बनेपामा शेयर लगानीकर्ता सचेतना अभिवृद्धि 



काभ्रे। 

विश्व लगानी सप्ताह २०२३ को अवसर पारी भिजन सेक्युरिटिज् प्राली (शेयर व्रोकर नम्बर ३४) ले बनेपामा एक दिने लगानीकर्ता सचेतना कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा शेयर लगानीमा चासो राख्ने र लगानीकर्ताहरुको सक्रिय सहभागिता रहेको थियो ।

कार्यकारी अध्यक्ष राजकुमार तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सङ्घीय सांसद हरि ढकाल लगायतको सहभागिता रहेको थियो । शेयर मार्केटमा भएका समस्या, सम्भावना र चुनौतीका बारेमा बताउँदै सङ्घीय सांसद ढकालले युवा पुस्ताको आशालाग्दो क्षेत्र शेयर मार्केटको सुरक्षा र समस्याका बारेमा संसद् मार्फत सरकारको ध्यानाकर्षण गराउने बताए । शेयर कारोबार सम्बन्धी ज्ञान अभिबृद्धीको उद्देश्यका साथ उक्त कार्यक्रम जिल्लामा आयोजना गरिएको बनेपा शाखा प्रमुख शर्मिला आचार्यले बताइन् ।

कार्यक्रममा नेपाल धितो पत्र बोर्डका कामु निर्देशक राजाराम दुलाल लगायतले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण नेपाल धितोपत्र बोर्डले गरेको थियो । नेपाल उद्योग बाणिज्य संघका उपाध्यक्ष सुरकृष्ण बैद्यले शेयर बजारको अवस्था र त्यसको सुधारका लागि उद्योग बाणिज्य संघले खेल्नु पर्ने भूमिकाका बारेमा जानकारी गराएका थिए । भिजन सेक्युरिटिज प्रालीले नेपालका विभिन्न स्थानमा शाखा कार्यालय मार्फत शेयर कारोवारका लागि सहजीकरण गरिरहेको कार्यकारी अध्यक्ष राजकुमार तिमल्सिनाले बताए । बनेपा, भैरहवा, कावासोती, बेनी, दमौली, भक्तपुर, बिरौटा, इलाम, टिकापुर, चन्द्रौटा र कुमारीपाटीमा शाखा कार्यालय रहेको उनले बताए ।

विश्व लगानीकर्ता सप्ताह २०२३ अन्तर्गत  हामीले लगानीकर्ता शिक्षा  तथा  सचेतताका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न  साथै (सेबोन र एफएनसीसीआइ ) बिच लगानीकर्ता शिक्षा  तथा  सचेतता कार्यक्रम सञ्चालन  गर्न यसअघि  दक्षिणकाली नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई पुँजी बजार सम्बन्धी जानकारी गराइसकिएको  नेपाल धितोपत्र बोर्डका निर्देशक विनय जस्पाउले जानकारी गराएका थिए ।

शेयर भनेको के हो ? साधारण शेयर, अग्राधिकार शेयर, बोन शेयर तथा हकप्रद शेयर, शेयर लगानीमा जोखिम, शेयरको बजार मूल्य निर्धारण, लगानीकर्ताको अधिकार, सूचीकृत शेयरहरु खरिद तथा विक्री गर्नु अघि ध्यान दिनु पर्ने विषयका बारेमा जानकारी गराइएको थियो । त्यस्तै शेयर लगानीकर्ताहरुलाई फाइदा, खरिद विक्रीको प्रक्रिया, स्टक ब्रोकर कम्पनी, शेयर ट्रेडिङ एकाउन्ट, शेयर दलाल, कारोबार रापसाफ वा लगानीकर्ताको आदेश अनुसार भएको कारोबार अस्वीकार गर्दा हुने अवस्था, खरिद विक्री कारोबार गर्ने समय, मार्जिन ट्रेडिङ, धितोपत्र केन्द्रीय निक्षेप प्रणाली, डिपोजिटरी, डिम्याट खाता, हितग्राही परिचय नम्बर, निर्देशन पुँजी लगायतका विषयमा जानकारी गराइएको थियो । कार्यक्रममा धितोपत्र बजार सम्बन्धी सरोकारवाला ब्यक्तिहरुले धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्