सुर्खेतमा बालकद्वय मृत्यु प्रकरण- आफन्त आन्दोलित, दोषीमाथि कारबाही गर्न माग



सुर्खेत । सुर्खेतमा सवारी दुर्घटनामा परि एक जनाको ज्यान गएको छ भने अर्का बालकको होस्टेलमा शंकास्पद मृत्यु भएको छ ।
माटरसाइकल दुर्घटनामा परि ५ वर्षीय बालक दिग्दर्शन पुरीको ज्यान भएको छ । चालक भने हालसम्म फरार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

वीरेन्द्रनगरस्थित फोरलेन सडकको गोकुल कटेज नजिकै मोटरसाइकलको ठक्करबाट दैलेखको आठबीस नगरपालिका–६ खिड्कीज्यूलाका पाँच वर्षीय बालक पुरीको हिजो (शनिबार) मृत्यु भएको थियो ।

त्यस्तै अर्का ८ वर्षीय बालक सलाम पुलामी मगरको होस्टेलमा शंकास्पद मृत्यु भएको छ ।अस्ति (शुक्रबार) वीरेन्द्रनगर नगरपालिका–६ घण्टाघर नजिकै रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको होस्टेलमा ८ वर्षीय पुलामी मगर मृत भेटिएका थिए । उनी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–१ का हुन् ।

गत शुक्रबार र शनिबार ज्यान गुमाएका पुरी र पुलामी मगरका आफन्तहरूले वीरेन्द्रनगरको एरिचोकमा आज (आइतबार) बिहानैदेखि पुनः आन्दोलन गरेका छन् ।

घटना घटेको चौबीस घण्टा बितिसक्दा पनि प्रहरीले फरार चालकको खोजी र घटनाका दोषीउपर कारबाही नभएको भन्दै आन्दोलन जारी राखेका छन् ।

दुवै बालकका आफन्तले संयुक्त रूपमा आन्दोलनका गरेका छन् । आन्दोलनकै कारण एरिचोक, मंगलगढी परिसर बिहानैदेखि तनावग्रस्त छ ।

मृतक पुरी र पुलामी मगरका आफन्तहरू घटनाको छानबिन र क्षतिपूर्तिको माग गर्दै आज बिहानैदेखि आन्दोलनमा उत्रिएका हुन् ।

वीरेन्द्रनगरका चोक–चोकमा टायर बाल्नेदेखि नारा लगाउनेसम्मका गतिविधिहरू आन्दोलनकारीले गरिरहेका छन् । शनिबार दिनभर तनावग्रस्त बनेको वीरेन्द्रनगर आइतबार पनि तनावग्रस्त बनेको छ ।

तर पुलिस, प्रशासनले यस्तो संवेदनशील घटनाको बेवास्ता गरेको भन्दै आफन्तले आन्दोलन जारी राखेका छन् । हिजो (शनिबार) उषा बालवाटिमा आन्दोलनकारीले आगजनी गरेका छन् ।

आन्दोलनलाई मथ्थर पार्न प्रहरीले अश्रु ग्याँससमेत प्रहार गरेको थियो । आफन्तहरूले आज बिहानैदेखि कर्णाली राजमार्ग अवरुद्ध पारेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी एवं सूचना अधिकारी लक्ष्मण शाहीका अनुसार जारी आन्दोलनलाई सहज बनाउने प्रयास भइरहेको छ ।

‘हामी आन्दोलन सहज बनाउने प्रयास गरिरहेका छौँ,’ उनले भने, ‘दुवै घटनाको अनुसन्धान भइरहेको छ ।’ उनका अनुसार उषा बालवाटिकाको शव पोस्टमार्टमका लागि अस्पतालमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्