यात्रुको पैसा चोरेर भागेका व्यक्ति सशस्त्र प्रहरीको नियन्त्रणमा 



काठमाडौँ।

प्रहरीले नगद चोरी गरेर फरार रहेका एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  भारत घर बताउने २८ वर्षीय ईरशाद अली रहेका छन्।

उनलाई पूर्वी नवलपरासी जिल्लाको गैँडाकोट नगरपालिका १० पितौजीबाट सोमबार सशस्त्र प्रहरी बल नेपाल नं. ३१  गुल्म पूर्वी नवलपरासीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपालका सह प्रबक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए  ।

आइतबार साँझ बर्दियाबाट काठमाडौँतर्फ आउँदै गरेको भे १ ख ३९३४ नम्बरको यात्रुवाहक बसको एउटै सिटमा बसेर आएका बर्दियाको बडियाताल बस्ने २३ वर्षीय मधु परियारको नगद ५० हजार रुपैयाँ चोरी गरेर अली फरार भएका थिए ।

गैडाकोटको कोटिहोम चोक स्थित पूर्व–पश्चिम लोकमार्गमा यात्रुवाहक बसमा सवार यात्रुहरु ओर्लने क्रममा अली सो रकम चोरी जंगलतर्फ फरार भएका थिए ।

उक्त रकम हराएको भनि पितौजी स्थित  सशस्त्र प्रहरी बलको हाइवे सुरक्षा चेकपोष्टलाई  जानकारी गराए पश्चात् पूर्व–पश्चिम लोकमार्गमा चल्ने यात्रुवाहक बसमा जाँच गर्दा गैडाकोटबाट चितवनतर्फ आउँदै गरेको बसबाट उनलाई चोरिएको नगदसहित हुलियाको आधारमा नियन्त्रणमा लिइएको  डिएसपी थापाले बताए ।

नियन्त्रणमा लिएका अलीलाई उक्त नगदसहित आवश्यक कारवाहीको लागि प्रहरी चौकी बेल्डियामा बुझाइएको प्रहरीले जनाएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्