बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड



ललितपुर।

ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बजार अनुगमनलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहले आपसी समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

एउटै ठाउँमा विभिन्न निकायले अलगअलग रुपमा बजार अनुगमन गर्दा स्रोत, साधन र समय खेर गएको स्थितिलाई ध्यानमा राखेर प्रमुख जिल्ला अधिकारी पण्डितले सो कुरामा जोड दिएका हुन्।

जिल्ला प्रशासन कार्यालय मानभवनमा भएको बजार अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारको संयोजकत्वमा भएको बैठकमा स्थानीय तहले अनुगमन गर्दा संघको प्रहरी र प्रशासनका प्रतिनिधि र संघको कार्यालयले गर्दा स्थानीय तहका प्रतिनिधि संगै जानुपर्नेमा केन्द्रीत भएको थियो।ललितपुरका तीन वटै नगरपालिकाका उपमेयरहरुको उपस्थितिमा रहेको सो छलफलमा स्थानीय तहले अनुगमन गर्ने क्रममा जिल्ला बजार अनुगमनलाई रिपोटिङ गर्ने, अनुगमन कार्य एकै दोहोरिन दिन नहुने विषय जोडडार रुपमा उठेको थियो।

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि, सामग्रीको परिमाण र गुणस्तर नियन्त्रणलाई ध्यानमा राखेर अनुगमन गर्नुपर्नेमा जोड दिएको पनि प्रमुख जिल्ला अधिकारी पण्डितको भनाई रहेको छ ।

दशैं तिहार जस्ता चाडपर्व नजिकिँदै गर्दा सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारको संयोजनमा रहेको जिल्ला बजार अनुगमन समितिले मानभवन, कुमारीपाटी, जावलाखेल, भैंसेपाटी, इमाडोल, लुभू, सिद्धिपुर लगायत स्थानका बीगमार्ट, भाटभटेनी, केके मार्ट लगायत ठूलठूला पसल, रेष्टुरा, होटेलहरुमा अनुगमन गरिसकेको छ । समितिले हरेक साता अनुगमन गर्दै आएको छ ।

चाडपर्वहरुलाई लक्षित गरी उपभोग्य वस्तुहरुको मूल्यवृद्धि, म्याद नाघेका वस्तुहरुको विक्रीवितरण, अखाद्य वस्तुहरुको प्रयोग, कृत्रिम अभाव जस्ता अवाञ्छित क्रियाकलाप नियन्त्रण गर्न र उपभोग्य वस्तुको सहज आपूर्तिको व्यवस्था गरी बजार अनुगमन तथा वितरण प्रणालीलाई प्रभावकारी बनाउने निर्णय गरिएको पनि संयोजक सुनवारले बताए ।

प्रतिक्रिया दिनुहोस्