लप्ची– रामुदिङ नाका खुल्यो



दोलखा।

चीनसँग सिमाना जोडिएको दोलखाको लप्ची–रामुदिङ नाका अनौपचारिक रुपमा खुला भएपछि विगु गाउँपालिका वडा नम्बर १ लप्चीका स्थानीयले दशैको लागि खाद्यान्न जोहो सुरु गरेका छन् ।

लप्चीवासिको समस्या बुझेर स्थानीय स्तरमा समझदारी कायम भएपछि असोज ११ गते विहिवारबाट अनौपचारिक रुपमा नाका खुला भएको स्थानीय कर्मा शेर्पाले बताए । असोज ११ गते विहिवार तिब्ब्तको ङ्यालम स्थित टाँसिघाङबाट केही खाद्यान्न र दैनिक उपभोग्य सामग्री आएको छ – स्थानीय कर्मा शेर्पाले भने । लप्ची वासिले असोज १३ गते शनिवार केही चौरी, घ्यु र छुर्पी टाँसिघाङमा लगेर बिक्री वितरण गरेको कर्माको भनाई छ ।

कोरोना महामारी पछि बन्द रहेको लप्ची–रामुदिङ नाका खुला नहुदा लप्चीका स्थानीय आर्थिक रुपमा समस्यामा परेका थिए । संघिय सरकार, स्थानीय सरकार र स्थानीय लप्चीवासिले समेत नाका खुलाउन पटक– पटक पहल गर्दा समेत संभव नभएपछि धेरै विस्थापित हुने अवस्था बनेको थियो ।
दशैको पूर्व सन्ध्यामा नाका खुला भएपछि अहिले लप्ची वासिले निक्कै राहत महशुस गरेको स्थानीय फुजुङ शेर्पाले बताए । अब दशैको लागि किनमेल गर्न र आफ्ना चौरी तथा घ्यु र छुर्पी बिक्रिवितरण गर्न निक्कै सहज भएको फुजुङको भनाई छ ।

दोलखाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले आधिकारीक रुपमा चीन सरकारले दोलाखसंग सिमा जोडिएको दुई नाका खुला गर्ने निर्णय गरेको भएपनि त्यसमा लप्ची नाका नपरेको तर स्थानीय स्तरमा समझदारी भएपछि त्यहाँ आवागमन र किनबेच खुला गरिएको जानकारी आएको बताए । दोलखा प्रशासनले पनि लप्ची नाकालाई आधिकारीक रुपमा खुला गरिदिन गृह मन्त्रालय मार्फत चीन सरकारलाई आग्रह गरेको प्रमुख जिल्ला अधिकारी धमलाले बताए।

दोलाखसंग तिब्बतको सिमानामा ५५ देखी ६१ नम्बरसम्मको पिलर रहेको र लप्ची– रामुदिङ नाका ५५ र ५६ नम्बरको बीचमा पर्ने पनि प्रमुख जिल्ला अधिकारी धमलाले बताए । चीन सरकारले नेपालसंग सिमाना जोडिएको १४ वटा नाका खुला गर्दा दोलखासंग जोडिएको ६० र ६१ नम्बरको पिलरको बीचमा पर्ने फलाकको रोङसिया र क्वादम नाका खोल्ने निर्णय गरेको थियो । लप्चीवासिको आर्थिक एवं व्यवसायीक कारोवारको लागि लप्ची– रामुदिङ नाका आवश्यक भएकोले स्थानीय प्रशासनले सोही अनुसार चीन सरकारलाई अनुरोध गरेको पनि प्रमुख जिल्ला अधिकारी धमलाले बताए ।

लप्ची वासिलाई नेपाल पट्टी आफ्नो पालिकाको सबैभन्दा नजिकको बजार लामाबगर आउन झण्डै दुईदिन लाग्छ । तर चीनको तिब्बत स्थित सिगात्से जिल्ला, ङ्यालम काउण्टीमा पर्ने टाँसिघाङ बजार पुग्नभने पाँच घण्टामात्र लाग्ने स्थानीयको भनाई छ ।

लप्चीका स्थानीयलाई तिब्बतको रामुदिङ हुदै छुपसाङ पुग्न पैदल दुई घण्टा लाग्ने र त्यहाँबाट तीन घण्टामा सवारी साधन मार्फत टाँसिघाङ पुग्न सकिने स्थानीय कर्मा शेर्पाले बताए । अनौपचारिक रुपमा तिब्बतसंगको नाका खुला भएपछि लप्ची वासिले अहिलेसम्म करिब दुई सय वटा चौरी, केही घ्यु र छुर्पी बिक्री गरेको र यो क्रम दशैसम्म जारी रहने कर्माले बताए ।

विगु गाउँपालिका वडा नम्बर– १ लप्चीमा ४६ घरधुरी र एक सय ५० जनसंख्या रहेको छ । लप्चीका स्थानीयसंग झण्डै ७-८ सयवटा चौरी, केही धार्नी घ्यु र छुर्पी बिक्रिको लागि तयारी अवस्थामा रहेको भएपनि सोचेजति दाम नआएपछि अहिले स्थानीयले थोरैमात्र चौरी लगायतका उत्पादन बिक्री गरेको स्थानीयको भनाई छ।
तिब्बतको टाँसिघाङमा पु¥याईएको चौरीको बाँच्छा प्रतिगोटा २७ हजार, चौरी प्रतिगोटा ४५ हजार र याक तथा ठूलो चौरी प्रतिगोटा ९० हजारसम्म मा बिक्री गरिएको स्थानीयले बताए । यो दाम नराम्रो त हैन तर हामीले सोचेजति नभएकोले अहिले कमै बिक्री गरेका छौ– स्थानीय फुजुङ शेर्पाले भने  ।

प्रतिक्रिया दिनुहोस्