकी छोराछोरीले प्रहरीमा उजुरी दिएपछि खोज्दै जाँदा खाद्यान्न राख्ने भकारीमा १८ गते बिहान गन्हाउने तथा गल्न थालेको अवस्थामा शव फेला परेको र १५ गते नै शर्मिलाले सासूको हत्या गरेको प्रहरी नायब उपरीक्षक कार्कीको भनाइ छ ।

यसरी बुहारीले गरेकी थिइन सासूको हत्या

असोज १५ गते मृततका छोरा अर्थात् शर्मिलाका श्रीमान् अम्मर रोका टिमुर टिप्न मामाको घरमा गएका थिए । मृतककी छोरा बिद्यालय गएकी थिइन । दिउँसो बुहारी शर्मिला र मृतक गणेसी बारीमा धान माडन गएको बेला सानो घरायसी कुरामा विवाद भयो । विवाद चर्किँदै जादाँ उक्त विवाद साम्य हुन सकेन, बुहारीले सासूले भनेको जवाफ सहन सकिनन् ।

दिउँसो ३ बजेको समयमा घरमा फेरि विवाद भयो । विवाद चर्किँदै जाँदा शर्मिलाको मनमा अब सासूलाई मार्नुपर्ने भन्ने आपराधिक सोच आयो । त्यसपछि सासूको टाउको बुहारी दाउराले हिर्काइन र सासूलाई भुईमा लडाइन । त्यसपछि पटक पटक सोही दाउराले शरीरका विभिन्न भागमा प्रहार गरिन ।

छटपटाईरहेकी सासूलाई उनले सासूको टाउको बाँधेको  सलले घाटीमा बाधेर सासूको हत्या गरिन्  । उनले आफुले गरेको घटना लुकाउन मृतक गणसीको शव भित्र कोठामा लिएर धान राख्ने भकारीमा राखेर लुकाइन । उनले कोठामा लागेको रगत लुकाउन लिपपोत समेत गरेको प्रहरीले जनाएको छ ।

आमा हराएको भनी छोरा छोरीले प्रहरीमा खबर गरेपछि खोजतलास गर्ने क्रममा भकारीमा हेर्दा लास कुहिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले बताए ।

 

प्रतिक्रिया दिनुहोस्