सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह- २०८० आजबाट शुरू (तस्बिरसहित)



काठमाडौं । सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह – २०८०’ आज (आइतबार) बाट शुरू भएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगरपालिकाको संयुक्त आयोजनामा मातहतका ट्राफिक प्रहरी कार्यालयको अगुवाई तथा स्थानीय तह, स्थानीय प्रहरी, विभिन्न संघसंस्थासँगको समन्वय तथा सहकार्यमा साताव्यापी रुपमा विविध ट्राफिक चेतनामूलक कार्यक्रम शुरू भएको .हो ।

काठमाडौ महानगरपालिका– १४ नम्वर वडाकार्यालय तथा उपत्यका ट्राफिक प्रहरी वृत्त कलंकीको संयुक्त आयोजनामा आज बिहान प्रभातफेरी तथा जनचेतनामुलक कार्यक्रमको आयोजना गरिएको थियो ।

कलंकी मन्दिरबाट शुरू भएको प्रभातफेरी तथा जनचेतना मुलक कार्यक्रममा काठमाडौ महानगरपालिका १४ का अध्यक्ष सुमन श्रेष्ठ, ट्राफिक प्रहरी वृत्त कलंकीका प्रमुख प्रहरी निरीक्षक युवराज कटुवाल, कलंकी मन्दिर संरक्षण तथा समाज सुधार संस्थाका प्रतिनिधि सुन्दर थापा र नवज्योती युवा क्लवका अध्यक्ष सुरेश रायमाझीले ट्राफिक नियम पालनामा सबैले सहयोग गर्न सके दुर्घटना न्यूनीकरण गर्न सकिने बताएका छन् ।

एक हप्तासम्म निरन्तर चल्ने कार्यक्रममा चालक, परिचालक, पैदलयात्री, विद्यार्थी र समग्रमा सडक प्रयोगकर्ता लक्षित ट्राफिक चेतनामूलक कार्यक्रम संचालन हुने रहेको र साताव्यापी सञ्चालन हुने उक्त कार्यक्रमले दुर्घटना न्यूनीकरण गर्न, सडक अनुशासन कायम राख्न र सडक प्रयोगकर्तालाई जिम्मेवारी बोध गराउन महत्वपूर्ण भूमिका खेल्ने ट्राफिक प्रहरी बृत्त कलंकीका प्रमुख प्रहरी निरीक्षक युवराज कटुवालले जानकारी दिए ।

काठमाडौं उपत्यकामा सवारी दुर्घटनाको विश्लेषण गर्दा अधिकांश सवारी दुर्घटना तीव्र गति, ट्राफिक संकेत वा इशाराको उल्लंघन, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन चलाउने जस्ता चालकको लापरबाहीका कारण हुने गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्